काठमाडौं। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलगायत विभिन्न भेरियन्टको प्रभाव कायमै रहेकाले सर्वोच्च अदालतको सेवा प्रवाह संकुचन थप १० दिन लम्ब्याएको छ। १८ माघमा बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले २८ माघसम्म अदालतको सेवा प्रवाह संकुचित गर्ने निर्णय गरेको छ।
अदालतमा हुने उपस्थिति तथा भीडभाडलाई व्यवस्थापन गर्न ४ माघमा बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले ५ माघ देखि १७ माघसम्म सेवा संकुचित गर्ने निर्णय गरेको थियो।
उक्त परिस्थितिमा फेरबदल नआएकाले २८ माघसम्म सर्वोच्चले बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवदेन, मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी मुद्दा हेर्ने निर्णय गरेको हो।
साथै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७(६) र १५५ बमोजिमका थुनुवा रहेका व्यक्तिहरूको निवेदन तथा प्रतिवेदन, हेर्दाहेर्दै र निर्णय सुनाउने मिति तोकिएका मुद्दा र नेपाल सरकारको तर्फबाट दर्ता भएका प्रत्यर्थी झिकाउने आदेश नभएका पुनरावेदनको सुनुवाइ गर्ने बैठकले निर्णय गरेको छ।
Facebook Comment
Comment