काठमाडौं। हेटौँडा उपमहानगरपालिका–६ चित्रेपानीमा नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानको भवन निर्माण सुस्त गतिमा भइरहेको छ। निर्माण अवधि सकिए पनि हालसम्म ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ।
औद्योगिक क्षेत्रलाई आवश्यक पर्ने प्राविधिक जनशक्ति स्वदेशमा नै उत्पादन गर्ने उद्देश्यले उक्त भवन निर्माण सुरु गरिएको हो। नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवद्वारा २०६६ सालमा गरिएको भारत भ्रमणका अवसरमा नेपाल र भारतबीच भारत सरकारको अनुदानमा उक्त भवन निर्माण गर्न सम्झौता भएको हो।
भवन निर्माण गर्न भारत सरकारले ४८ करोड ४८ लाख भारतीय रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको थियो। भारतीय निर्माण कम्पनी टेलिकम्युनिकेसनले चित्रेपानीमा साढे १७ हेक्टर क्षेत्रफलमा भवन निर्माण गर्न २०७६ भदौ १४ गते सम्झौता गरेको थियो। दुई वर्षभित्र काम सम्पन्न गर्ने सम्झौता भएपनि कोरोना महामारीका कारण भारतीय निर्माण कम्पनीले नेपाली कम्पनी शान्ति आरोग्यलाई भवन निर्माणको जिम्मा दिएको थियो।
नेपाली निर्माण कम्पनीले २३ ब्लकमा काम गरिरहेको र अधिकांश भवनको पहिलो र दोस्रो तलाको काम पूरा भएको जनाएको छ। भारतीय कम्पनीबाट रकम भुक्तानीमा ढिलाइ हुँदा निर्माण कार्य प्रभावित भएको शान्ति आरोग्य निर्माण कम्पनीका प्रबन्धक अभिषेक बरालले जानकारी दिए। आगामी जुलाई महिनासम्मका लागि निर्माणको म्याद थप गरिएको उनले बताए।
Facebook Comment
Comment