युवा छँदा चार्ल्स डिकेन्स

उनी थिए, मार्क्स र टल्सटायका ‘प्यारा’ लेखक

डिकेन्सको साहित्यिक मूल्यवत्ताप्रति महान् विचारक कार्ल मार्क्स पनि जानकारी राख्थे। मार्क्सले मूल्यांकन गर्दै लेखेका छन्, ‘राजनीतिक तथा सामाजिक कटु सत्यको पर्दाफास गर्ने जुन महत्वपूर्ण कार्य भिक्टोरियन कालका डिकेन्सजस्ता उपन्यासकारले गरे, यस्तो कार्य तत्कालीन समयका सबै राजनीतिज्ञ, प्रचारक तथा नैतिकतावादी व्यक्तिहरूले पनि मिलेर गर्न सकेनन्।’

नेपालभ्युज

उनी थिए, मार्क्स र टल्सटायका ‘प्यारा’ लेखक

आफ्ना पात्रहरूलाई कसरी परिचालित गर्नुपर्छ ? कस्तो भावभूमिमा उभ्याउनुपर्छ ? र, कसरी बनाउनुपर्छ शक्तिशाली ? विश्वका अधिकांश दिग्गज रचनाकर्मीले यस्ता तरिकामा अधिक दिमाग चलाउँछन् र त्यसलाई गहन रूपले पछ्याएका समेत हुन्छन्। अझ, चारित्रिक विन्यासमा भाषाको सानदार प्रयोगको अहम् भूमिकालाई कालजयी सिर्जनाकारहरूले नजरअन्दाज गर्ने त कुरै भएन। उपन्यासजस्तो समृद्ध आयाममा त त्यो नभई हुँदैन। उन्नाइसौं शताब्दीका महान् आख्यानकार चार्ल्स डिकेन्स पनि गर्थे त्यस्तै।

सन् १८३६ तिर उनी युवावस्थामा हिँड्दै थिए। मात्र २५ वर्ष। सोही वर्ष प्रकाशित शब्दचित्रहरूको प्रकाशन ‘स्केचेज बाई बाज’ मा डिकेन्सले एउटा यस्ता चरित्रलाई उभ्याए, जुन उनको काकाको हजाम थिए। कपाल काट्दा-काट्दै ती हजाम तत्कालीन विश्व राजनीति र सामाजिक अवस्थाको रौं-रौं केलाउन अग्रसर देखिन्थे र नेपोलियनले कस्तो सैनिक-नीति अपनाउनुपर्थ्यो भनेर सुझावै दिन्थे।

सन् १८३३ मा पहिलो कथा ‘अ डिनर एट पपुलर वाक’ नामक मासिक पत्रिकामा छापिँदा उनी भर्खर झन् कलिलै थिए। युवावस्थामा प्रारम्भिक दिनहरू टेक्दै गरेका। मात्र १९ वर्षका थिए त्यति बेला। लेखन जगत्सँग साइनो गाँस्नुअघि उनी अदालतसम्बन्धी रिपोर्टिङ गर्थे। पछि अदालती रिपोर्टिङ छाडेर राजनीतिक सम्वाददाताका रूपमा काम गर्न थाले। त्यतिबेला उनी लन्डनबाट निस्किने ‘मर्निङ क्रोनिकल’ मा आबद्ध थिए, एक पत्रकारको रूपमा। राजनीतिक सम्वाददाताको जिम्मेवारी लिएपछि भने उनको अनुभवको धरातल धेरै फैलियो। त्यही समय बेलायतको चुनावी दौरानका क्रम उनले पूरै देश घुम्ने अवसर पनि पाए।

सन् १८१२ मा इङ्ल्याण्डको पोर्टसी, ल्यान्डपोर्टमा जन्मिएका डिकेन्स शुरुका दिनमा शब्दचित्रका कुशल सर्जक थिए। एउटा नोटबुकमा उनले केही व्यक्तिका शब्दचित्र र रेखाचित्रसमेत कोरेका थिए। पछि तिनै शब्दचित्रलाई पत्रिकामा प्रकाशित गराए, जुन धेरै मानिसको रुचिभित्र समेटिए।

‘द पिकविक पेपर्स’ यो थियो- डिकेन्सको प्रथम औपन्यासिक कृति। तर शुरुमा पुस्तकाकारमा निस्किएन, यो उपन्यास। एउटा मासिक पत्रिकामा धारावाहिक रूपमा छापिँदै गयो। डिकेन्सको लेखन-खुबी पहिल्याइसकेका एक जना प्रकाशकले उनकै कोठामा आएर भने, ‘मसँग एउटा कथावस्तु छ, यसमाथि उपन्यास लेखिदेऊ।’ जुन प्रकाशक उनको ‘स्केचेज बाई बाज’ को लेखनशैलीदेखि धेरै नै प्रभावित भएका थिए।

प्रकाशकले सेमोर नामक कलाकारको रेखाचित्रमा आधारित गैरपेशेवर खेलाडीहरू आबद्ध निमरोद क्लबबारे लेख्नेगरी तोकेरै कथावस्तु दिएका थिए। तर डिकेन्सले खेलाडीहरूको क्लबलाई केही सन्की व्यक्तिहरूको क्लबका रूपमा उभ्याए र व्यंग्यात्मक उपन्यास ‘द पिकविक पेपर्स’ लेखे।

यो उपन्यासलाई चर्चाको लागि कुनै समस्या परेन। उपन्यासका नायक पिकविक र उनका टोलीको सन्की क्रियाकलापमाथि लेखिएको सो उपन्यासलाई पाठकले हृदयभित्रै सजाए, मन पराए अचाक्ली नै। किनभने, उपन्यासमा प्रचूर हास्यतत्व थियो। पाठक-पंक्तिमा पिकविकको सादगीपूर्ण र चञ्चल स्वभाव स्थापित हुन कुनै समय नै लागेन। पहिला पत्रिकामा छापिएपछि पछि भने सो उपन्यास पुस्तकको रूपमा आयो।

‘स्केचेज बाई बाज’ को प्रकाशनपछि उनी साहित्यिक जगत्मा परिपक्व लेखकका रूपमा परिचित भइसकेका थिए। सो उपन्यास धारावाहिक रूपमा ‘इभनिङ क्रोनिकल’ मा पनि प्रकाशित हुन थाल्यो। त्यति बेला पत्रिकाको सम्पादक थिए- जर्ज हागार्थ। सम्पादकको नजरमा प्रिय बन्दै गएका डिकेन्स बिस्तारै जर्जको घरमा पनि जान थाले।

सम्पादक जर्जका तीन वटी छोरी थिइन्। उनको घरमा आउजाउ हुन थालेपछि डिकेन्सले उनका कान्छी छोरीलाई हृदयमा सजाउन थाले। तर डिकेन्समा प्रथम प्रेमानुभूति सल्बलाउन थालेको त्यो समय जर्जका कान्छी छोरीको उमेर विवाहयोग्य भने भइसकेको थिएन। त्यसपछि डिकेन्सले जर्जका जेठी छोरी क्याथरिनसँग विवाह गरे, १८३६ मा।

सन् १८३६ मा उनले सम्पादनको काम पनि थाले। उनले सम्पादनको जिम्मेवारी स्वीकारेको पत्रिका थियो, ‘बेन्टलिज मिसलेनी’। तर उनको सक्रिय पत्रकारिता तीन वर्षभन्दा बढी टिेकन। मालिकसँग गम्भीर मतभेद भएपछि उनले सो पत्रिका छाडे। सम्पादनको साथै उनी उपन्यास लेखनमा पनि तल्लीन थिए, त्यति बेला। १८३७ देखि १८३९ सम्म एउटा मासिक पत्रिकामा उनको उपन्यास ‘ओलिभर ट्विस्ट’ छापिन थाल्यो, शृंखलाबद्ध रूपमा। उक्त उपन्यासले त उनको प्रसिद्धि लन्डनको सेरोफेरो नाघेर सिंगो युरोप र अमेरिकामा समेत पनि फैलियो।

धारावाहिक रूपमा लेखिने उपन्यासले पाठकलाई कौतूहल जगाउन सक्नुपर्थ्यो। नभए किन रुचाउँथे, अर्को शृंखलामा रमाउन ? ‘ओलिभर ट्विस्ट’ मा पनि उनले यही तरिका अपनाए। एक पटक ओलिभर केही डकैतहरूको कब्जामा पर्छन् र उनलाई गोली हानिन्छ। के भयो होला, ओलिभरको ? उनी मरे वा जीवितै छन् ? अनेक खुल्दुली र प्रश्न उभिए। पाठकलाई नै सास्ती। ओलिभरको अवस्था जान्न पाठकले अर्को शृंखलासम्म कुर्नैपर्थ्यो। विकल्प थिएनन्, अरू केही।

धारावाहिक रूपमा लेख्दाको फाइदा के हुन्थ्यो भने, आगामी शृंखलाको कथावस्तुलाई कसरी अघि बढाउने भन्नेमा पाठकहरूको राय र सुझावसमेत लिन पाउँथे उनले। यसले उपन्यासलाई झन् प्रखर र समृद्ध बनाउन सघाउँथ्यो।

यो उपन्यासमा डिकेन्सले भिक्टोरियन कालको आर्थिक संकटबारे धेरै सघन रूपमा बयान गरेका छन्। आर्थिक संकटले निम्त्याउने गरिबी र अपराधको राम्रो चित्रण छ। यो उपन्यास पढेर लन्डनका अभिजात र मध्यम वर्ग निकै छट्पटाए। कारण थियो- ‘कहिल्यै सूर्य नअस्ताउने’ साम्राज्यको भित्री कथा-व्यथा। अन्ततः सरकारले लन्डनको ज्याकब आयल्याण्ड नामक फोहोर बस्तीलाई तुरुन्तै सफाइ गर्नमा तदारुकता देखायोे। किनभने, उपन्यास त्यही बस्तीको कथामा उभिएको थियो।

डिकेन्सको सबैभन्दा लोकप्रिय उपन्यास हो- ‘अ क्रिसमस क्यारोल’। यो उपन्यासलाई हरेक वर्ष क्रिसमसको बेला नयाँ रूपमा प्रस्तुत गरिँदै आएको छ। अनेक अंग्रेजी उपन्यासकारले यो उपन्यासको पात्रलाई उभ्याएर आफ्नै ढंगले कथावस्तु अघि बढाउन रुचि देखाउँदै आएका छन्। यही उपन्यासमा आधारित धेरै फिल्म पनि बनेका छन्।

जब क्रिसमसको बेला आउँछ, ‘म्यारी क्रिसमस’ भन्ने शब्दको धेरै प्रयोग हुन्छ। यो शब्दको शुरुआत डिकेन्सले गरेका थिए, ‘ओलिभर ट्विस्ट’ मा पहिलो पटक। यही उपन्यासबाट जन्मिएको थियो, अर्को शब्द- स्क्रुज (कञ्जुस) पनि।

क्रमशः उनका उपन्यासहरू ‘निकोलस निकलबी’, ‘द ओल्ड क्युरिओसिटी शप’, ‘श्बारनवी रुज : अ टेल अफ रोयटस अफ एट्टी’ पनि धारावाहिक रूपमा छापिन थाले। डिकेन्सले दुई दर्जनजति उपन्यास लेखे। जसमा ‘अ क्रिसमस क्यारोल’, ‘अ टेल अफ टु सिटिज’, ‘हार्ड टाइम्स’, ‘ओलिवर ट्विस्ट’, ‘द व्याटल अफ लाइफ’, ‘द चाइम्स’, ‘द पिकविक पेपर्स’ आदि।

विश्व साम्राज्यको धुरी बेलायतमा तत्कालीन समय मजदुरहरू दयनीय आर्थिक अवस्था झेल्न बाध्य थिए। डिकेन्स भने गरिब मजदुरहरूको पक्ष लिन्थे, साहित्य र पत्रकारिता दुवै सिर्जनाको धरालतमा। उनले मजदुरहरूको फोहोर बस्तीको सफाइ हुनुपर्छ भन्ने आवाज पनि उठाए। उनले उपन्यास ‘हार्ड टाइम्स’ मा अत्याचारले पिल्सिएका गरिबहरूको मार्मिक चित्रण उतारे।

यात्राका औधी सौखिन थिए, उनी। युवाकालमा उनले धेरै यात्रा गरे। उनको लेखनलाई यात्राले अनगिन्ती ऊर्जा दिन्थ्यो। सन् १९४२ मा उनले पहिलो पटक अमेरिकाको यात्रा गर्दा उनले अमेरिकामा व्याप्त दास प्रथाको विरोधसमेत गरेका थिए। अमेरिकाको यात्रालाई उनले उतारे, ‘ट्राभललग अमेरिकन नोट्स फर जनरल सर्कुलेसन’ मा। त्यही समय नै उनले लेखेका ‘मार्टिन चुजलविट’ नामक उपन्यासमा दास प्रथाको मार्मिक कथालाई उतारे।

अमेरिका जाँदा उनले तत्कालीन राष्ट्रपति जोन टाइलरलाई भेटे। अमेरिकामा रहँदा उनले अनेक प्रवचन दिए। सन् १९४२ मा पार्क थिएटरमा उनको सम्मानमा एक विशेष कार्यक्रम पनि आयोजना गरिएको थियो।

डिकेन्सको साहित्यिक मूल्यवत्ताप्रति महान् विचारक कार्ल मार्क्स पनि जानकारी राख्थे। मार्क्सले मूल्यांकन गर्दै लेखेका छन्, ‘राजनीतिक तथा सामाजिक कटु सत्यको पर्दाफास गर्ने जुन महत्वपूर्ण कार्य भिक्टोरियन कालका डिकेन्सजस्ता उपन्यासकारले गरे, यस्तो कार्य तत्कालीन समयका सबै राजनीतिज्ञ, प्रचारक तथा नैतिकतावादी व्यक्तिहरूले पनि मिलेर गर्न सकेनन्।’

बीसौं शताब्दीका महान् साहित्यकार लियो टल्सटायले पनि डिकेन्सको लेखनको तारिफ गरेका छन्। टल्सटायले लेखेका छन्, ‘डिकेन्स पाठकलाई उनीप्रति प्रेमभाव दर्साउनका लागि बाध्य तुल्याउँथे। किनभने आफ्नो साहित्यिक रचनामा उनले अगणित प्रेमलाई स्थान दिएका थिए।’

युवावस्थामा नै बेजोड औपन्यासिक कृति विश्व साहित्यलाई सुम्पेका डिकेन्स आजसम्म पनि लोकप्रिय छन्। सन् २००३ मा बीबीसीले विश्वका सर्वोत्कृष्ट एक सय कृतिको सर्वेक्षण गरेको थियो, जसमा डिकेन्सको पाँच वटा उपन्यास परेका थिए। डिकेन्सको जीवनीलाई लिएर दुइटा टेलिभिजन धारावाहिकसमेत बनेका छन् भने ‘द ग्रेट इनइमिटेबल मिस्टर डिकेन्स’ नामक टेलिभिजन फिल्म पनि। फिल्ममा डिकेन्सको भूमिका प्रख्यात अभिनेता एन्थोनी हपकिन्सले निर्वाह गरेका थिए।

सन्दर्भ-सामग्रीः
१. ‘अहा, जिन्दगी’ को मे २०१२ को अंक।
२. ब्रिटानिया डट कमलगायत।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved