कोरोना संक्रमणको हटस्पट काठमाडौं, जोरबिजोरले घटेन संक्रमण दर

निकै संक्रामक मानिएको ‘ओमोक्रन’ फैलिएसँगै सवारी साधनमा काठमाडौं उपत्यका जोर बिजोर प्रणाली लागू गरिए पनि संक्रमण दर घटेको छैन। जसकारण काठमाडौं उपत्यका कोरोना भाइरस (कोभिड–१९) संक्रमणको हटस्पटबाट तल झर्न सकेको छैन।

नेपालभ्युज

कोरोना संक्रमणको हटस्पट काठमाडौं, जोरबिजोरले घटेन संक्रमण दर

काठमाडौं। कोभिड १९ को नयाँ भेरियन्ट ‘ओमोक्रन’ फैलिएसँगै काठमाडौं उपत्यका फेरि भाइरसको ‘हटस्पट’ बन्दै गएको छ। निकै संक्रामक मानिएको ‘ओमोक्रन’ फैलिएसँगै सवारी साधनमा काठमाडौं उपत्यका जोर बिजोर प्रणाली लागू गरिए पनि संक्रमण दर घटेको छैन।
जस कारण काठमाडौं उपत्यका कोरोना भाइरस (कोभिड–१९) संक्रमणको हटस्पटबाट तल झर्न सकेको छैन। हाल देशभरमा ९० हजार ५७६ सक्रिय संक्रमित छन्। यी संक्रमितमध्ये तिहाइभन्दा बढी काठमाडौं उपत्यकाका मात्रै छन्।

देशभर संक्रमण फैलिएसँगै सबैभन्दा बढी प्रभावित काठमाडौं उपत्यका बनेको हो। संक्रमण बढेसँगै उपत्यकाका अस्पतालहरू भरिन थालेका छन्। यद्यपि, अधिकांश संक्रमित होम आइसोलेसनमै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पुसको अन्तिम सातादेखि उपत्यकामा संक्रमितको संख्या बढ्न थालेको थियो। माघको पहिलो साता सम्म कोरोनाको ग्राफ अझै उकालो लागेको हो।

९० हजार संक्रमितमध्ये ८८ हजार ६४२ जना होम आइसोलेसनमा रहेका छन्। १ हजार ९३४ जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये २५७ जना आइसियु र ४९ जना भेन्टिलेटरमा उपचाररत छन्। अधिकांश काठमाडौंमै उपचाररत रहेका हुन्।

बिहीबार ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि हुँदा काठमाडौं उपत्यकामा मात्रै ३ हजार १४३ जनामा संक्रमित छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २,४०२, ललितपुरमा ५२१ र भक्तपुरमा २२० जनामा कोरोना संक्रमण देखिएको हो। बिहीबार निधन भएका १५ मध्ये अधिकांश काठमाडौकै रहेकाले मन्त्रालयले जनाएको छ।

जनघनत्व बढी भएको ठाउँमा जनस्वास्थ्यको मापदण्ड पालनामा बेवास्ता हुँदा संक्रमण तीव्र रुपमा फैलिएको विज्ञहरू बताउँछन्। कोरोनाको सम्भावित तेस्रो लहरले काठमाडौं उपत्यका कोरोनाको ‘हटस्पट’ बन्दै गएको संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनको विश्लेषण छ। उनी भन्छन्, ‘‘पहिलो लहरमा संक्रमणको हटस्पट वीरगन्ज थियो। दोस्रो चरणमा बाँकेको नेपालगन्ज बन्यो। तर अहिले तेस्रो लहरमा काठमाडौं उपत्यका संक्रमणको ‘हटस्पट’ बन्दै गएको देखिन्छ।’’

पछिल्लो समय राजनीतिक दलका ठुला नेताहरूलाई नै संक्रमण देखिनुले पनि राजनीतिक दलको सभा सम्मेलनमै संक्रमण फैलिएको डा. पुन बताउँछन्।
चिसो मौसमका कारण रुघाखोकी जस्ता लक्षण देखिएको भनेर परीक्षण नगर्दा पनि संक्रमण भित्रभित्रै फैलन सक्ने विज्ञको तर्क छ। डा. पुन भन्छन्, ‘‘मौसम परिवर्तन हुँदा देखा पर्ने जस्ता लक्षण ओमिक्रोनले गराउँदै आएको देखिन्छ। यस कारण सामान्य रुघा र ज्वरो आएपनि मानिसहरूले परीक्षण गराएका देखिँदैनन्। जसले भित्रभित्र संक्रमण फैलिएर संक्रमण दर बढेको हुन सक्नेछ।’’

पछिल्लो समय संक्रमण बढेपछि अन्य ठाउँको तुलनामा काठमाडौं उपत्यकामा परीक्षण गराउनेहरू भने बढेका छन्। परीक्षण बढी भएपछि संक्रमण बढी देखिनु स्वाभाविक पनि रहेको बताइएको छ।

काठमाडौं उपत्यका फेरि भाइरसको ‘हटस्पट’ बन्दै गएपछि सवारी साधनमा उपत्यका जोर बिजोर प्रणाली लागू गरिएको छ। यस्तै, सार्वजनिक स्थल र सार्वजनिक निकायमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गरिएको छ। यद्यपी जोरबिजोर प्रणालीको पूर्ण प्रभाव पर्न भने अझै एक साता लाग्ने बताइन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved