राष्ट्रपतिसँग देउवाले भने, “स्थानीय निर्वाचनबारे गठबन्धनसँग छलफल गरेर निर्णय लिन्छु”

नेपालभ्युज

राष्ट्रपतिसँग देउवाले भने, “स्थानीय निर्वाचनबारे गठबन्धनसँग छलफल गरेर निर्णय लिन्छु”

काठमाडौं । राष्ट्रिपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच करीब एक घण्टा भेटवार्ता भएको छ। स्थानीय तहको निर्वाचनको विषयमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच कुराकानी भएको छ।

बुधबार भएको राष्ट्रियसभाको निर्वाचनमा नेकपा एमालेले १९ सिटमा एक सिट मात्रै ल्याएको भोलिपल्ट राष्ट्रिपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा राष्ट्रिपति निवास पुगेका थिए। भेटका क्रममा राष्ट्रपति भण्डारीले समयमै स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका राष्ट्रपति भण्डारीका सूचनाविद् टीका ढकालले जनाएका छन्।

“राष्ट्रपति भण्डारीले संविधानमा तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गर्दा उपयुक्त हुने सुझाव प्रधानमन्त्री देउवालाई दिनुभएको छ,” राष्ट्रिपति भण्डारीका सूचनाविद् ढकालले भने। स्थानीय तहको निर्वाचनको मिति सार्दा समस्या आउन सक्ने अवगत गराउँदै राष्ट्रपति भण्डारीले समयमा नै निर्वाचन गर्दा उपयुक्त हुने बताएकी छन्।

राष्ट्रपति भण्डारीको सुझावमा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनका साझेदार दलका नेताहरूसँग यस विषयमा छलफल गर्ने बताए। “यस विषयमा गठबन्धन दलका नेताहरूसँग छलफल गरेर निर्णय लिन्छु,” प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई दिएको जवाफ उद्धृत गर्दै ढाकालले भने, “सरकारले संविधानलाई नै आधार मानेर अघि बढ्छ।”

यसअघि तीन तहको भएको स्थानीय तहको निर्वाचनको अन्तिम मिति कुनलाई मान्ने भन्ने विषयमा सत्ता साझेदार र प्रतिपक्ष दलबीच मत भिन्नता देखिएको छ। सत्ता साझेदार दलले २ असोज २०७४ मा भएको निर्वाचनलाई आधार मान्नुपर्ने बताउँदै गर्दा प्रतिपक्ष दल एमालेले भने ३१ वैशाखलाई आधार मान्नुपर्ने बताएको छ।

अघिल्लो स्थानीय तहको निर्वाचन ३१ वैशाख, १४ असार र २ असोजमा गरि तीन चरणमा भएको थियो। संविधानले कार्यकाल सकिएको ६ महीनाभित्र स्थानीय तहका पदाधिकारीको निर्वाचन गर्न सकिने बताएको सत्ताघटक दलको दलिल छ भने, प्रमुख प्रतिपक्ष दलले स्थानीय तह निर्वाचन कानूनलाई टेक्दै वैशाख–जेठमा नै निर्वाचन हुनुपर्ने बताएका छन्।

यसै विषयमा सत्ताघटकले आफू पक्षीय कानून व्यवसायीसँग परामर्श गर्दा संविधानसँग बाझिएको कानून संशोधन गर्न सरकार पक्षलाई सुझाव आएको छ। सत्ताघटक दलले संविधानसँग बाझिएको कानून संशोधन गर्ने विषयमा छलफल भएको बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved