भर्चुअल माध्यमबाट गरियो गण्डकी प्रदेशसभाको चौथो वार्षिकोत्सव

नेपालभ्युज

भर्चुअल माध्यमबाट गरियो गण्डकी प्रदेशसभाको चौथो वार्षिकोत्सव

पोखरा ।  गण्डकी प्रदेशसभाले आफ्नो चौथो वार्षिकोत्सव भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ। कोरोना महामारीका कारण प्रदेशसभा सचिवालयले वार्षिकोत्सवलाई भर्चुअल माध्यमबाट सम्पन्न गरेको हो।

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गण्डकी प्रदेश नेपालको मध्यभागमा परेको र नेपालको राज्य एकीकरण पनि यहीँबाट सुरु भएको जनाउँदै यहाँ गरिने जुनसुकै निर्णयले समग्र राष्ट्रमा नै महत्वपूर्ण प्रभाव पार्ने बताए। विकासका निम्ति सधैं आकांक्षी हुनुपर्ने उल्लेख गर्दै उनले सङ्घीयताको मर्म र भावनाअनुसार अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। केन्द्रमुखी प्रवृत्ति अझै पनि कायम रहेको जनाउँदै पूर्वप्रधानमन्त्री भट्टराईले प्राप्त अधिकारलाई कार्यान्वयन गरी प्रयोग गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले देशमा तीन तहका सरकार गठनले राज्यले जनतासम्म पुग्ने आधार फराकिलो बनाएको बताउनुभयो। केन्द्रमा मात्र निर्भर हुने अवस्था कम हुँदै गएपछि नागरिकका चाहना पनि बढेको र सरकारप्रतिको आशा तथा भरोसा बढेको उनले बताए। चारवर्षे अवधि महत्वपूर्ण भए पनि अझ धेरै काम गर्न बाँकी रहेको र परिवर्तनका उपलब्धिलाई संस्थागत गर्न सबै दलहरू दलीय स्वार्थबाट माथि उठ्नुपर्नेमा जोड दिए।

प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले प्रदेशलाई सबै किसिमबाट पहिलो प्रदेशका रुपमा स्थापित गर्नुपर्ने बताए। प्रदेशसभा गठनको यस अवधिमा महत्वपूर्ण उपलब्धि हासिल भएको जनाउँदै उहाँले यसको कार्यान्वयनका लागि लाग्नुपर्ने आवश्यकता औँल्याए।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले देश सङ्घीय पद्धतिमा गइसकेपछिका चार वर्षमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो। गण्डकी प्रदेशमा समझदारीपूर्ण तवरबाट नामाकरण, राजधानी जस्ता विषय टुङ्गिएको जनाउँदै उनले पारित ऐन कानुनलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए। प्रदेशमा सत्तापक्ष र प्रतिपक्षबीच समन्वय तथा समझदारीका साथ अघि बढिएको उनले बताए। प्रदेशसभाको बाँकी एक वर्षमा पनि महत्वपूर्ण विधेयक पारित हुने उनले बताए।

संविधानसभा सदस्य विनोद चौधरीले प्रदेशसभा गठनका यस अवधिमा धेरै महत्वपूर्ण उपलब्धि हासिल भएको धारणा रााखे। संविधानसभा सदस्य एवं प्रतिनिधिसभा सदस्य देव गुरुङले सङ्घीयताको मर्मअनुसार जनतालाई अधिकतम सेवा सुविधा दिने गरी लाग्नुपर्नेमा जोड दिए।

संविधानसभा सदस्य डा भीष्म अधिकारीले सङ्घीयताको परीक्षण कालमा रहेको उल्लेख गर्दै यसबीचमा बनेका कानुनको कार्यान्वयनको अवस्था एवं आगामी दिनमा बन्ने कानुनबारे छलफल गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।

संविधानसभा सदस्य अमृता थापाले संविधानको मर्मअनुसार प्रदेशसभा नयाँ संरचनाका रुपमा स्थापित बनेको जनाउँदै सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहको समन्वयात्मक व्यवहार आवश्यक भएकामा जोड दिए।संविधानसभा सदस्य एकनाथ ढकालले परिवर्तनलाई संस्थागत गर्ने क्रममा रहेको उल्लेख गर्दै प्रदेशसभाले गर्ने निर्णय पछिका लागि नजिर हुने हुँदा राम्रा निर्णय गर्न सुझाव दिए।

प्रदेशसभा उपसभामुख सिर्जना शर्माले यसबीचमा प्रदेश सभाबाट विभिन्न महत्वपूर्ण काम सम्पन्न भएको बताए। प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेल र कम्प्युटर अधिकृत रविन्द्र घिमिरेले प्रदेशसभाका गतिविधिबारे जानकारी गराए। प्रदेशसभा सचिवालयले तयार गरेको स्मारिका मुख्यमन्त्री पोखरेल, सभामुख अधिकारी, उपसभामुख शर्माले सामूहिक रुपमा विमोचन गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved