आज शहीद दिवस मनाइँदै

जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको आहुति गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आएको छ।

नेपालभ्युज

आज शहीद दिवस मनाइँदै

काठमाडौं। देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्मान गर्दै देशभर आज (आइतबार) शहीद दिवस मनाइँदैछ। कोरोना महामारीले सरकारले २५ जनाभन्दा बढी भेला हुन रोकेकाले शहीद दिवसको लागि आज तय भएका धेरै कार्यक्रम स्थगित भएका छन्। शहीद गेटलगायत केही ठाउँमा सामाजिक दुरी कायम गर्दै मनाइँदैछ।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको आहुति गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाइँदै आएको छ।

वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा शहीद दिवस मनाइएको हो।

निरङ्कुश जहानियाँ राणा शासनविरुद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर शहीदको स्मरणमा विभिन्न गैरसरकारी सङ्घसंस्थाको पहलमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ मनाइँदै आएको छ। यसपटक भने कोरोना महामारीले ‘शहीद सप्ताह’ प्रभावित भयो।

देशका विभिन्न समयमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका शहीदको साहस र त्यागको पनि लेखाजोखा र उच्च मूल्याङ्कन गर्दै माघ १६ लाई शहीद दिवसको रुपमा मनाइएको हो।

विसं १९९७ माघ १० गते निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डाएर हत्या गरिएको थियो ।

यस्तै, सोही बर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो।

दिवसकै सन्दर्भमा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। कोरोनाको तेस्रो भेरियन्ट सक्रिय रहेकाले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यक्रम गर्ने तयारी काठमाडौँ महानगरपालिकाले गरेको छ।

विसं २०६३ अघि शहीद दिवसका दिन राज्यका तर्फबाट शहीदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो। त्यसपछि भने लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ।

शहीदगेटमा पनि विभिन्न सङ्घ संस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन्। पछिल्लो समय नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा शहीदप्रति श्रद्धाञ्जली गर्ने स्थल राखिने घोषणा गरिएको छ। त्यो समेत सञ्चालनमा आउन सकेको छैन।

स्मारकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्च पदस्थले शपथ लिएपछि शहीदलाई श्रद्धाञ्जली अर्पण गर्ने गरी तयारी गरिने जनाइएको छ।

विदेशी पाहुना आउँदा समेत स्वतन्त्रताका लागि जीवन अर्पण गर्ने शहीदको सम्झना स्वरूप पुष्पगुच्छा अर्पण गर्ने स्थल बनाइने जनाइएको छ। शहीदको स्पष्ट परिभाषा नगरी पछिल्लो समय जोसुकैलाई घोषणा गरिँदा शहीदको गरिमा नै घटेको टिप्पणी पनि हुने गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved