उद्योग दर्ता बढ्यो

नेपालभ्युज

उद्योग दर्ता बढ्यो

काठमाडौं। पछिल्लो समय देशमा उद्योग स्थापना हुने क्रम बढेको छ। गत आव २०७७/०७८ को पुस मसान्तसम्मका तुलनामा चालु आवको सोही अवधिमा उद्योग दर्ता हुने क्रम बढेको उद्योग विभागका तथ्यांकले देखाउँछ।

विभागकाअनुसार गत आवको पुस मसान्तसम्म १०३ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए। चालु आवको सोही अवधिमा उद्योग दर्ताको संख्या बढेर १५४ पुगेको छ। विभागका अनुसार हालसम्म आठ हजार ६०८ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका छन्।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४५ ठूला, ५७ मझौला र ५२ साना उद्योग दर्ता भएका छन्। गत आवको सोही अवधिमा १७ ठूला, २१ मझौला र ६५ साना उद्योग दर्ता भएका थिए। हालसम्म एक हजार २५९ ठूला, एक हजार ९६६ मझौला र पाँच हजार ३८३ साना उद्योग दर्ता भएका विभागले जनाएको छ।

लघु उद्यम र घरेलु उद्योगबाहेक १५ करोड रुपैयाँसम्म स्थिर पूँजी भएको उद्योगलाई साना, १५ देखि ५० करोड रुपैयाँसम्म पूँजी भएका उद्योगलाई मझौला र ५० करोड रुपैयाँभन्दा बढी पूँजी भएका उद्योगलाई ठूला उद्योगका रूपमा लिइन्छ। बढीमा २० लाख रुपैयाँसम्म पूँजी भएको उद्योगलाई लघु उद्यम र परम्परागत सीप र प्रविधिमा आधारित उद्योगलाई घरेलु उद्योग भनिन्छ।

उद्योग दर्तासँगै प्रस्तावित लगानीमा पनि वृद्धि भएको छ। गत आवको पुस मसान्तसम्म दर्ता भएका उद्योगमा ७२ अर्ब ६२ करोड रुपैयाँको लगानी प्रस्ताव भएकोमा चालु आवमा सो लगानी बढेर एक खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ। हालसम्म २४ खर्ब ७० अर्ब रुपैयाँको लगानीसहित उद्योग दर्ता भएका विभागको तथ्यांक छ।

उद्योगले दिने रोजगारी पनि झण्डै दोब्बरले बढेको छ। गत आवको समीक्षा अविधमा उद्योग स्थापनाबाट छ हजार २८८ रोजगार भएकामा चालु आवको सोही अवधिमा १३ हजार ७४८ रोजगारी प्रस्तावित भएको विभागले जनाएको छ। हालसम्म दर्ता भएका उद्योगमा छ लाख ४२ हजार ५४३ रोजगारी प्रस्ताव गरिएको छ।

विभागबाट विदेशी लगानीको स्वीकृति लिनेको संख्या पनि बढेको छ। गत आवको पुस मसान्तसम्म १२३ विदेशी लगानी स्वीकृति भएकामा समीक्षा अवधिमा सो संख्या बढेर १२९ पुगेको छ। विभागले हालसम्म पाँच हजार ३६६ विदेशी लगानी स्वीकृत गरेको छ। विदेशी लगानीका ठूला उद्योग ३१९, मझौला ५६६ र साना उद्योग चार हजार ४८१ दर्ता भएका छन्।

समीक्षा अवधिमा विदेशी लगानी २३ अर्ब ४७ करोडबाट बढेर ३० अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। हालसम्म तीन खर्ब ९५ अर्ब ४२ करोड रुपैयाँको विदेशी लगानी प्रस्तावसहितका पाँच हजार ३६६ उद्योग दर्ता भएका विभागले जनाएको छ।

मुलुकमा औद्योगिक वातावरण बन्दै जानु, नीतिगत तथा प्रशासनिक सुधार, लगानीकर्तालाई सेवा सुविधा र सहजीकरण, लगानीका अवरोधलाई सुधार गर्दै लगेसँगै उद्योग स्थापनाका क्रम बढेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved