काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ। स्थानीय तह निर्वाचनको तयारी, १६ जिल्लाको जिल्ला अधिवेशन र म्याद गुज्रिएका भ्रातृ तथा शुभेच्छुक संस्थाको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा कार्यसम्पादन समितिमा रहेका नेताहरूसँग राय लिने छन्। यस्तै, नेविसंघ, तरुण दल, महिला संघलगायतका केही भ्रातृ संगठनका अध्यक्ष पार्टी केन्द्रीय समितिमा निर्वाचित भएका कारण उनीहरूको स्थानमा अन्य व्यक्तिलाई जिम्मेवारी दिने विषयमा पनि सभापति देउवाले बैठकमा छलफल गर्ने बताइएको छ।
बैठकअघि बुधबार कार्य सम्पादन समिति बैठकमा पेस गर्ने एजेन्डाका विषयमा छलफल गर्न भन्दै पदाधिकारी बैठक बसेको थियो। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार दिउँसो बसेको बैठकमा स्थानीय तह निर्वाचन, १६ जिल्लाको जिल्ला अधिवेशन र भ्रातृ संस्थालाई पूर्णता दिने’ छलफल भएको जानकारी दिए।
Facebook Comment
Comment