एउटा अनुवाद गर्दा कम्तीमा तीनपटक काम गर्छु : मोहन मैनाली

उनले अंग्रेजीबाट अनुवाद गरेका निबन्धहरूको संग्रह ‘आकाशमुखी’ आज सार्वजनिक हुँदैछ।

एउटा अनुवाद गर्दा कम्तीमा तीनपटक काम गर्छु : मोहन मैनाली

मोहन मैनालीका बहुपरिचय छन्। उनी पत्रकार हुन्। ‘जोगीमाराका ज्युँदाहरू’ जस्ता थुप्रै स्मरणीय खोज रिपोर्ट लेखेका छन्। लेखक हुन्। ‘उपल्लो थलो’, ‘मान्ठा डराएको जुग’, ‘देखेको देश’ जस्ता पुस्तक प्रकाशित छन्। सम्पादक हुन्। ‘समावेशी लोकतन्त्रका आधारहरू’, ‘मधेशः समस्या र समाधान’ लगायतका उनको सम्पादनमा निस्केका पुस्तक चर्चामा छन्। वृत्तचित्र निर्देशक/लेखक हुन्। ‘लिभिङ अफ् जोगीमारा’, ‘पुनेको प्यान्ट’ लगायतका वृत्तचित्र बनाएका छन्। अनुवादक हुन्। ‘जनता जागेको बेला’, ‘नेपालमा क्षेत्रियता र राष्ट्रिय एकात्मकता’ लगायतका पुस्तक अनुवाद गरेका छन्।

उनले अंग्रेजीबाट अनुवाद गरेका निबन्धहरूको संग्रह ‘आकाशमुखी’ बुकहिलको प्रकाशनमा आज सार्वजनिक हुँदैछ। यही सन्दर्भ पारेर मैनालीसँग लक्ष्मण श्रेष्ठसुनिता साखकर्मीले अनुवाद कर्मबारे गरेको कुराकानी।

अनुभव

पेशाले पत्रकार तपाईं अनुवादमा चाहिँ कसरी लाग्नुभयो ?

अनुवाद त मेरो पत्रकारिता भन्दा पुरानो काम हो। ०४४/०४५ सालतिर डिल्लीबजारमा पुस्तक पसल राखेको थिएँ, ‘शुभकामना पत्रपत्रिका केन्द्र’। त्यतिबेला देखि नै अनुवाद गर्न थालेको थिएँ। त्यतिबेला चिनियाँ न्यूज एजेन्सी सिन्ह्वाको नेपालस्थित कार्यालयले विभिन्न फिचर स्टोरीहरू प्रिन्ट गरेर विभिन्न सञ्चारमाध्यमलाई पठाउँथ्यो। मैले पनि तिनै फिचर अनुवाद गर्थेँ। तीमध्ये केही अहिले पनि सम्झिन्छु। एउटा अकुपञ्चरबारे थियो। त्यो प्रविधि नेपालमा सुनेकै थिइनँ। मलाई त्यो रुचीकर लाग्यो र अनुवाद गरेँ। त्यस्तै अर्को एउटाको शीर्षक अहिले पनि सम्झिन्छु– ‘केटाकेटी मर्न देऊ, विश्वलाई बचाउ।’ लेखकको चिन्ता केटाकेटी बचाएर संसार सकिने भयो भन्ने थियो। यस्ता पनि मान्छे हुँदा रहेछन् भनेर त्यसको पनि अनुवाद गरेको थिएँ। ती अनुवाद पैसाका लागि भन्दा पनि रौसले गरेको थिएँ।

पत्रकारितामा जोडिएपछि अनुवादको काम अलि व्यवस्थित पनि भयो। अलि धेरै काम पनि पाउन थालेँ। २०४८ सालतिर हो क्यारे, विनय कसजुले ‘वातावरण पत्रकारिता’ भन्ने एसियन फोरम अफ इन्भारमेन्टलिस्ट जर्नलिस्टले तयार गरेको किताब विभिन्न भाषामा निकाल्ने क्रममा नेपालीमा अनुवाद गर्नुभयो। त्यसको सम्पादन गर्ने मौका मैले पाएँ। त्यस्तै २०४७/०४८ सालतिर अंग्रेजीमा निस्कने ‘हिमालयन हिमाल’मा निस्किएका राम्रा सामग्रीलाई अनुवाद गरेर वर्षमा एउटा ‘हिमाल’ निकाल्ने गरिन्थ्यो। त्यतिबेला केदार (शर्मा)जी, बसन्त (थापा)जी सम्पादक हुनुहुन्थ्यो। उहाँहरूले मलाई तीन, चार वटा अनुवाद गर्न दिनुभएको थियो। त्यस्तै हिमाल बुक्सले प्रकाशन गरेको टोनी हागनको पुस्तक ‘नेपालको चिनारी’का केही पाठ पनि मैले अनुवाद गर्ने मौका पाएँ। त्यसपछि कियोको ओगुराको ‘जनता जागेका बेला’ चाहिँ म र मेरा दिदीबहिनी मिलेर गर्‍यौँ। बृहत्ताकारको अनुवाद फ्रेडरिक एच. गेजको पुस्तक ‘नेपालमा क्षेत्रियता र राष्ट्रिय एकात्मकता’ हो।

यी अनुवाद मैले जीविकाका लागि भन्दा पनि रौसले गरेको हुँ। मैले जीविकाका लागि पनि अनुवाद गरेको छु। तर तीप्रति मलाई खासै लगाव छैन। तिनले मलाई जीविकामा भरथेग गरेका छन्। अरू मलाई रहर लागेका काम गर्न फुर्सद दिएका छन्।

रौसले गरेको भए पनि यो सामग्री त अनुवाद गर्नुपर्छ भन्ने भावनाले त काम गरेको थियो होला। अनुवाद हुनुपर्छ भन्ने चाहिँ किन लाग्थ्यो ?

पढेको सामग्री राम्रो लाग्यो। तर सिन्ह्वामा छापिएको सामग्री त यहाँ कसैले पढ्न सक्दैनथ्यो। त्यसैले आफूसम्म आएको ज्ञान अरूसम्म पुगोस् भनेर नै गरेको हुँ। त्यतिबेला हात उध्याउँ भन्ने पनि चाहना थियो होला। नयाँ सीप सिक्ने र त्यसको तल अनुवाद भनेर नाम आउने, नाम नआए पनि आफ्नो नाम पढेँ जस्तो लाग्ने भएकाले पनि गरेको थिएँ।

किताबकै अनुवाद गर्दा कसरी छनौट गर्नुभयो ? केही आधार छन् कि ?

मैले कियोको ओगुराको किताब पढेँ। पढेपछि बाफ रे यसरी पनि लेखिँदोरहेछ भन्ने लाग्यो। २०४६ सालको आन्दोलन उपन्यासजसरी लेखिएको थियो। ननफिक्सनमा फिक्सनको स्वाद भेटेँ। २००७ साल वा १९९७ सालको आन्दोलनबारे त्यसरी लेखेको देखेका थिइनँ। यस्तो पनि हुँदो रहेछ नि भनेर अनुवाद गर्न थालेँ। आधा भन्दा बढी अनुवाद गरिसकेपछि बल्ल त्यसको भूमिका र प्रकाशकीय पढेँ। त्यहाँ त कनकमणि दीक्षितले ‘यो नेपालीमा अनुवाद भए क्या गज्जब हुन्थ्यो’ भनेर लेख्नुभएको रहेछ। त्यो मैले पहिले नै पढेको भए झन् बढी उत्साही हुने रहेछु। त्यहाँसम्म अनुवाद गर्दा ‘गर्र्दैछु, हुने के हो, चाहिन्थ्यो कि चाहिँदैनथ्यो’ भन्ने लागिरहेथ्यो। तर त्यो पढेपछि मैले ठीक गरेछु भन्ने लाग्यो। त्यसपछाडिको अंश सक्न मलाई गति बढाउन सजिलो भयो।

फ्रेडरिक एच. गेजको पुस्तकबारे पनि त्यस्तै हो। नेपालको मधेशबारे साह्रै थोरैले मात्रै लेखेका छन्। तीमध्ये कि त अभियन्ताले लेखेका छन् कि गाली गरेर। यी दुइथरी नै पढ्नुपर्छ तर त्यसले सत्य त देखाउँदैन। नेपालको मधेशबारे सत्यको नजिक पुग्न यो किताब गज्जब काम लाग्छ भनेर अनुवाद गरेँ। लामो समय त त्यो किताब नेपालमा उपलब्ध नै थिएन। एउटा दुईओटा लाइब्रेरीमा थियो होला। पछि सोसल साइन्स बहाःले अंग्रेजी संस्करण छाप्यो। त्यसपछि मैले अनुवाद शुरु गरेँ। शुरु त गरिहालेँ तर सकिँदै सकिँदैन। पछि यसो हेरेको त ८३ हजार शब्द रहेछन्। तर त्यसको अंग्रेजी भाषाले पनि मलाई तानिरह्यो। प्राज्ञिक लेखन भए पनि खाँट्टी प्राज्ञिक लेखनमा हुने अप्ठेरोपन पाइनँ। सलल बगेको भाषा भएकाले अनुवाद गर्न पनि सजिलो भयो।

तपाईंले अनुवाद शुरु गर्दा अहिलेजस्तो कम्प्युटर सहज भइसकेको थिएन। हातैले गर्नुपर्थ्यो होला। शब्दकोश पनि पल्टाइरहनुपर्थ्यो होला। कसरी गर्नुहुन्थ्यो ?

अहिलेको जस्तो कम्युटरमा दाहिनेतिर क्लिक गरेर शब्दको अर्थ थाहा पाउने हुँदैनथ्यो। त्यसैले तीन, चारथरी शब्दकोश राखेर गर्थेँ। त्यतिबेला त मैले कम्युटर देखेको पनि थिइनँ। अनुवाद गरेको सामग्री लेटर प्रेसमा छापिन्थ्यो।

पहिलोचोटि कम्प्युटरमै अनुवाद गर्नुभएको सामग्री कुन हो ?

कन्सल्टेन्सीका लागि अलिअलि गरेको खासै सम्झन लायक छैनन्। किताबको रूपमा कियोको ओगुराको नै हो।

सबै तस्वीरः सुनिता साखकर्मी

शैली

आफूले पढ्दा खुबै बुझेजस्तो लाग्ने तर अनुवाद गर्दा मूल पाठमा भएजस्तो भएन कि भन्ने हुन्छ कि हुँदैन ?

त्यो पनि हुन्छ। अनुवाद भनेको मूल भाषा बुझ्न सक्ने कला र अनुवाद गर्न लागेको भाषामा अभिव्यक्त गर्न सक्ने कला दुइटै रहेछ। बुझ्न त बुझेँ तर आफ्नो भाषामा अभिव्यक्त गर्न सकिनँ भने त बिजोग भयो नि। त्यसैले पहिलोपटकमा म अनुवाद गरिरहँदा अप्ठ्यारो पर्‍यो भने अंग्रेजीको वाक्य नै ल्याएर राखिदिन्छु। त्यसमा धेरै अलमल्लिनँ। दुई, तीनचोटी कोशिश गर्छु। त्यति गर्दा पनि भएन भने ‘पख् तलाईं म कुनै बेलामा गर्छु’ भनेर अगाडि बढ्छु। त्यसरी अनुवाद गरिसकेको पाठ ५/६ दिन वा कहिलेकाहिँ त १५/२० दिनलाई बिर्सिदिन्छु। त्यसपछि फेरि पढ्छु। त्यतिबेला आफ्नै लागि नयाँ लाग्छ। अनि त्यति बेलामा खुल्न सक्छ, अगाडि नखुलेको गुत्थी। कुनै कुनै बेलामा त नबुझिने पनि हुन सक्छ अथवा मलाई बुझेको जस्तो लागेको कुरा गलत पनि हुनसक्छ। त्यस्तो भयो भने जान्ने मान्छेसँग बसेर ‘यो के हो, यो अथ्र्याइदेउ न’ भन्छु।

त्यस्तो प्रसंग सम्झिनुहुन्छ ?

छ यही किताबमा (‘आकाशमुखी’ देखाउँदै) निकै ठाउँमा। अल्दस हक्सलेको निबन्ध ‘बान्की बान्कीका निबन्ध’ र सर रिचर्ड लिभिङस्टोनको ‘शिक्षाको सार’को अनुवाद गर्दा एक, दुई ठाउँमा ‘यो हो कि होइन’ भनेर रुजु गरेँ। त्यस्तै जे. बी. एस. हल्देनको ‘यत्ति भए पुग्छ त !’ अनुवाद गर्दा वाक्य संगठन नै नमिलेजस्तो लाग्यो। अर्को अर्थ लाग्छ कि भनेर जान्नेसँग सोधेँ। उहाँले ‘तपाईंले गरेको चाहिँ ठीक छ, यहाँचाहिँ एउटा प्रिपोजिसन पुगेन, छुटेको रहेछ’ भनेर बुझाइदिनुभयो। जुन प्रिपोजिसन नभएकाले अर्को अर्थ लाग्छ कि भन्ने मलाई लागेको थियो, त्यो उहाँले बताइदिनुभयो। त्यसैले ढुक्क हुनका लागि पनि सल्लाह गर्नेगर्छु।

अंग्रेजीमा पकड भएपछि मात्रै अनुवाद गर्न सकिने हो कि गर्दैजाँदा पकड हुँदै जाने हो ?

बुझ्न सम्म चाहिँ सक्नुपर्‍यो। हरेक वाक्य र शब्द भन्ने होइन किनभने बसन्त थापाले पनि अरूसँग सल्लाह गरेर देखेको छु। लगभग ९० प्रतिशत बुझियो भने र १० प्रतिशत अरूसँग सोधेर बुझिने भयो भने अनुवाद गर्न थाल्ने हो।

तपाईंले यसअघि गरेका अनुवाद प्रायः नेपालबारे नै लेखिएका थिए। त्यसैले भाषा फरक भए पनि परिवेश हाम्र्रै भएकाले खासै अप्ठ्यारो परेन होला। तर यी परिवेश र सन्दर्भ पनि फरक भएका निबन्ध अनुवाद गर्दा फरक अनुभव गर्नुभयो कि ?

नेपालबारे लेखिएका अनुवाद गर्दा प्रसंगले पनि बुझिन्छ। मधेशको वर्णन गर्दैछ भने आफूलाई थाहा नभएको कुरा पनि यसलाई भनेको हुनसक्छ भनेर शब्दकोश नपल्टाउँदा पनि अन्दाज गर्न सकिन्छ। तर भर्जिनिया उल्फको अनुवाद गर्दा त त्यो सुविधा हुँदैन। लण्डनको प्रसंग छ। त्यहाँको विश्वविद्यालयको छ। काल्पनिक कलेजको कुरा गरेको छ। त्यस्तो मलाई पत्ता लगाउन एकदमै अप्ठेरो भयो। कुनै वनस्पतिको त नेपाली नाम पनि खोज्न गाह्रो भयो। कतिपय प्रसंगहरू त उनीहरूको जीवनशैलीसँग सम्बन्धित हुने र नेपालीमा नमिल्ने हुँदारहेछन्। तिनले पनि गाह्रो बनाउँछन्।

त्यस्ता प्रसंगको उदाहरण दिनुस् न !

एउटा निबन्धमा ‘पुच्छर नभएको बिरालो’ भन्ने प्रसंग आएको छ। त्यसले उनीहरूलाई जति सजिलोसँग बुझाउँछ हामीलाई बुझाउँदैन। नेपालीको अंग्रेजीमा अनुवाद गर्दा पनि त्यस्तै हो। जस्तै, ‘सगरमाथा मेरो शीरको टोपी’लाई अनुवाद गर्दा हुबहु गरियो भने अर्थ दिँदैन। उदाहरण नै छ नी, एकजनाले ‘लाहुरी भैंसी’ (रमेश विकलको कथा)लाई ‘सोल्जर भनेर’ अनुवाद गरिदिएछ। त्यो त मिलेन। लाहुरी भैंसी त राम्रो भैंसी भनेको हो। संस्कृति र सन्दर्भ फरक पर्दा गाह्रो हुनेरहेछ। त्यसैले भर्जिनिया उल्फको निबन्धको अन्तिमतिरको अनुवाद गरेको छैन। त्यसका लागि अंग्रेजी साहित्यमा राम्रै जानेको मान्छे हुनुपर्ने रहेछ त्यो न फुटनोटमा लेखेर हुन्थ्यो न अरू केही गरेर नै।

अनुवादका केही नियम हुन्छन् होला नि ! मूल भाषाको वाक्य विन्यास उस्तै राख्नुपर्ने कि नराख्दा पनि हुने आदि !

त्यो नियम, सियम हेरिनँ मैले। खाली उसले भनेको कुराको अर्थ नबिग्रने, नबांगिने गरी भन्न सकिन्छ भयो भने हुन्छ भन्ने लाग्छ मलाई। लेखकको मर्मचाहिँ बिग्रन भएन। कतिपय ठाउँमा मलाई टिप्पणी पनि गरिएको छ– उसको वाक्य बनावट त यस्तो छ, उसले यो कुरा पछाडि भनेको छ, तपाईंले पहिले नै लेख्दिनुभयो। मैले जुन भाषामा अनुवाद गर्दैछु त्यसैमा ढाल्न पो खोजेको हुँ। त्यसैले म वाक्य संरचना उस्तै राख्नुपर्छ भन्दिनँ।

अनुवादकलाई त्यति छुट हुन्छ ?

त्यो त हुनै पर्‍यो। नत्र त अंग्रेजीमा नै अनुवाद गरेको भए भइहाल्यो नि। मैले गर्ने काम नै लेखकको भाषाको वाक्य संरचनालाई अनुवाद गर्ने भाषाको वाक्य संरचनामा ढाल्ने हो। त्यसमा उखान छन् भने पनि ठिकै छ, प्रसंग छन् भने पनि ठिकै छ।

एउटा गीतको अनुवादमा मैले ठाउँ नै परिवर्तन गरिदिएँ। गीतमा ‘चम्बा कितने दूर’ भन्ने थियो। त्यसको बीच बाटोको पनि प्रसंग थियो। चम्बा नै भनिदियो भने त नेपालीका लागि कता हो कता हुन्छ। त्यसैले मैले ‘केञ्जिङ कति दूर’ बनाएँ। तर यी निबन्धमा लण्डनको कुरा गर्दा काठमाडौं बनाउन त मिल्दैन। त्यो लण्डन कै प्रसंग हो, त्यो उनीहरूकै प्रसंग हो।

यी कुरा अनुवादसम्बन्धी तालिम वा कार्यशालामा भाग लिएर सिक्नुभएको हो कि ?

छैन, कुनै पनि तालिम लिएको छैन।

कुनै पाठ अनुवाद गर्दा पहिले पुरै पाठ पढ्नुहुन्छ कि अनुवाद गर्दै पढ्दै गर्नुहुन्छ ?

किताब हो भने म एउटा च्याप्टर (पाठ) पढेर त्यसको अनुवाद गर्छु। कहिलेकाहीँ अनुवाद गर्दैगर्दा कस्तो हुन्छ भने, दुईओटा अनुच्छेद गज्जब अनुवाद हुन्छ। तेस्रो अनुच्छेद अनुवाद गर्दा क्षमताले नभ्याएको हो कि जस्तो लाग्छ। मेरो कमजोरी हो कि लेख्नेको भन्ने हुन्छ। त्यसैले एउटा पाठ पढेर अनुवाद गर्छु। हजार, बाह्र सय शब्दको ससानो फिचर हो भनेदेखि पुरै पढेर मात्र अनुवाद गर्छु।

एकचोटि अनुवाद गर्न बस्दा कति घण्टासम्म काम गर्नुहुन्छ ?

भर्जिनिया उल्फको निबन्ध ‘अ रुम अफ वान्स ओन’ अनुवाद गर्दा कहिले चार, पाँच घण्टा काम गरेँ भने कुनैबेला एउटा अनुच्छेद गरिसक्दा रन्थनिएर ‘यो कुरा कसरी लेखिन्’ भनेर चार, पाँच घण्टा यसै बसेर सोचेँ। यस्तो कुरा छ तर कति सजिलो गरेर व्यक्त गरेको छ। एकदम रिसले मुर्मुरिएको देखिन्छ तर शब्दमा देखिँदैन।

त्यस्तै ‘आकाशमुखी’मै ‘बहुमूल्य पर्वतराज कञ्चनजङ्घा’ भन्ने निबन्ध छ। त्यो अनुवाद गर्दा ‘बाफ रे बाफ यसले यो कुरा कसरी सम्झिनसक्यो’ भनेर दंग परेर बसेँ। कहिलेकाहीँ आनन्द मात्रै नभएर टाउकोमा घनले हिर्काएजस्तो हुन्थ्यो। त्यतिबेला अनुवाद गर्न छोडेर त्यसबारे मनन गरेर बस्थेँ। कतिपटक ‘हत्तेरिका यस्तो लेख्न नसक्ने मैले किन लेख्नु !’ भन्ने पनि लाग्यो आफूलाई। तर गर्दै जाँदा अलिपछि कन्फिडेन्स आउँदै पनि गर्यो।

यी सबै के अनुवाद गर्दैछु भन्नेमा भर पर्दोरहेछ। कियोको ओगुराको अनुवाद गर्दा त्यस्तो लागेको थिएन। तर यी निबन्धको अनुवाद गर्दा घनले हिर्काएजस्तो नै भयो।

कुनै सामग्री अनुवाद गर्दा कतिपटक काम गर्नुहुन्छ ? एकैपटकमा अन्तिम रूप दिनुहुन्छ कि ?

एउटा अनुवाद गर्दा कम्तिमा तीनपटक काम गर्छु। पहिलोपटक मूल पाठमुनि त्यसको नेपाली अनुवाद गर्दै जान्छु। दोस्रोपटक अंग्रेजीको नेपालीमा जस्ताको तस्तै ल्याएँ, ल्याइनँ भनेर हेर्छु। पहिलोपटकको भन्दा आधा मेहनत दोस्रोपटकमा गर्छु। त्यसपछि मूल पाठ हटाउँछु। तेस्रोपटकमा नेपाली बान्की आयो कि आएन भनेर हेर्छु। कहिलेकाहीँ त एउटै पाठमा पाँच, छपटकसम्म काम गरेको छु।

सबैले यस्तै मेहनत गर्छन् ?

‘आकाशमुखी’मै बेन जोन्सनको लेखनसम्बन्धी एउटा निबन्ध छ। त्यसमा उनी भन्छन्, ‘जसले राम्रो लेखेका छन् तिनले मेहनत गरेका थिए, मेहनत गरेकाले नै राम्रो भएको हो। उनैले भनेका छन्, हतारमा लेखेर कहिल्यै राम्रो हुँदन। राम्रो लेख्ने बानी बस्यो भने हतारमा लेख्न सकिन्छ।’ त्यो कुरा अनुवादमा पनि लागू हुन्छ।

सम्पादनको प्रसंग उठिहाल्यो। तपाईंले त मौलिक कृति र अनुवाद दुवैको अभ्यास गर्नुभयो। मौलिक कृतिको सम्पादनमा सम्पादकको जे भूमिका हुन्छ, अनुवादको प्रसंगमा पनि त्यही हुन्छ कि अलि बढी हुन्छ ?

कम हुन्छ जस्तो लाग्छ मलाई। हाम्रोमा लेखनको लामो परम्परा छैन। त्यसैले सम्पादकले मौलिक लेखनमा धेरै नै ध्यान दिनुपर्छ। माथि लेखेको तल, तल लेखेको माथि लैजानुपर्छ। कतिपय प्रसंग हटाउनुपर्छ। जस्तो कसैले ‘पूर्णिमाको रातमा पूर्वतिर सुर्य उदाएको थियो’ लेख्यो भने त मिलेन। सम्पादकले नभेटेकाले त्यस्तो लेखिएका किताब पनि बजारमा आएका छन्। तर अनुवादमा त्यस्तो समस्या हुँदैन।

अप्ठ्यारा

कतिपय पुराना सामग्री अनुवाद गरिएलान्। त्यसमा लेखकले एउटा शब्द प्रयोग गरेका हुनसक्छन् जुन अहिले प्रयोगमै आउन छाडेका हुन्छन् वा विभिन्न कारणले प्रयोग गरिँदैनन्। ती शब्दलाई हुबहु राखिन्छ कि समय अनुसार परिमार्जन गरिन्छ ?

मैले त्यस्तो भोगेको छु। अंग्रेजीमा shew लेखेको थियो। यसो हेर्छु, show हुनुपर्ने। खोजेपछि थाहा पाएँ, sjow लाई पुरानो अंग्रेजीमा shew लेखिँदोरहेछ। त्यसलाई नेपालीमा अनुवाद गर्दा भने कुनै समस्या भएन।

जस्तो, हामी ‘एकल महिला’ लेख्छौं तर अंग्रेजीमा ‘विडो’ लेखेको छ भने अनुवादमा के गर्ने ?

नाम नै छ भने त परिवर्तन गर्न मिलेन। अरू प्रसंगमा हो भने कसैलाई अपमान नहुनेगरी गर्नुपर्छ। तर आजभोली चलिरहेको पाँच वर्षमात्रै पोलिटिकल्ली करेक्ट हुने खालको कुरामा म त्यति ध्यान दिन्नँ। किनभने त्यो मान्छेले पाँच वर्षपछि गएर त्यही शब्द चलाउँछ। जस्तै विधवा भन्न पाइँदैन, एकल महिला भन्नुपर्छ भनिन्छ। एकल महिलाले त धेरैथरी समेट्छ। त्यसले त्यही अर्थ दिँदैन। दुईचार वर्ष एकल महिला लेखेपछि अहिले आएर विधवा नै चलाउँ भन्न लागेका छन्। त्यस्तो हुने देखेँ भने म पोलिटिकल्ली करेक्ट हुनतिर लाग्दिनँ। बरु तीन, चारवर्ष गाली खान तयार हुन्छु। मेरो भाषा बिगार्दिनँ। तर त्यो साँच्चै हो भने परिवर्तन गर्छु। उसको पालामा पो त्यस्तो थियो त अहिलेको पालामा भए उसैले यस्तो लेख्दैनथ्यो होला भनेर टोन डाउन गर्दा हुन्छ भन्ने लाग्छ। किनभने समय पनि अनुवाद गर्ने हो हामीले। त्यो समयको विचार पनि अनुवाद गर्ने हो। यदि उसको अपमान नै गर्नेे नियत नै छ भने राखिदिन्छु किनभने यो त उसले नियतले नै गरेको हो।

अंग्रेजीमा नयाँ–नयाँ शब्द बनिरहेका हुन्छन्। त्यही हिसाबमा नेपालीमा हुँदैनन्। त्यसैले कतिपय प्रसंगमा ठ्याक्कै नेपालीमा शब्द पाइँदैनन्। त्यतिबेला के गर्ने ?

त्यही शब्द राखिदिने। नेपालीमा शब्द नै छैन भने कोष्ठकमा बुझाएर त्यही शब्द राखिदिने। जस्तै, बसको नेपाली के हो भनेर कसैले सोधिराख्यो र ? ट्याक्सी, सर्ट, प्यान्ट आदि शब्द त चलाएकै छौं। फेरी चश्मालाई ग्लास भनेनौं। त्यसैले मज्जासँगले चल्न सक्छ, सजिलो हुन्छ भने त्यो शब्द जस्ताको तस्तै राख्दा फरक पर्दैन। धन नै हो त्यो हाम्रो अनुवाद गरेको भाषाको लागि पनि।

कतिपय अंग्रेजी शब्दको नेपालीमा पर्यायवाची शब्दहरू हुन्छन्। त्यतिबेला यही नै उपयुक्त हुन्छ भनेर टुंगो कसरी लगाइन्छ ?

कुन चाहिँ सन्दर्भमा भन्यो भनेर हेर्न ठीक हुन्छ होला। ‘म पिक्चर हेर्न गएँ’ भन्यो भने त्यसलाई अंग्रेजी शब्दमा नै अनुवाद गर्छौं, सिनेमा वा फिल्म।

अंग्रेजीमा लेखिएका कतिपय शब्द नेपालीमा हुबहु अनुवाद गर्दा कहिलेकाहीँ अपाच्य हुने खालका हुन्छन्। सार्वजनिक रूपमा पढ्नै गाह्रो हुने। हालै नेपालीमा अनुदित एउटा उपन्यासमा त्यस्ता शब्द अत्यधिक भए भनेर टिप्पणी पनि भएको थियो। तपाईंलाई के लाग्छ, हुबहु त्यही गर्नुपर्छ कि पर्दैन ?

अनुवाद गर्ने त हामी माथि उठ्नका लागि हो। चार जना मान्छेको अगाडि बसेर पढ्न नसक्ने शब्दले माथि उठाउँदैन। एउटा ‘द सबटल आर्ट…’ भन्ने किताब रहेछ। अष्ट्रेलियामै त्यो शब्द कालो पट्टीले ढाकेर बेच्दा रहेछन्। अंग्रेजीमै त गर्दैनन् भने हामीले उखरमाउलो भएर किन गर्नुपर्‍यो ?

त्यस्तो खालको कुरा कसमेकम मलाई पच्दैन। यही ‘आकाशमुखी’मा एउटा निबन्ध छ, रिचर्ड लिभिङस्टनको। उनी लेख्छन्– जसरी नराम्रो खानाले मान्छेको शरीर बिगार्छ, त्यसरी नै नराम्रो कुराले हाम्रो मस्तिष्क बिगार्छ।

मौलिक लेखन भन्दा गाह्रो हो अनुवाद ?

धेरै अनुवादकहरूले आफुलाई ठूलो देखाउनलाई हो कि कुन्नी त्यसो भन्ने गरेका छन्। तर त्यस्तो होइन। मौलिक लेखनमा सूचना संकलनबाटै शुरु गर्नुपर्छ। आफूले संकलन गरेका सामग्री मध्ये यो यो चाहिने भन्ने ध्यान दिनुपर्छ। तिनलाई कसरी अर्गनाइजेसन गर्ने भन्नेदेखि एउटा खाका तयार गर्ने, भत्काउने र फेरि गर्ने सम्म पनि गर्नुपर्छ। कसैले भनेको थियो, हातले लेख्नुभन्दा पहिला दिमागले धेरैपटक परिमार्जन गरेको हुन्छ।

अनुवादमा भने त्यस्तो गर्न पर्दैन। मौलिक लेखनमा एउटा वाक्य चार तरिकाले लेख्न सकिन्छ। कुन वाक्य अगाडि राख्ने, कुन पछाडि ध्यान दिनुपर्छ। त्यसैले मौलिक लेखनभन्दा अनुवाद गाह्रो चाहिँ अनुवादकहरूले त्यसै साँढे पल्टिनलाई गरेको हो। त्यो बेकारको कुरा हो। त्यस्तो भन्ने मानिसले कि त लेखेकै छैन कि झुर लेखेको छ।

अनुवादसँग जोडिने अर्को समस्या प्रतिलिपि अधिकारको हो। यो कसरी टुंगो लगाइन्छ ? एउटा त मूल लेखकको प्रतिलिपिको अधिकार के हुन्छ ? अनुवादकको के हुन्छ ?

अनुवादकको प्रतिलिपि अधिकारको कुरा ऊ र उसको प्रकाशक बीचको सम्झौतामा भर पर्ला। कुनैमा अनुवादकले एकमुष्ट पारिश्रमिक लिनसक्छ, कुनैमा प्रतिलिपि अधिकार आफ्नो राखेर रोयल्टी लिनसक्छ।

मूल लेखकसँग अनुमति लिने विषयमा भने हामीलाई अलि अप्ठ्यारो छ। जस्तै, मिशल पिशेलको ‘टाइगर फर ब्रेकफास्ट’को अनुवाद अनुमति लिन खोजेको सम्पर्क नै गर्न गाह्रो भइरहेको छ। कसैले सकेको छ जस्तो लाग्दैन। त्यसैले ‘आकाशमुखी’मा संग्रहित निबन्धको अनुवाद गर्दा म त्यो चक्करमा लागिनँ। प्रतिलिपी अधिकार नलाग्ने भइसकेका बाहेक अरू गरिनँ। लोभ लाग्दा पनि छोडिदिएँ।

मैले अनुवादको सर्वाधिकार लिँदा कतिले ‘अर्काको अनुवाद गरेर आफ्नो सर्वाधिकार राख्ने ?’ पनि भन्नुभयो। मूल पाठ पो सबैको हो। अनुवाद त मेरो काम हो। मैले मेहनत गरेको छु।

आवश्यकता

अहिले त धेरैजसो अंग्रेजी पढ्न, लेख्न सक्ने भए। के अब पनि अनुवादको आवश्यकता परिरहन्छ ?

रहन्छ। अंग्रेजी होस् वा हिन्दी कत्तिको काम चलाउ छ भन्नेमा भर पर्छ। धेरै नेपालीले हिन्दी त बुझ्छन् तर टेलिशृंखला बुझ्ने जति मात्रै। हिन्दी वा अंग्रेजी साहित्यको मर्म बुझ्ने त कमै होलान्। त्यसैले पनि अनुवादको आवश्यकता रहिरहन्छ।

खासगरी अंग्रेजी र हिन्दीबाट नेपालीमा अनुवाद हुने गरेको छ। केही वर्षदेखि त्यसको मात्रा बढेको पनि छ। तर प्रायः अनुवादहरू विवादमा परिरहेका हुन्छन्। कस्तो छ हाम्रो अनुवादको स्तर ?

राम्रो, नराम्रो दुवै खालको छ। केही त राम्रै अनुवाद पनि देखेको छु मैले। जस्तै, खबुज। त्यो पढ्दा मौलिक नै पढेको जस्तो लाग्छ। अनुवाद गरिने भाषाको चलन पछ्यायो भने मौलिक लाग्दोरहेछ। जस्तै, ‘मलाई यस्तो लाग्दैन कि’ भन्यो भने नेपाली भाषाको शैली भएन। तर ‘मलाई यस्तो लाग्दैन’ भन्यो भने नेपाली शैली भयो।

समग्रमा हेर्दा, नेपालका अन्य क्षेत्रमा जस्तै अनुवादमा पनि थोरै राम्रो र धेरै नराम्रो छ। धेरै भएपछि सबै त्यस्तै हुन् कि जस्तो लाग्छ।

नराम्रोको त के कुरा गर्नु र, तपाईंलाई राम्रा लागेका अनुवादकहरू को को हुन् ?

२०२५/२६ सालतिर नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेका अनुवाद कृतिहरूका अनुवादकहरू राम्रा लाग्छन्। ऋद्धिबहादुर मल्ल, फणीन्द्रप्रसाद आचार्य, गोपालदास श्रेष्ठ आदिले राम्रा अनुवाद गरेका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानले नै अनुवाद प्रकाशन गरेको रविन्द्रनाथ टैगोरको आत्मकथा पनि निकै राम्रो अनुवाद छ। अहिले बसन्ता थापा राम्रो अनुवाद गर्नुहुन्छ। मेहनत पनि निकै गर्नुहुन्छ।

नेपालीमा अनुवाद हुन बाँकी धेरै छन्। तपाईंलाई हुनै पर्ने लागेको कुनै ?

हिन्दीको त थोरबहुत केही बुझौंला। उर्दु त हामीले लिपीकै कारण पनि सक्दैनौं। त्यतातिरको कुरा पनि हामीले गर्दा हुन्थ्यो होला। अर्को बंगाली। बंगालीको रविन्द्रनाथ टेगोरको केही आएको छ तर त्यो त साह्रै धनी पो भाषा भन्छन्। त्यतातिरबाट पनि ल्याउनुपर्छ। त्यस्तै नेपालभित्रै बोलिने राष्ट्रिय भाषाको पनि आउन बाँकी छ। केही कविता त प्रज्ञा प्रतिष्ठानले गरेको पनि छ। तर अरूअरू पनि अझै राम्रो किसिमले पनि आओस् भन्ने लाग्छ।

नेपालबारे लेखिएका तर नेपालीमा नआएका किताबहरू होलान् नी !

त्यो त संसार छन् भन्ने लाग्छ।

ठ्याक्कै नाम लिनुपर्दा यो चाहिँ हुनैपर्छ, कसै न कसैले गर्नैपर्छ भन्ने लागेको ?

सन् १८४८ तिर दार्जिलिङ, इलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङ हुँदै सिक्किम निस्किएका जेडी हुकर नामका वनस्पतिविद् आएका थिए। वनस्पतिविद् भए पनि उनले त्यतिबेलाका ती ठाउँको समग्र तस्विर उतारेका रहेछन्। त्यो हिमालयन जर्नल भनेर उहिल्यै छापिएको छ। त्यसमध्ये नोपलको खण्डचाहिँ मेरा साथी हस्त गुरुङले अनुवाद गरिसकेका छन्। त्यो एउटा उदाहरण भयो।

त्यसैगरी फ्रेञ्चबाट सोझै आउनुपर्ने कुराहरू पनि केही छन् जस्तो लाग्छ। फ्रेन्चले नेपालमा धेरै अध्ययन गरेका छन्। उनीहरूले नेपालमा गरेको अध्ययन अहिले पनि सान्दर्भिक र भोलिपर्सि पनि सान्दर्भिक हुने सामग्री अनुवाद गरिनुपर्छ।

एउटा त त्यस्तो खालको अध्ययन हामीले गरेका छैनौँ। अर्काे हामीले नै गरेको भए पनि अरूले हामीलाई कसरी हेर्दा रहेछन् भन्ने पनि हुन्छ नि। त्यसले हामीलाई सुध्रिनलाई मद्दत गर्ला। अथवा होइन, तिनीहरूको पूर्वाग्रहयुक्त हो यही ठिक छ भन्न पनि होला, तर त्यो त हेर्नुपर्यो नि। अंग्रेजी त अलिअलिसम्म जानिएला। केही मानिसले जान्लान्। तिनले भाषण गर्लान् हामी सुनौँला। चित्त बुझाउँला। फ्रेञ्चको त कसले के गर्न सक्छ र ? त्यसरी फ्रेञ्च पढेर हामीलाई भाषण दिने मान्छे पनि थोरै छन्। त्यस्ता खालका कुरा सिधै आए हुन्थ्यो।

जस्तै एकजना फ्रेञ्चले सन् १८८५ मा नेपाल आएर अध्ययन गरेका रहेछन्। उनले हाम्रा मन्दिर, देवल, मन्दिर अगाडि भएको खम्बाको वास्तुकलाको अध्ययन गरेका रहेछन्। पशुपतिे, स्वयम्भू, बौद्ध, पाटन, भक्तपुर र काठमाडौका वास्तुकलाको अध्ययन गरेका रहेछन्। त्यही अध्ययनबाट उनले नेपाल र भारतबाट बौद्ध धर्म कसरी विलय भयो भनेर लेखेका रहेछन्। त्यसको अनुवाद हिमाल बुक्सबाट आउँदैछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved