बालकुमारीको मूर्ति खोज्न पाँच सदस्यीय अनुसन्धान टोली गठन

नेपालभ्युज

बालकुमारीको मूर्ति खोज्न पाँच सदस्यीय अनुसन्धान टोली गठन

ललितपुर ।  ललितपुर महानगरपालिका–२७ सुनाकोठीमा अवस्थित बालकुमारी मन्दिरबाट आइतबारदेखि हराइरहेको मूर्ति खोज्न पाँच सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय ललितपुर कार्यालयमा आज भएको छलफलमा प्रहरी नायब निरीक्षक दीपक भारतीको संयोजकत्वमा सो अनुसन्धान टोली गठन गरिएको प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्धविक्रम शाहले जानकारी दिए। उनले भने, “हामीले प्राविधिकसहित अनुसन्धानका लागि टोली गठन गरेर खोजी सुरु गरिसकेको छौँ।”

ललितपुर क्षेत्र नं १ प्रदेशसभाका सदस्य राजकाजी महर्जनले कल ट्रेसिङलगायत सम्पूर्ण अत्याधुनिक प्रविधि प्रयोग गरेर अनुसन्धानलाई चुस्त र प्रभावकारी बनाउनुपर्ने बताए। उनले भने, “हामीले राज्यको सम्पूर्ण संयन्त्र प्रयोग गरेर जसरी भए पनि मूर्ति खोज्नुनैपर्छ।” वडाध्यक्ष बाबुराजा महर्जनले सो मूर्ति हराउँदा सुनाकोठीवासीको मुटु छियाछिया भइरहेको गुनासो गर्दै खोजीका लागि सहयोग गर्न आफू तत्पर रहेको बताए।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अनुसन्धानलाई चुस्त बनाउन केन्द्रीय सुरक्षा संयन्त्रसमेत परिचालन भएको बताए। उनले भने, “सुरक्षा संयन्त्रयसमा संवेदनशी भएर लागेको हुँदा यहाँका स्थानीयवासीका साथै प्रदेश सरकारले पनि धार्मिक तथा ऐतिहासिक अनि सांस्कृतिक धरोहर आसपास क्षेत्रमा सिसिटिभी आदि जडान गरेर थप सुरक्षा बढाउनुपर्ने देखिएको छ।”

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आफ्नो तर्फबाट मूर्ति खोजीका लागि सबै सहयोग गर्न तयार भएको बताए। प्रशासन कार्यालयमा भएको उक्त छलफलमा मन्दिरका गुठियारका साथै सुनाकोठीवासीको समेत उपस्थिति थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved