काठमाडौं। चीनको वुहानबाट सन् २०१९ डिसेम्बरबाट फैलिएको कोरोना भाइरसले अहिले विश्वभर आफ्नो स्वरूप बदल्दै फैलिरहेको छ। कोरोनाको उत्पत्ति भएको चीन यसले अहिले यसको जोखिमलाई रोक्न सफल भएको छ। चीनले कोरोना नियन्त्रण गर्नका लागि गरेको मुख्यगरी तीनवटा यस्ता छन्:
सोर्स अफ ट्रान्समिसन रोड
जुन श्रोतबाट संक्रमण फैलियो त्यसलाई रोक्न उनीहरू लागे। त्यतिबेलाको अल्फा र बिटा भेरियन्ट आउँदा उनीहरूले सर्प र चमेरोको श्रोतहरू भत्काए। जति पनि सीफुड मार्केटहरू थिए, ती पुर्णरुपमा सील गराए। उनीहरूले त्यति बेला अल्फा र बिटा भेरियन्टको स्रोत सर्प र चमेरोलाई मानेका कारण उनीहरूले ती चमेरो र सर्प खान र पाल्न पनि बन्द गराए। यसरी पूर्णरुपमा संक्रमणको मुहानलाई बन्द गर्न चिनियाँ वैज्ञानिकहरू सफल भए।
डिसइन्फेक्टेड
संक्रमण फैलिन नदिनका लागि उनीहरूले हरेक क्षेत्रलाई कीटाणुरहित (डिसइन्फेक्टेड) बनाउनमा जोड दिए।
त्यहाँका पार्क, भवनहरू, सडक, घर, बसपार्क, विमानस्थल जति पनि मानिसहरू आवतजावत गर्ने ठाउँ छन् ती सबै डिसइन्फ्याक्ट गरियो। त्यसले भाइरसलाई फैलिन नदिन सबैभन्दा ठूलो काम गर्यो।
परीक्षण र उपचार
घर–घरमा गएर पीसीआर, एन्टिजेन गरे। वुहानमा दुई करोड जति नागरिक होलान् प्रायः सबैको ६० दिन भित्रमा पीसीआर र एन्टिजेन परीक्षण गरे। सबैभन्दा बढी जोखिम भएको र संक्रमण सुरुमा देखिएका ठाउँका सबै नागरिकलाई क्वारेनटिनमा राखियो। संक्रमण फैलिएको क्षेत्रमा पूर्ण रुपमा आवतजावत बन्द गरियो।
सामान्य रुघा खोकीदेखि ज्वरो आउने सबै बिरामीलाई अस्पताल लैजाने काम भयो। त्यही ३ महिनाको बीचमा उनीहरूले १० हजार बिरामी अट्ने आइसियु र भेन्टिलेटरसहितको छुट्टै अस्पताल बनाए।
त्यसपछि सबै कोरोनाका बिरामीहरूलाई एकै ठाउँमा त्यहाँ सारियो। कोरोनाका बिरामीको उपचार एउटै अस्पतालबाट गर्न थाले यसरी नै संक्रमण रोक्ने कोशेढुंगा साबित भयो।
परीक्षणको दायरालाई बढाएसँगै उपचारको दायरा पनि फराकिलो बन्दै गयो। प्लाज्माबाट हुन्छ कि, रेम्डिसिविरबाट हुन्छ, वा कुन कुन विधिबाट उपचार हुन्छ भनेर अनुसन्धान गर्दै प्रयोगमा ल्याउँदै गए। जति पनि एन्टिभाइरल ड्रग्सहरू छन् त्यो प्रयोगमा ल्याए।
संक्रमण भइसकेका नागरिकहरूलाई पुनः संक्रमण हुन्छ कि हुँदैन भनेर कम्तीमा २१ दिन होम आइसोलेसनमै राखियो। पुनः उनीहरूको पनि परीक्षण गरियो। अस्पतालमा राखिएका जति पनि बिरामी भेन्टिलेटर आइसियुमा गए ती सबैको सिटिस्क्यान गरियो।
ब्लडमार्करमा के–के कुराहरू परिवर्तन भएका छन्। फोक्सोमा खराबी भयो कि भएन ? भयो भने कति प्रतिशत भयो ? ती बिरामीहरूलाई पछि दम, निमोनिया वा फोक्सोसँग सम्बन्धित रोगको संक्रमण भयो कि भएन भनेर निरन्तर परीक्षण गरिरहे। त्यो क्रम ६ महिनासम्म चल्यो।
रोकथामका लागि त्यहाँ मेट्रो, बस स्टेसन, विमानस्थलदेखि जति पनि वुहान भित्रिने र त्यहाँबाट बाहिर जाने यातायात थिए ती सबै पुर्णरुपमा बन्द गरियो। वुहानमा संक्रमण शून्य नभएसम्म कुनै पनि यातायातका साधन चलेनन्। नागरिकहरू पनि आफैँ अनुशासित भएर घरभित्रै बसे। नागरिकहरूलाई आवश्यक पर्ने खाद्य सामाग्रीदेखि औषधि उपचारहरू व्यवस्था गरियो।
स्वास्थ्यकर्मीहरू तयारी अवस्थामा थिए। नागरिकलाई आवश्यक परेको खण्डमा सङ्क्रमणरहित बनाएर सवारीहरू तयारी अवस्थामा राखिएको थियो। जसले गर्दा एउटा नागरिक अर्को ठाउँमा जानलाई दुई हप्तासम्म क्वारेनटिन अथवा होम आइसोलेसनमा राख्न जसरी सरकारले कडाइका साथ नियम बनायो उस्तै कडाइका साथ कार्यान्वयन पनि गर्यो। त्यही कारण चीनमा पूर्ण नियन्त्रणमा आएको हो।
चीनले गरेका प्रयासहरूलाई नेपालले मात्रै होइन विश्वले नै सिक्न सक्छ। नेपाल जस्तो देशमा स्मार्ट लकडाउन, जोरबिजोर प्रणाली जस्ता कुनै पनि लकडाउन सम्भावना छैन।
हामी चिनिया नागरिक जस्तो कडा नियममा बस्न सक्दैनौँ। हामी जबसम्म अस्पताल पुगेर आफ्नै परिवारको मृत्यु भएन भने हामीलाई जोखिमको महसुस नै हुँदैन। मेरो घरमा परिवारको मान्छे मर्यो भने मात्रै यो कोरोना भाइरसले मान्छेको मृत्यु हुन्छ भन्ने महसुस हुन्छ।
अब सामान्य रुघाखोकी लागेर परिवारको कोही पनि अस्पताल गएको छैन भने योचाहिँ डब्लुएचओ वा मेडिकल माफियाले फैल्याएको हल्ला भन्ने लाग्छ। नागरिकहरूको बुझाइको स्तर एकदमै कमजोर छ।
नागरिकहरूमा शिक्षा तथा जनस्वास्थ्यको मापदण्डको विषयमा र भाइरसप्रति जुन खालको सोचाइ तल्लो तहसम्म गयो, त्यसको परिणाम अहिले पनि कतिपय मान्छे भाइरस हो भन्ने मान्न तयार छैनन्।
लक्षण नदेखिएका नागरिकहरू अहिले पनि घर बाहिर गएर संक्रमण फैल्याउने क्रम जारी छ। यस्तो देशमा लकडाउन गरेर, जोर बिजोर प्रणाली लागु गरेर काम छैन। जोर बिजोरकै केसमा पनि नेपालमा अहिले गरेको कुरा गलत छ। किनभने, काठमाडौंमा दिनमा हजार वटा बसहरू गुड्छन्। जोर बिजोर लगाउँदा दिनमा ५ सय गुड्लान्। तर नागरिक दिनमा निस्कने उति नै हो।
हजार वटा बसमा हिँड्ने नागरिक ५ सय वटा बसमा हिँडे भने के हुन्छ ? हिजो बस खुल्ला थियो। अहिले भरिभराउ हुने भयो। टेम्पु, माइक्रोहरू भरिभराउ भए। यसले संक्रमणदर घटाउने होइन, झनै बढाउँछ। त्यसकारण यो जोरबिजोर प्रणाली पनि तत्काल खारेज हुनुपर्छ। बसहरूको संख्या घटाउने होइन, बढाउनुपर्छ।
नेपालभ्यूजकर्मी समृद्धा केसीसँगको कुराकानीमा आधारित
Facebook Comment
Comment