आज महाशिवरात्रि, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको भीड

आज महाशिवरात्रि पर्व फाल्गुन कृष्णपक्षको चतुर्दशीमा धूमधामले मनाईदैछ। आराध्यदेव भगवान् शिवको विशेष पूजा आराधना गरी महाशिवरात्रि पर्व मनाइँदैछ।

नेपालभ्युज

आज महाशिवरात्रि, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको भीड

काठमाडौं। आज महाशिवरात्रि पर्व फाल्गुन कृष्णपक्षको चतुर्दशीमा धूमधामले मनाईदैछ। आराध्यदेव भगवान् शिवको विशेष पूजा आराधना गरी महाशिवरात्रि पर्व मनाइँदैछ। शिवको प्रिय दिनको रुपमा पनि मानिने शिवरात्रिको दिनमा शिव मन्दिरमा विशेष भीड लाग्ने गर्छ।

महाशिवरात्रि पर्व भगवान् शिवको आराधनाको प्रमुख दिन मानिन्छ। काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। हलेसी, देवघाटलगायत देशभरका शिवालयमा शिवको विशेष आराधना भइरहेको छ। महाशिवरात्रिका लागि नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट समेत पशुपति मन्दिर परिसरमा साधु सन्तहरू आएका छन्।

पशुपति आएका साधु सन्तलाई पशुपति क्षेत्र विकास कोषले दान दक्षिणासहित बिदा गर्ने चलन छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरूमा भक्तजनको भीड लाग्ने गर्दछ।

महाशिवरात्रिका अवसरमा पशुपति मन्दिर आउने भक्तजनहरूको भीडलाई मध्यनजर गर्दै आज बिहान ४ बजेदेखि पशुपतिका चार वटै ढोका खोलिएका छन्। मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषले जनाएको छ।
कोरोना महामारीको जोखिम कायमै रहेको समयमा समेत यस वर्ष आठ लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिन पशुपति दर्शन गर्न सक्नेगरी व्यवस्थापन गरिएको कोषले जनाएको छ। विगतका वर्षमा महाशिवरात्रिका दिन १० लाखभन्दा बढी भक्तजन पशुपति क्षेत्रमा पुग्ने गरेका थिए।

यो वर्ष पशुपतिनाथ मन्दिर प्रवेश गर्ने भक्तजनहरूका लागि मास्कको प्रयोग अनिवार्य गरिएको छ।

महाशिवरात्रि मनाइने प्रचलित कारणहरू यस्ता छन्।

शिव–पार्वतीको विवाह

माता पार्वती र भगवान् शिवको विवाह फागुन मास कृष्ण पक्षको चतुर्दशी तिथिमा भएको थियो। यो तिथिमा भगवान् शिव र माता पार्वतीको महामिलनको रुपमा पनि मनाइन्छ। महाशिवरात्रिको दिन शिव–पार्वतीको विवाह हुनाले यसको महत्त्व धेरै रहेको छ। भनिन्छ, यो दिन भगवान् शिवको पूजा आराधना गर्नाले भगवान् शिव छिट्टै प्रसन्न हुन्छन्। महाशिवरात्रिको व्रत बस्नाले यदि कसैको विवाहमा बाधा–अड्चन आएको छ भने समस्त बाधा अड्चनहरू कम हुन्छ र छिट्टै विवाह हुन्छ भन्ने एउटा मान्यता रहेको छ।

२.महादेवको शिवलिङ्ग स्वरूप

पौराणिक मान्यता अनुसार महाशिवरात्रिको दिन नै भगवान् शिवले आफ्नो शिव लिङ्ग सवरुपमा प्रकट भएका थिए । त्यो समयमा सबैभन्दा पहिले उनको यो स्वरूपको विधिपूर्वक पूजा–अर्चना गर्ने बम्हा र विष्णु थिए । यही कारणले महाशिवरात्रिको दिन विशेष प्रकारले शिव लिङ्गको पूजा आराधना गर्ने विधान रहेको छ ।

३.विषपान गरेर संसारलाई सङ्कटबाट बचाएको

भनिन्छ, समुद्र मन्थनबाट निस्किएको विष पिएर भगवान् शिवले यो सृष्टिलाई सङ्कटबाट बचाएका थिए। यही कारणले नै महाशिवरात्रि मनाइन्छ। सागर मन्थनबाट निस्केको विषलाई पिएर भगवान् शिवको गला निलो भएको थियो। जसका कारण भगवान् शिवलाई नीलकण्ठ पनि भनिन्छ ।

शिवरात्रि र महाशिवरात्रिमा के अन्तर छ ?

हिन्दु क्यालेन्डरको प्रत्येक मासको कृष्ण पक्षको चतुर्दशी तिथिलाई शिवरात्रिको रुपमा लिइन्छ। यो मासिक शिवरात्रिको नामले पनि प्रचलित छ। फागुन मास कृष्ण पक्षको चतुर्दशी तिथिमा महाशिवरात्रिको नामले चिनिन्छ। पौराणिक मान्यताहरूका अनुसार यो दिन नै आधि रातमा भगवान् शिव निराकार ब्रह्माबाट साकार स्वरूप अर्थात् रुद्र रुपमा अवतरित भएका थिए। त्यसैले यो तिथिलाई महाशिवरात्रि भनिन्छ । यो दिन विशेष रूपले भगवान् शिवको पूजा–अर्चना गरिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved