काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तीन वटै तहको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन्।
पार्टीले तय गरेको स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई शुक्रबार भर्चुअली शुभारम्भ गर्दै अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनलाई बत्ती निभाएर वा मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न पनि चेतावनी दिए।
आफ्नो पार्टीले निर्वाचनबाट कसैलाई पनि भाग्न नदिने अध्यक्ष ओलीको भनाइ थियो। देश, जनता, पार्टी र आन्दोलनविरुद्ध षडयन्त्र गरेर पार्टी विभाजन गर्नेहरूको भ्रममा नपरी पार्टीमा फर्किन पनि स्थानीय तहका जनप्रतिनिधिहरूलाई आह्वान गरे।
अध्यक्ष ओलीले आफ्नो पार्टीबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिहरूले जनताको पक्षमा असाधारण काम गरेको दाबीसमेत गरे। उनले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले कुनै पनि खालको गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताए।
उहाँले भन्नु भयो, ‘आउँदो निर्वाचनमा हामी बहुमत जित्छौं, के गर्छन होला विचराहरू। म भनिदिन चाहन्छु–भाग्ने, उम्कने ठाउँ छ भने खोजे हुन्छ। संघीय र प्रदेशमा पनि हामीले आगामी निर्वाचनमा बहुमत प्राप्त गर्नेछौं। यो गठबन्धन तोडेर होईन, गठबन्धन कायमै राखेर, गठबन्धनसँग लडेर हामी बहुमत प्राप्त गर्छौं भन्नेकुरा म अहिले नै भन्दिन चाहन्छु।
अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई पत्र लेखेर देशमाथि गम्भिर खेलबाड गरेको आरोप पनि लगाए। सभामुख अग्निप्रसाद सापकोटाले अनधिकृत ढंगले संसदमा निर्णयार्थ पेश गरिएको एमसीसी सम्झौता अघि बढन नदिएको भन्दै आपत्ति समेत जनाए।
सभामुख सापकोटाका यस्ता खालका पदीय मर्यादाविपरीत गतिविधिलाई सत्तारुढ गठबन्धनका केही नेताले प्रशंशा गरेकोमा आफूलाई सरम लागेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस्ता गतिविधि हुन नदिन सरकारलाई सचेत गराए।
अध्यक्ष ओलीले चुच्चे नक्सा प्रयोग गर्ने काम सरकार र सत्तारुढ दलहरूले नगरेर देश र मुलुकको भौगोलिक अखण्डतामाथि खेलबाड गरिरहेको आरोप पनि लगाए।
Facebook Comment
Comment