काठमाडौ। टेष्ट मान्यताप्राप्त राष्ट्रलाई पराजित गर्ने आजको जस्तो स्वर्णिम मौका नेपाललाई विरलै आउला।
शानदार बलिङ गरेको नेपालले आज आयरल्यान्डलाई केवल १ सय २७ रनमा समेटेको थियो। तर, ब्याटिङमा संवेदनशी हुन नसक्दा नेपाली खेलाडीहरू एकपछि अर्को गर्दै पेभेलियन फर्किए, जसकारण आयरल्यान्डले सानो योगफल रक्षा गर्दै नेपाललाई इतिहास बनाउन दिएन।
ब्याटिङमा ‘रन अ बल’ को हिसाबले २० ओभरमा टिकेर खेलेको मात्र भए नेपालले सजिलै खेल जित्ने थियो। तरः प्राय सबै ब्याटरले साधारण लक्ष्य चेज गर्ने क्रममा पनि अनावश्यक रूपमा बिग सट खेल्न थाले, जसकारण नेपाल १११ रनमै समेटियो, अर्थात् १७ रनले पराजित भयो।
आजको खेलमा नेपालले आयरल्यान्डलाई १३.५ ओभरमै हराएको भए सिरिजको उपाधि नै जित्ने थियो। सायद, यही कारण पनि नेपाली खेलाडीहरू हतारिएका हुन सक्छन्।
ठूला राष्ट्रविरुद्ध खेल्दा साना-साना गल्तीहरूले पनि ठूलो अर्थ राख्छ, ब्याटिङतर्फ आज नेपालका सबै खेलाडीले गल्ती गरे। टेस्ट राष्ट्रविरुद्ध हतारमा खेल्दाको परिणाम व्यहोरेको नेपाल अन्तत: सिरिजको पुछारमा रह्यो।
यसअघि आयरल्याण्डसँग खेलेका दुई टी–ट्वान्टी अन्तराष्ट्रिय खेलमा नेपाल पराजित भएको थियो। सन् २०१५ मा खेलेको विश्वकप छनोट खेलमा नेपाल आठ विकेटले पराजित भएको थियो भने सन् २०१९ मा ओमानमा नै भएको पाँचदेशीय शृंखलामा पनि नेपाल १३ रनले हारेको थियो।
त्यसकारण पनि आजको प्रतिस्पर्धालाई कठिन नै मानिएको थियो। तर दीपेन्द्र सिंह ऐरीले २१ रन खर्चिएर ४ विकेट लिँदै नेपाललाई ठूलो आशा देखाए पनि ब्याटिङ अर्डरले त्यसलाई न्याय गर्न सकेन।

ब्याटिङमा समस्या कायमै
अघिल्ला दुई खेलमा विभिन्न प्रयोग गरेको नेपालले यो खेलमा आफ्नो उत्कृष्ट प्लेइङ ११ लाई उतार्यो। सिरिज अगाडि नेपालको बलिङ तुलनात्मक रूपमा कमजोर र ब्याटिङ राम्रो भएको पूर्वानूमान थियो। जसलाई आजको खेलले गलत साबित गरिदियो।
चोटका कारण अघिल्ला खेल गुमाएका ओपनर कुशल भुर्तेल टिममा फर्किएपनि प्रभाव देखाउन सकेनन्। कुशलले खेलको पहिलो बलमा नै चौका र दोस्रो ओभरको अन्तिम बालमा छक्का प्रहार गर्दै राम्रो शुरुआत नगरेका होइनन्, तर धेरै नै आक्रामक खेल खेल्न खोज्दा उनी आउट भए। पाँचौ ओभरको पहिलो बलमा स्कुप सट खेल्न खोज्दा उनी १५ रनमा बोल्ड आउट भए।
यसपछिका सबै ब्याटस्म्यानले कुशलकै शैली पछ्याए। १३.५ ओभरमा नै खेल जितेर सिरिज जित्ने हतारमा अधैर्यपूर्ण ब्याटिङ गर्दै बाउण्ड्रीको लोभमा हावामा सटहरू खेल्दा नेपलको विकेट लगातार गुम्न पुग्यो। तेस्रो नम्बरमा आएका लोकेश बमले तेस्रो बलमा नै छक्का प्रहार त गरे, तर लगत्तै अर्को छक्का प्रहार गर्न खोज्दा आठ रनमा क्याच आउट भए।
६ ओभरको पावर प्लेमा ४० रनमा नेपालले दुई विकेट गुमाएको थियो। त्यसपछि, नेपालका अर्का ओपनर आसिफ सेख पनि बिग सट खेल्न खेल्दा २३ रन क्याच आउट भए। नेपाली ब्यायसम्यान आफैले विकेट खेर फाल्दै गएकाले आयरल्यान्डका बलरहरूलाई विकेट लिन खासै संघर्ष गर्नुपरेन।
ज्ञानेन्द्र मल्ल पाँच, शरद भेषवाकर एक, कुशल मल्ल नौ र कमल सिंह ऐरी १३ रनमा आउट भए। जसकारण, नेपाली टिमका संकटमोचक दीपेन्द्र सिंह ऐरीसामु इनिङ जोगाउने र रन जोड्ने अभिभारा एकैपटक आइलाग्यो। तर दबाबमा उनी पनि टिक्न सकेनन्। उनी २८ रन बनाएर पेभेलियन फर्किएसँगै नेपालको आशा लगभग समाप्त भएको थियो।
उत्कृष्ट बलिङ
खेलमा टस जितेर पहिले बलिङ गरेको नेपालले उत्कृष्ट बलिङको मद्दतले पहिलो ओभरदेखि नै आयरल्याण्डलाई दबाबमा राखेको थियो। टी–ट्वान्टीमा आयरल्याण्डका लागि सबैभन्दा प्रभावशाली खेलाडी पौल स्टर्लिङ इनिङको चौथो बलमा नै कमल सिंह ऐरीको बलमा बोल्ड आउट भए।
चौथो ओभरको अन्तिम बलमा जितेन्द्र मुखियाले ग्यारेथ डेलानेलाई पनि कट एण्ड बोल्ड आउट गरे। लगत्तै अर्को ओभरमा आयरल्याण्डका ओपनर तथा कप्तान एन्डी बालबर्नी पनि अभिनाश बोहोराको बलमा व्यक्तिगत १९ रनमा बोल्ड भए, यतिबेला आयरल्याण्ड तीन विकेट गुमाएर ३१ रनको अवस्थामा थियो।
तीन विकेट गएपछि पूरै दबाबमा आएको आयरल्याण्डले ६ ओभरको पावर प्लेमा मात्र ३५ रन जोड्न सक्यो।
सिरिजमा दीपेन्द्रको अलराउन्ड प्रदर्शन
दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गरे। चार ओभर बलिङ गरेका उनले मात्र २१ रन खर्चेर चार विकेट नै लिएका थिए। १० औ ओभरमा एक विकेट लिएका उनले १२ औं ओभरमा थप दुई विकेट लिए। यसपछि १६ औं ओभरको अन्तिम बलमा दिपेन्द्रले आफ्नै बलमा उच्च स्तरको फ्लाइङ क्याच लिँदै आयरल्याण्डका टकरलाई आउट गरे। यतिखेर आयरल्याण्डले मात्र ९९ रनमा सात विकेट गुमाइसकेको थियो।
बलिङ, ब्याटिङ र फिल्डिङमा पनि उच्च फर्ममा रहेका दीपेन्द्रले यो सिरिजमा नेपालबाट थ्रीडी खेलाडीको भूमिका निभाइरहेका छन्। नेपालले खेल हारे पनि उनी प्लेयर अफ दी म्याच घोषित भए। यो सिरिजमा १४२ रनसहित उच्च रन स्कोरको सूचीमा पनि उनी पहिलो स्थानमा छन्।
सन्दीपको रेकर्ड
रल्याण्डका लागि सर्वाधिक २८ रन जोडेका डोक्रेललाई आउट गर्दै नेपालका कप्तान सन्दीप लामिछानेले यो खेलमा नयाँ कीर्तिमान बनाए। यो विकेटसँगै उनी टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। उनले २९ खेलमा ५० विकेट लिएका हुन्।
टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा ५० विकेट पूरा गर्ने विश्वकै तेस्रो खेलाडीको रेकर्ड पनि उनले बनाएका छन्। यो सूचीमा २६ खेलमा ५० विकेट लिएका श्रीलंकाका बलर अजन्था मेण्डिस पहिलो र आयरल्याण्डका मार्क आदिर दोस्रो स्थानमा छन्। आदिरले २८ खेलमा ५० विकेट लिएका थिए।
आजको खेलमा बलिङतर्फ अभिनाश बोहोराले दुई विकेट लिएका थिए। इनिङको अन्तिम बलमा रन आउट भएपछि आयरल्याण्ड २० ओभरमा मात्र १ सय २७ रनमा अलआउट भएको थियो। नेपालले अनुशासित बलिङ गर्दै एक रन पनि एक्स्ट्रा दिएको थिएन।
टस जित्नासाथ फिल्डिङ
लगातार तेस्रो खेलमा सन्दीपले टस जिते। तर, तीनवटै खेलमा नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गर्यो। विश्वकप छनोटको तयारीस्वरूप खेलिएको खेलमा नेपालले पहिले ब्याटिङ गरेर आफ्नो रन जोड्ने क्षमता भने परीक्षण गर्न चाहेन।
तर, अन्तिम खेलसम्म पनि नेपालले ब्याटिङ अर्डरमा भने परीक्षण गरिराख्यो। तीन खेलमा दुई जितपछि चार अंकसहित रनरेटका आधारमा यूएईले सिरिज जितेको छ। आयरल्यान्ड दोस्रो र ओमान तेस्रो स्थानमा रहे। आफ्नै गल्तीका कारण नेपाल सिरिजको पुछारमा रह्यो।

Facebook Comment
Comment