२५ हजार रुपैयाँ धरौटी बुझाएर छुटे उमाशंकर

नेपालभ्युज

२५ हजार रुपैयाँ धरौटी बुझाएर छुटे उमाशंकर
सर्वोच्च अदालतको आदेश देखाउँदै उमाशंकरका काका रुपनारायण रायभर, साथमा आफन्त अशोक गुप्ता। तस्वीर : राधिका खतिवडा अधिवक्ताको फेसबुक

काठमाडौं । राजस्व चुहावटको आरोप लागेका वीरगन्जका उमा शंकर रायभर २५ हजार रुपैयाँ तिरेर रिहा जेलबाट रिहा भएका छन्।

शुक्रबार न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८(१) बमोजिम २५ हजार रुपैयाँ मात्र नगद वा जेथा धरौट लिई तारेखमा राखी कानून बमोजिम पुर्पक्ष गर्न आदेश दिएको हो। तर उनी पैसा तिर्न नसक्ने भएपछि थुनामुक्त हुन सकेका थिएनन्।

शुक्रबार धरौटी बुझाउने प्रक्रिया नसकेपछि आइतबार २५ हजार धरौटी बुझाएर उनी छुटेका उच्च अदालतका प्रवक्ता नगिन्द्र केशरी पोखरेलले बताए।

सर्लाहीका सरोजकुमार मिश्रले उमाशंकरको नागरिकता र ल्याप्चे दुरुपयोग गरेर काठमाडौंमा ब्लुक्रस ट्रेडर्स र जेएन सप्लायर्स भन्ने कम्पनी खोलेका थिए। मिश्रले विभिन्न कम्पनीहरूबाट १ अर्ब ४ करोड राजश्व ठगी गरेको भन्दै राजश्व अनुसन्धान विभागले १७ जनाविरूद्ध उच्च अदालत पाटनमा मुद्दा चलाएको थियो।

त्यसमध्ये उमाशंकर पनि थिए। उमाशंकरको नाममा रहेका कम्पनीले भने २८ करोड राजश्व ठगेको विभागको अभियोगमा छ।

उमाशंकरले अदालतसमक्ष दिएको बयानमा कक्षा ५ उत्तीर्ण गरेको र आर्थिक अवस्था सामान्य रहेको भन्ने उल्लेख छ।

उमाशंकरका गाउँका छिमेकीले उनलाई काठमाडौंमा बाइक ग्यारेजमा काम लगाइदिने र राम्रो तलब दिने भन्दै काठमाडौंमा ल्याएका थिए। त्यसपछि सरोज मिश्रले नागरिकता लिएर गई फोटोसमेत खिचेर लगेका र विभिन्न कागजमा ल्याप्चे लगाएर लगी उनीहरू सम्पर्कविहीन भएका थिए। त्यसपछि आफू घर फर्किएको उमाशंकरले अदालतमा बयान दिएका थिए।

उमाशंकरबाट राजस्व चुहावटमा प्रत्यक्ष हानि नोक्सानी गर्ने काममा संलग्नता रहेको नदेखिकाले विगोको दाबी अन्य मुख्य प्रतिवादीहरू उपरसमेत रहेको तथा निवेदकको आर्थिक अवस्था पारिवारिक स्थिति र कसुरबाट सृजित परिणाम तथा प्रस्तुत मुद्दाको विषयवस्तु तथ्य र निवेदकको संलग्नताको स्थितिबाट उमाशंकरलाई २५ हजार नगद वा जेथा धरौट माग गर्नु उपयुक्त हुने आदेशमा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved