हेटौंडा। नेपाली कांग्रेस मकवानपुरको सभापति पदका लागि दुई जनाले उम्मेदवारी घोषणा गरेका छन्। पूर्वजिल्ला सचिव आनन्दराम पराजुली र जयराम लामिछानेले शुक्रबार साँझ अलग अलग पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन्।
पराजुली कांग्रेस संस्थापन पक्षका उम्मेदवार हुन् भने लामिछाने इतर पक्षबाट उम्मेदवार बनेका छन्। पराजुलीले कांग्रेसलाई मकवानपुरमा पहिलो पार्टी बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाए।
“स्थानीय तहको निर्वाचन घोषणा भइसकेको छ,” सयौंको संख्यामा उपस्थित कार्यकर्तामाझ उम्मेदवारी घोषणा गर्दै पराजुलीले भने, “यो निर्वाचनमा जिल्लाको सबै पालिकामा कांग्रेसले जित्ने गरी काम गर्नेछु। अब आउने प्रदेश र संघीय निर्वाचनमा पनि मकवानपुरमा कांग्रेसले नै जित्ने गरी अघि बढ्ने योजना मसँग छ।” उनले कार्यकर्ताको भावनाअनुसार पार्टीलाई रूपान्तरण गर्दै बढाउने प्रतिबद्धता जनाए। पराजुलीले उम्मेदवारी घोषणा गर्ने सभामा सभापतिका अर्का आकांक्षी विष्णु लामिछानेको पनि उपस्थिति थियो।
“अघिल्लो स्थानीय तहको निर्वाचनमा हेटौंडाको मेयरमा चुनाव हारेपछि पनि निरन्तर जनतासँगै रहेर काम गरिरहेको छु,” उनले भने,”अब पनि म कार्यकर्ता माझै रहेर काम गरी नै रहनेछु। कार्यकर्ताले खोजेको बेला भेटिनेछु।” पराजुलीले विभिन्न पार्टीबाट आएकाहरुलाई नेताहरुलाई क्षमता अनुसार जिम्मेवारी दिने प्रतिबद्धतासमेत जनाए। पार्टी प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनालगायत पूर्वसभापतिहरुको साथ आफूलाई रहेको उनले दाबी गरे।
जयरामको प्यानल घोषणा
संस्थापन इतरबाट सभापति पदमा उम्मेदवारी घोषणा गरेका जयराम लामिछानेले भने प्यानल नै घोषणा गरेका छन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै लामिछानेले आफ्नो प्यानल नै सार्वजनिक गरेका हुन्।
लामिछानेको प्यानलबाट उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने, सचिवमा भीमसेन महत, ईश्वर पाठक, सहसचिवमा इन्दिरा न्यौपाने र रत्न गोलेले उम्मेदवार रहने बताइएको छ। कांग्रेसको विधान अनुसार जिल्लामा उपसभापति, सचिव र सहसचिव दुई÷दुईजना हुने व्यवस्था रहेको छ।
उनले सदस्य छनौट भूगोल र क्लस्टर अनुसार हुने भएकाले सोही अनुसार उम्मेदवारी चयन गर्न जिम्मेवारी प्रदान गरिएको बताए। उम्मेदावरी घोषणा गर्दै उनले मकवानपुर कांग्रेसलाई बलियो बनाउने योजना आफूसँग मात्रै रहेको दाबी गरे। “कांग्रेस मकवानपुरलाई कसरी अघि बढाउने भन्ने योजना मसँग मात्रै छ,” उनले भने,”अब आउने निर्वाचनहरुमा कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी काम गर्नेछु। मकवानपुरमा कांग्रेसको बलियो उपस्थिति गराउने गरी योजनावद्ध रुपमा काम गर्ने प्रतिवद्धता व्यक्ति गर्दछु।” कांग्रेसलाई वडा तहबाट नै बलियो बनाउने योजना आफूसँग रहेको दाबी गर्दै उनले आन्तरिक चुनावमा तिक्तता आउन नहुने बताए।
निर्वाचन तालिका सार्वजनिक
नेपाली कांग्रेस मकवानपुरको १४ औं जिल्ला अधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ। फागुन १५ गते हुने जिल्ला अधिवेशनको निर्वाचन कार्यतालिका शुक्रबार सार्वजनिक भएको हो।
जिल्ला कार्यसम्पादन र कांग्रेस जिल्ला निर्वाचन समितिको शुक्रबार पार्टी कार्यालय हेटौंडामा भएको संयुक्त बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीका अनुसार फागुन १५ गते हेटौंडा १ चौकीटोल लोकप्रिय होटल अगाडि निर्वाचन प्रक्रिया सुरु हुनेछ। सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार फागुन १५ गते विहान ९ बजेदेखि १ बजेसम्म मनोनयन दर्ता, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता, बेलुका ६ः३० अन्तिम नामावली प्रकाशन र मतदान फागुन १६ गते विहान ८ बजेबाट सुरु हुनेछ।
Facebook Comment
Comment