एजेन्सी। पोल्यान्डका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले आगामी महीनाका लागि तय भएको रुससँगको विश्वकप छनोट खेल नखेल्ने आफ्नो मनसाय स्पष्ट पारेका छन्। यसअघि पोल्यान्डको फुटबल संघका अध्यक्ष केजारी कुलेस्जाले रुससँग खेल्ने मनसाय नरहेको बताएका थिए
रुसले युक्रेनमाथि हमला गरेकाले त्यसको प्रतिक्रिया दिनका लागि यही नै सही निर्णय हुने उनले बताएका थिए। पोल्यान्डका सर्वकालीन सर्वाधिक गोलकर्ता लेवान्डोस्कीले अध्यक्ष कुलेस्जाको समर्थन गरेका छन्। ‘युक्रेनमाथिको आक्रमण जारी रहेको अवस्थामा रुसी फुटबल टिमसँग खेलेको कल्पना पनि म गर्न सक्दिँन,’ ट्वीटरमा लेवान्डोस्कीले लेखेका छन्। लेवान्डोस्की जर्मन क्लब बार्यन म्युनिखबाट व्यवसाहिक फुटबल खेल्छन्।
‘रुसी फुटबलर र समर्थकहरू यो आक्रमणका लागि जिम्मेवार होइनन्। तर हामी केही नभएजस्तो गरेर बस्न सक्दैंनौ ।’
कतार विश्वकपका लागि पोल्यान्ड र रूसबीच २४ मार्चमा सेमिफाइनलको प्ले अफ खेल हुने तय छ। यो खेल जित्नेले चेक गणतन्त्र र स्विडेनको विजेतासँग प्ले अफ फाइनलमा प्रतिस्पर्धा गर्नेछ। र, फाइनलमा विजयी हुने टिम विश्वकपका लागि छानिनेछ।
फिफामा साझा प्रस्ताव लैजानका लागि पोल्यान्डले स्विडेन र चेक गणतन्त्रका फुटबल अधिकारीहरूसँग पनि छलफल गरिरहेको कुलेस्जाले बताएका थिए।
Facebook Comment
Comment