डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका र जोरायल गाउँपालिकाले कोभिड खोप लगाउन छुटेकाहरुको तथ्यांक खोजी गर्दै उनीहरूलाई खोप लगाउने अभियान तिव्र बनाएका छन्। यसलाई ‘खोज र खोप’ अभियान नाम दिइएको छ।
नगरपालिकालाई पूर्ण कोभिड खोपयुक्त पालिका घोषणा गर्न स्वास्थ्यर्मी, स्वंयसेविका, जनप्रतिनिधिहरु, सहयोगी संघ–संस्थाले अभियान चलाइरहेको दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेश भण्डारीले बताए।
‘‘हामीले कुन वडामा कति जनाले खोप लगाएका छैनन् भनेर तथ्यांक संकलन गर्नुका साथै छुटेकाहरुलाई खोप लगाउने कार्यलाई पनि निरन्तरता दिएको छौ। हामीलाई युनीसेफको सहयोगमा बास नेपालले सहयोग गरेर पालिकाभित्र रहेका अलि बिकट ४ वटा वडाको तथ्यांक संकलन कार्यमा सहयोग गरेको छ,’’ उनले भने।
जोरायल गाउँपालिकाले पनि कोभिड खोप लगाउन छुटेकाहरुको तथ्यांक संकलन गर्ने कार्यलाई योजनाबद्ध रुपमा निरन्तरता दिइरहेको छ। जोरायल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द बहादुर विस्टले खोप लगाउन छुटेकाहरूको तथ्यांक संकलन गर्ने काम भइरहेको बताए।
‘‘हामीले स्वास्थ्यकर्मीहरुमार्फत खोप लगाउन छुटेकाहरुलाई जानकारी दिने काम गरिरहेका छौं। छुटेकाहरुलाई प्रत्येक वडामा साताको सोमबार खोप लगाउने कार्य नियमित रुपमा संचालन भइरहेको छ। अबको २–३ दिनभित्र छुटेकाहरुको तथ्यांक संकलन गर्न घरदैलो अभियान संचालन गर्ने योजना छ,’’ उनले भने।
जोरायल गाउँपालिकालाई चैत्र महिला भित्र पूर्ण खोपयुक्त पालिका घोषणा गर्ने लक्ष्य रहेको उनले बताए। दिपायल सिलगढी नगरपालिकाको पूर्ण खोपयुक्तपालिका घोषणा गर्ने योजनामा सहयोग गर्न पालिकासँगग समन्वय गरी बास नेपालले वडा नम्बर १, ५,८ र ९ मा खोप लगाउन छुटेकाहरुको तथ्यांक संकलन घरदैलो कार्यक्रममार्फत गरेको बास नेपालका कार्यक्रम अधिकृत गणेश मौनीले बताए।
अधिकृत मौनीका अनुसार वडा नम्बर १ मा १ सय ९७ जना, वडा नम्बर ५ मा ५७ जना, वडा नम्बर ८ मा १ सय ५४ जना र वडा नम्बर ९ मा ६८ जना खोप लगाउनबाट छुटेका थिए।
Facebook Comment
Comment