धनगढी। बझाङको बुगंल नगरपालिकाका किसानलाई जर्सी गाई वितरण गरिएको छ। नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले किसानलाई अनुदानमा जर्सी गाई वितरण गरेको हो। ५ किसानलाई एक/एक वटाका दरले गाई वितरण गरिएको नगरपालिकाले जनाएको छ।
५० प्रतिशत किसान, २५ प्रतिशत कालभैरव कृषि सहकारी संस्थाको र ढुवानि लागत र प्राविधिक सहयोग नगरपालिकाले ब्यहोर्ने गरी जर्सी गाई खरीद गरि ल्याएको थियो।
वडा नम्बर ४ मा दुई, वडा नम्बर ५ मा दुई र वडा नम्बर ७ मा एक गाई दरले गाई वितरण गरिएको नगर प्रमुख धन बहादुर बिष्टले बताए।
‘‘नगरपालिका सबै वडामा पशुपालनका लागि उपयुक्त हावापानी छ। त्यसकारण पालिकालाई दूध तथा दुग्धजन्य परिकारमा आत्मनिर्भर बनाउने लक्ष्यसहित अनुदानमा गाई वितरण गरिएको हो,’’ उनले भने।
रुपन्देहीबाट खरिद गरी नगरपालिकासम्म ल्याएर किसानलाई वितरण गरिएको कालभैरव कृषि सहकारी संस्थाका अध्यक्ष दिपक कुवँरले जानकारी दिए। अहिले वितरण गरिएको केही गाई दुहुनु छन् भने केही ब्याउने बेला भएका छन्।
नगरपालिकामा दूध उत्पादनमा वृद्धी हुने अपेक्षा गरिएको नगरपालिका भेटनरी प्राविधिक लोकेन्द्र बिष्टले बताए। पशु पालनमा सम्भावना नै सम्भावना भएको र उत्पादन भएको दूध नगरपालिकामै खपत हुने उनले बताए।
Facebook Comment
Comment