काठमाडौं। अफ्रिकन कप अफ नेसन्स् २०२१ को फाइनलमा इजिप्ट र सेनेगलको भिडन्त भन्दा पनि ठूलो भिडन्त थियो इंग्लिस क्लब लिभरपुलका दुई स्टार स्ट्राइकर मोहमद सलाह र साडियो मानेबिचको भिडन्त।
सवार्धिक सात पटकको अफ्रिकन कप विजेता मोहमद सलाहको कप्तानीमा रहेको इजिप्ट आफ्नो कीर्तिमानलाई आठमा पुर्याउन चाहन्थ्यो। सेनेगल भने इतिहासमा पहिलो अफ्रिकन कपको खोजीमा थियो।
फाइनलमा सातौ मिनेटमा नै पाएको पेनाल्टीलाई सेनेगलका स्टार मानेले खेर फाले। यसअघि पछिल्लो संस्करणमा सन् २०१९ मा फाइनलमा भागेको हारको चोट पनि सेनेगलसँग ताजै थियो। दुई वर्ष अघिको फाइनलमा सेनेगल अल्जेरियासँग १-० ले पराजित भएको थियो।
यदि फाइनल खेल हारेको भए सायद माने सेनेगलका लागि खलनायक साबित हुन्थे। तर टाइ ब्रेकरको अन्तिम पेनाल्टीमा गोल गर्दै माने नायक बने। फाइनलको जितमा निर्णायक पेनाल्टीलाई आत्मविश्वासका साथ प्रहार गर्दै उनले उपाधि पक्का गरेका थिए।
६५ वर्षको अफ्रिकन कपको इतिहासमा सेनेगलको यसअघिको उपलब्धि भनेको सन् २००२ र २०१९ मा उपविजेता बन्नु मात्र थियो।

सन् १९५७ देखि शुरु भएको अफ्रिकन कप अफ नेसन्सको पहिलो पाँच वर्ष सेनेगल फ्रान्सको भाग भएकाले यो उपाधिलाई सेनेगलका जनताले ६० वर्षदेखिको प्रतीक्षाको फल भनेका छन्।
सेनेगललाई इतिहासमा नै पहिलो अफ्रिकन कप अफ नेसन्स्को उपाधि दिलाउन मानेको योगदान ठिक त्यस्तै थियो जतिको गत वर्ष कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई दिलाउन मेस्सीको थियो।
बीबीसीका फुटबल विश्लेषक जर्मेन जेन्स भन्छन्, ‘साडियो मानेले आफ्नो काँधमा बोकेर राष्ट्रलाई अफ्रिकन कपको उपाधि दिलाएका हुन्। यो सेनेगेलको स्वर्णिम पुस्ता हो जसले अफ्रिकन कप जित्न सफल भयो, यो सेनेगलका लागि निकै ठूलो क्षण हो।’
राष्ट्रिय टिमको कप्तान नभए पनि उनले टिमलाई उपाधिसम्म लिड गर्ने काम गरे र सेनेगलले यो उपाधि जित्नुमा उनको व्यक्तिगत प्रदर्शनको भूमिका पनि झन महत्वपूर्ण छ।
जेन्स थप्छन्, ‘तपाई मानेलाई एक लिडरको रूपमा मान्नसक्नु हुन्छ। हामी सबैलाई थाहा छ उनी निकै उच्चकोटिका फुटबलर हुन्, तर खेलाडीको रूपमा पछिल्लो केही वर्षमा भएको उनको विकास अफ्रिकन कपको फाइनलमा स्पष्ट देखियो।’
यो टाइ ब्रेकरबाहेक प्रतियोगतामा कुल तीन गोल गरेका उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए।
तर माने अफ्रिकन फुटबलका मैदानभित्रका मात्रभन्दा पनि मैदान बाहिरका प्रमुख नायक हुन्। मानेको देश सेनेगल अतिगरिब मुलुकको सूचीमा पर्छ। हाल उनी सेनेगलका लागि वास्तविक जीवनका नायक बनिरहेका छन्।
खेल जीवनमा जतिसुकै सफलता पाए पनि उनले आफ्नो धरातल बिर्सिएका छैनन्। उनको जन्म सेनेगलको सानो गाँउ बाम्बेलीमा भएको थियो। बाम्बेली सेनेगलका राजधानी डाकारभन्दा करिब ४०० किलोमिटर टाढा पर्छ।
देश जस्तै उनको गाउँ पनि गरिब छ। उनी पनि गरिब परिवारमा नै जन्मेका थिए। बच्चा बेलमा गरिबीका कारण उनको परिवारमा पनि खानाको अभाव थियो। जसलाई सम्झँदै उनी अहिले अरूलाई सहायता गर्छन्।
पैसा नभएका कारण नै उनलाई परिवारले विद्यालय पठाउन सकेको थिएन। त्यसैले उनी दिनभरि फुटबल खेलेर बस्थे।
उनको गाउँमा अझै पनि आधारभूत पूर्वाधारको पनि अभाव छ। त्यसैले उनी अन्य फुटबल स्टारजस्तो महँगो गाडी र महलका शोख राख्दैनन्। बरु त्यसको सट्टा आफ्नो देश र गाउँको गरिबीलाई जुध्न सहयोग गर्छन्।
स्टार खेलाडी भएर पनि सरल र सहयोगी रहनु नै उनको प्रमुख विशेषता हो। उनी विदेशमा गएर विदा मनाउनभन्दा सामाजिक कार्य गर्न मन पराउँछन्।
उनले यसै वर्ष बाम्बेलीमा ४ लाख ५० हजार पाउण्ड खर्च गरेर अस्पताल बनाउन थालेका छन्। जसले ३४ गाउँका मानिसलाई सेवा दिनेछ। आफू ११ वर्षको हुँदा गाउँमा आधारभूत स्वास्थ्य सेवा नपाएका कारण नै उनको बुबाको निधन भएको थियो। जुन घटनाले उनलाई सानो उमेरम पनि निकै बिझाएको थियो।
यसअघि सन् २०१९ मा गाउँमा विद्यालय बनाउन २ लाख ५० हजार पाउण्ड सहयोग गरेका थिए। योसँगै उनले सेनेगलमा विभिन्न सुपर मार्केट र मस्जिद बनाउन पनि लाखौं डलर सहयोग गरेका छन्।
उनको गाउँमा एक बंगला छ। जहाँ अझै पनि उनका परिवारका ४० सदस्य बस्ने गर्छन्। गाउँमा पानिको दुःख छ। उनको बंगलामा भने इनार छ। त्यसैले उनले आफ्नो घरमा गाउँका सबैले पानी लिन पाउने व्यवस्था गरेका छन्।
बाम्बेलीका बच्चादेखि वृद्धसम्म उनलाई रोलमेडेलको रूपमा हेर्छन्। उनको गाउँका मात्र होइन देशकै आदर्श पुरुष हुन्, जसले धेरै धन कमाएर पनि भौतिक जीवन बिताउनुको साटो समाजसेवालाई प्राथमिकता दिए।
उनी इङल्याण्डमा बस्छन्। फुटबल सिजन ब्रेक भएका बेला अन्य खेलाडी बिदा मनाउन विभिन्न देश घुम्छन्। तर उनी आफ्नै देश र गाउँ जान्छन्, पूर्वाधार विकासमा सहयोग गर्छन्।
उनका बुबा मुस्लिमका गुरु, इमाम थिए। जसले बच्चा बेलमा उनी खेलकुलमा लागेको बढी रुचाउँदैन थिए। यसका बाबजुद पनि उनले फुटबल करिअरलाई रोजे।
तर उनी ११ वर्षको हुँदा बुबाको निधन भयो। यसपछि १५ वर्षको उमेरमा फुटबल सपना पूरा गर्न उनी बाम्बेली छाडेर राजधानी डाकार सरे।
यसपछि डाकारको स्थानीय क्लब जेनेरेसन फुट हुँदै फ्रेन्च क्लब मेन्ज पुगे। यहाँबाट अष्ट्रियन क्लब साल्जबर्ग हुँदै सन् २०१४ मा इंग्लिस प्रिमियर लिग क्लब साउथह्याम्पटन पुगेपछि उनले फर्कनु परेन।
उनले साउथह्याम्पटनबाट खेल्दा नै इंग्लिस प्रिमियर लिगको हालसम्मकै सबैभन्दा छिटो ह्याट्रिक गर्ने रेकर्ड बनाएका छन्।

सन् २०१५ मा एस्टन भिल्लाविरुद्ध खेलमा १७६ सेकेण्डमा नै ह्याट्रिक पूरा गरेका थिए। यसलगतै अर्को वर्ष इंग्लिस जाइन्ट क्लब लिभरपुलले उनलाई टिममा भित्र्यायो।
लिभरपुलले सन् २०१८ र २०१९ मा लगातार दुई वर्ष युरोपियन च्याम्पियनस् लिगको फाइनल खेल्नमा उनको ठूलो योगदान छ, जसमा सन् २०१९ मा लिभरपुलले उपाधि नै जितेको थियो।
सन् २०१९ मा नै उनले इंग्लिस प्रमियर लिगको उच्च गोलकर्ता बन्दै गोल्डेन बुट जितेका थिए। अर्को वर्ष उनकै सहयोगमा लिभरपुल ३० वर्षपछि पहिलो पटक प्रिमियर लिगको उपाधि उचाल्न सफल भएको थियो।
सन् २०१९ को बालोन डी’ओर अवार्डमा चौथो भएका थिए। सन् २०२० को उत्कृष्ट अफ्रिकन फुटबल खेलाडीको उपाधि उनले जितेका थिए।
सन् २०२० मानेलाई ‘न्यू अफ्रिकन’ म्याग्जिनले अफ्रिकाका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा राखेको थियो। अक्टोबर सन् २०२१ मा माने इंग्लिस प्रमियर लिगमा १०० गोल पूरा गर्ने तेस्रो खेलाडी बनेका थिए।
सन् २०१२ मा उनले राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए। सेनेगलको राष्ट्रिय टिमको उच्चगोलकर्ताको सूचीमा ८७ खेलमा २९ गोलसहित उनी नै अग्रस्थानमा छन्।
यसै वर्ष कतारमा हुने विश्वकप २०२२ को अफ्रिकी छनोटमा सेनेगल दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो चरणमा पुगेको छ। अब यो छनोटमा पनि सेनेगेलको भेट अफ्रिकन कपको फाइनलिष्ट इजिप्टसँग नै हुनेछ।
जसमध्ये एक टिम मात्र विश्वकपका लागि छनोट हुनेछ। अर्थात् यो वर्षको विश्वकपमा कि त सलाह हुनेछन् कि त माने।
Facebook Comment
Comment