काठमाडौं। आर्थिक इतिहासका अध्येता कृष्ण पौडेलको पुस्तक ‘विश्व आर्थिक क्रान्ति : सुमेरदेखि सिलिकन भ्यालीसम्म’ सार्वजनिक भएको छ।
मानव जातिका संघर्ष, परिकल्पना र उपलब्धिहरूको विराट अभिलेख समेटेर विश्व आर्थिक इतिहासको सार पुस्तकमा उतारिएको प्रकाशक बुकहिल पब्लिकेसनले जनाएको छ। यस पुस्तकमा ढुङ्गेयुगदेखि विधुतीय चमत्कारसम्मका मानव जातिले हासिल गरेका उन्नति, प्रगति, उपलब्धि र वैभवका अन्तर्कथाहरूसहित मानिसले समना गरेका चुनौती, विपति र असफलताका गाथाहरू समेटिएका छन्।
‘‘यस पुस्तकमा मूलतस् सुमेर सभ्यताको मिर्मिरेदेखि सिलिकन भ्यालीसम्मको सूचनाप्रविधिको क्रान्तिकारी छलाङसम्मका रोमान्चक परिघटनाहरू समावेश गर्ने कोसिस गरेको छु,” पुस्तकबारे लेखक पौडेल भन्छन्, ‘‘साथै युद्ध र प्रतिकूलताका कठिन र निरस विवरण मात्र नभई विजय, शान्ति र सिर्जनाका अभिलेखहरू, धार्मिक-सांस्कृतिक जडताले अन्धकारमय बनेका प्राचीनता एवम् नवीन चेतनाका किरणहरूले प्रकाशमय आधुनिकताका सन्दर्भहरू पनि यस पुस्तकमा छन्।”
म्याग्दीमा जन्मिएर डेनमार्कमा बस्दै आएका कृष्ण पौडेलले त्रिभुवन विश्वविधालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र लुन्ड विश्वविधालय स्वीडेनबाट इकोनोमिक हिस्ट्रीमा स्नातकोत्तर गरेका छन्। ट्रेड पेपर-ब्याकु संस्करणमा प्रकाशन भएको यो पुस्तक बजारमा सीमित कपीहरूमात्रै वितरण हुने प्रकाशकले जनाएको छ।
सात खण्डमा विभाजित २९६ पृष्ठको किताबको मूल्य ५५५ रुपैयाँ राखिएको छ।
Facebook Comment
Comment