काठमाडौं। राजस्व चुहावटको आरोप लागेका वीरगन्जका उमा शंकर रायभरलाई २५ हजार रुपैयाँ नगद वा जेथा धरौटमा छाड्न सर्वाेच्च अदालतले आदेश दिएको छ।
शुक्रबार न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८(१) बमोजिम २५ हजार रुपैयाँ मात्र नगद वा जेथा धरौट लिई तारेखमा राखी कानून बमोजिम पुर्पक्ष गर्न आदेश दिएको हो।
उच्च अदालत पाटनको ७५ लाख धरौट माग गर्ने १९ फागुन २०७७ को आदेश मुनासिव देखिन नआएकोले बदर गरी दिएको आदेशमा उल्लेख छ। ब्लुक्रस ट्रेडर्स र जेएन सप्लायर्स प्रालि नामको व्यापारिक संस्था रायभरको नाममा दर्ता रहे पनि सो व्यापारिक कारोबार गर्ने संस्थाको सम्पूर्ण बैंकिङ कारोबार चेक भुक्तानलगायत खाता प्रयोग गर्ने व्यक्ति सरोज कुमार मिश्र रहेको भन्ने खुल्न आएको आदेशमा उल्लेख छ।
कम्पनीले १ अर्ब ४ करोड राजस्व चुहावट गरेको भन्दै रायभरलगायत १७ जनाविरुद्ध उच्च अदालतमा मुद्दा चलाइएको थियो। रायभरले अदालतसमक्ष दिएको बयानमा कक्षा ५ उत्तीर्ण गरेको र आर्थिक अवस्था सामान्य रहेको भन्ने उल्लेख छ।
साथै गाउँका छिमेकी उमा शंकर सहनीले काठमाडौंमा बाइक ग्यारेजमा काम लगाइदिने र राम्रो तलब दिने भन्दै रायभरलाई काठमाडौंमा ल्याएका थिए। त्यसपछि सरोज मिश्रले नागरिकता लिएर गई फोटो समेत खिचेर लगेका र विभिन्न कागजमा ल्याप्चे लगाएर लगी निजहरू सम्पर्कविहीन भएकोले रायभर घर फर्किएको बयान दिएका थिए।
रायभरबाट राजस्व चुहावटमा प्रत्यक्ष हानि नोक्सानी गर्ने काममा संलग्नता रहेको नदेखिकाले विगोको दाबी अन्य मुख्य प्रतिवादीहरू उपरसमेत रहेको तथा निवेदकको आर्थिक अवस्था पारिवारिक स्थिति र कसुरबाट सृजित परिणाम तथा प्रस्तुत मुद्दाको विषयवस्तु तथ्य र निवेदकको संलग्नताको स्थितिबाट रायभरलाई २५ हजार नगद वा जेथा धरौट माग गर्नु उपयुक्त हुने आदेशमा उल्लेख छ।
को हुन् उमाशंकर ?
बारा जिल्ला निवासी सुकुमबासी परिवारमा जन्मिएका उमाशंकरमाथि २८ करोड रुपैयाँ राजस्व छलीको आरोपमा जेल बसिरहेका छन्। बाराको परवानीपुर गाउँपालिका-१, गौनहरी टोलको सुकुमबासी परिवारमा जन्मेका उनले उच्च अदालतको आदेशबमोजिम ७५ लाख रुपैयाँ धरौटी तिर्न सकेका भए कैदी जीवनबाट मुक्त हुन्थे।
मुलुककै आर्थिक राजधानीको रूपमा चिनिने वीरगन्जदेखि ३ किलोमिटर पूर्व बाराको प्रसौनी चोकदेखि करिब ४ किलोमिटर उत्तरतर्फ सडक छेउमै करिब ५० घरधुरीको सुकुमबासी परिवारहरुको बस्ती रहेको टोल हो, गौनहरी। त्यही टोलमा १२ धुर ऐलानी जग्गामा खपडाले बनेको कच्ची घरमा हुर्केका हुन्, उमाशंकर। सानैमा आमा गुमाएका उमाशंकरको घरमा बिरामी बुबा, दाजु–भाउजू, श्रीमती र सन्तान छन्।
जागिर पाइने आशमा साथीलाई आफ्नो नागरिकता दिएका उनी त्यहीँबाट फसेका थिए।
Facebook Comment
Comment