स्थानविशेष कविता

हेटौंडा : दुई कविता

कस्तो चित्तबुुझ्दो कुरा गर्‍यो मेरो साथीले
काठमाडौंबाट हेटौँडा कहाँ देखिन्छ र !

नेपालभ्युज

हेटौंडा : दुई कविता

हो, काठमाडौँबाट हेटौँडा देखिँदैन

-आर.आर. चौलागाईं

मेरो एउटा साथीले
कस्तो मीठो कुरा गर्‍यो
“काठमाडौंबाट हेटौँडा देखिँदैन”
हो, काठमाडौंबाट हेटौँडा देखिँदैन ।

हेटौँडालाई हेर्न खोज्दा
काठमाडौंबाट
चोभारको डाँडोले छेक्छ
दक्षिणकालीको जङ्गलले छेक्छ
अलि यता आएपछि
चिसापानीगढीले छेक्छ
सिमभन्ज्याङको कुहिरोले छेक्छ
महाभारत शृङ्खलाले छेक्छ
कता केले छेक्छ
कता केले छेक्छ
कस्तो चित्तबुुझ्दो कुरा गर्‍यो मेरो साथीले
काठमाडौंबाट हेटौँडाकहाँ देखिन्छ र !

बरु काठमाडौंबाट
अमेरिका देखिन्छ
बेलायत देखिन्छ
जापान देखिन्छ
कोरिया देखिन्छ
मलेसिया देखिन्छ
भारत देखिन्छ
सबभन्दा टड्कारो त
काठमाडौंबाट
अमेरिका देखिन्छ
कस्तो चाखलाग्दो कुरा गर्‍यो मेरो साथीले
काठमाडौंबाट हेटौँडा कहाँ देखिन्छ र !

देख्न खोज्दा पनि हेटौँडामा के नै छ र !
जाबो मजदुरहरूको घन ठटाउने कारखाना
जाबो ड्राइभर, खलासीका थोत्रा ट्रकहरू
जाबो गोली थाप्ने शहीदहरूको प्रतिमा
जाबो कविता लेख्ने कविहरूको जमात
जाबो चेतना फिँजाउने सपूतहरूको गाथा
जाबो सडक थर्काउने योद्घाहरूको कथा
जाबो भविष्यका शेक्सपियर, देवकोटा र पारिजातहरू
जाबो भविष्यका आइन्स्टाइन र म्याडम क्युरीहरू
के नै छ र हेटौँडामा देख्न खोज्दा !
के नै छ र हेटौँडामा हेर्न खोज्दा !
के मेरो साथीले ठीक भनेन र ?
काठमाडौंबाट हेटौँडा कहाँ देखिन्छ र !

०००

हेटौँडा

-गोविन्द नेपाल

राप्तीको स्वच्छतामा
रत्तिभर सन्देह छैन
न त कर्राको कलकलमा
कुनै कलुष छ
बगरै सही-
कुखरेनी कुलकुली बगिरहेछ।

जसको समुन्नतिको कामना
मनकामना गरिरहेकी छिन्
जसको दुःखमा
भैरव डाँडा भावुक बनिरहेछ
जहाँ चकमन्न रातमा
बिजुली बत्तीको टिलपिल-टिलपिल
उज्यालोमा टोलाउँदै
अनेक सपना बुन्छे- सीमभञ्ज्याङ।


कपडा बुन्छ- झुत्रेझाम्रे हुन्छ
सिमेन्ट बनाउँछ- सडकमा निदाउँछ
खेती उब्जाउँछ- अभाव अघाउँछ
बियर घोल्छ- तिर्खा बोल्छ
रङ्गिदैन कुनै दिन
रक्सिदैन कुनै रात।

रातभरि छट्पटी निदाई
झिसमिसेमै दरिद्रता पहिरेर हिँड्छ
कल (कल-झगडा परिरहने) कारखानामा
बन्द (प्रायः बन्द रहने) व्यापारमा।


कहिले बारा-पर्सा झर्छ
कहिले भीमफेदी-पालुङ गर्छ
कहिले मनहरी तर्छ
कहिले धान-मकै भर्छ

यो अलिकति हिडम्बाको अवशेष हो
यो लेखेजति हेटौंडाको परिवेश हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved