“सभामुखलाई महाभियोग लगाउन एमालेका १०० सांसद स्ट्याण्डबाइ छन्”

सरकारको धारणापछि मात्रै एमसीसीबारे स्पष्ट पार्ने भनाइ

नेपालभ्युज

“सभामुखलाई महाभियोग लगाउन एमालेका १०० सांसद स्ट्याण्डबाइ छन्”

काठमाडौं। नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले सभामुखलाई महाअभियोग ल्याउने परिस्थिति सिर्जना हुनसक्ने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सांसद बस्नेतले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाउने परिस्थिति सिर्जना हुनसक्ने बताएका हुन्। उनले नेकपा एमालेमा १०० जना सांसद महाअभियोग लगाउने कुरामा स्ट्याण्डबाई रहेको भन्दै पार्टीले संख्या पुर्‍याउने पहल गरे सभामुखलाई महाअभियोग लगाउन सकिने टिप्पणी गरे।

उनले बुद्धिजीवीहरूले पनि महाअभियोग लगाएर सेफ ल्याण्डिङ गराउने कुरा राखेको बताए। सांसद बस्नेतले बुधवारबाट सदन शुरु हुने भएको बताउँदै त्यसमा नेकपा एमालेको भूमिका आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई कारबाही नगरे संसदमा विरोध जारी रहने बताए। उनले संसदमा एमसीसीको विषय प्रवेश हुने सूचना पाएको भन्दै सभामुखले व्यवस्थित ढंगले सदन सुचारु नगरे र आफ्नो पार्टीले राखेका माग पूरा नगरे सदनमा एमालेको विरोध स्वाभाविक रहने स्पष्ट पारे।

सांसद बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई लेखेको पत्र राज्य शक्तिको दुरुपयोग भएको बताए। उनले प्रधानमन्त्री देशको शक्तिशाली व्यक्ति भएर पत्र लेख्ने कुरा स्वाभाविक भएको तर पार्टीको अध्यक्षले प्रधानमन्त्रीसँगै हस्ताक्षर गरेर पठाउँदा त्यसले राज्य शक्तिको दुरुपयोग भएको बताए।

सांसद बस्नेतले प्रचण्डले एमसीसीबारे दोहोरो चरित्र देखाएको भन्दै यसले अन्तर्राष्ट्रियस्तरमा नेपालको कूटनीतिक क्षमतामाथि प्रश्न उठेको बताए। उनले प्रधानमन्त्री देउवाले पनि एउटा पार्टीको अध्यक्षलाई आफू सरहको अधिकार दिएर गल्ती गरेको आरोप लगाए। सांसद बस्नेतले राज्य शक्तिको दुरुपयोग गर्नेहरूलाई कानूनि कारबाही गर्नुपर्ने बताए। उनले नेकपा एमाले एमसीसीबारे स्पष्ट रहेको र सरकारको धारणापछि मात्रै पार्टीले आफ्नो धारणा राख्ने बताए।

सांसद बस्नेतले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले एक्लै प्रतिष्पर्धा गर्ने बताए। उनले स्थानीय तहको निर्वाचनमा कतिपय स्थानमा भने स्थानीय आवश्यक्ताका आधारमा तालमेल गर्न सक्ने बताए। सांसद बस्नेतले माधवकुमार नेपाल र प्रचण्डको दोहोरो चरित्रबारे प्रधानमन्त्री पनि सचेत रहन आवश्यक रहेको औंल्याए।

सांसद बस्नेतले माओवादी केन्द्रका केही नेताहरूले कानूनी रूपमा चुनौती दिएर अदालत जाने र चुनाव सार्ने षड्यन्त्रमा लाग्न सक्ने बताए। उनले आफ्नो पार्टीको भविष्य अन्धकार देखेको कारण प्रचण्ड र नेपालले चुनाव सार्ने षड्यन्त्रमा लागेको आरोपसमेत लगाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved