प्रिय कथा

वरिपरि

वरिपरि

(रचनागर्भ– पहिलो पल्ट वि.सं. २०६९ सालमा प्रकाशित यो कथा कुनै स्वैरकाल्पनिक कथा होइन। मैले जे भोगें जे देखेँ त्यसैलाई जस्ताको तस्तै अक्षरमा उतारेकी हुँ, थोरै कथात्मक बनाएर। यो कथामात्रको लागि लेखेकी होइन। ता कि मभन्दा पछि आउने बहिनीहरूलाई यस्तो पनि हुन्छ है यो क्षेत्रमा पनि भनेर थाहा होस् भन्नाको लागि लेखेकी हुँ– वरिपरि। एकदमै रिस उठेर आवेगमा लेखेकी कथा हो। साहित्यभित्र यस्ता चरित्रका लेखक, पत्रकार र सम्पादकहरू पनि हुन्छन् भनेर देखाइदिनको लागि लेखेकी थिएँ। मलाई यो कथा मन पर्नुको कारण मैले जे हो त्यो लेख्न सकेँ। नराम्रो गर्न सक्छन् मलाई भनेर चिन्ता नगरी लेखेँ। कथा प्रकाशित भएपछि उक्त पात्रहरूमध्ये एउटा पात्रको धम्कीसम्म आएको थियो। डराइनँ। हुन त डराउनु पर्ने कारण पनि थिएन। मेरो केही गल्ती थिएन, म किन डराउनु ? नराम्रो भने लागेको थियो। मेरो कथा लेखनको यात्रामा यो कथा अविस्मणीय कथा हो। यो कथा ‘गरिमा’ को नारी विशेषाङ्क (असार २०६९) मा प्रकाशित भएको थियो।)

‘हलो’
‘भन्नु न, सुन्दै छु।’
‘मोबाइल त खुबै बिजी थियो नि ! कोसँग के गफ हो ?’
‘जोसँग जे गफ पनि हुनसक्छ।’
‘मायाप्रीतिका गफ होलान्, होइन के ? यो रातको समय, तपाईंको कामुक आवाज सुन्न लाइनबद्ध छन् कति कति …’
‘कवि महोदय, यस्ता कुराबाट माथि उठ्नुहोस्। कुरा गर्नलाई अरू पनि प्रशस्त विषय छन् यस ब्रह्माण्डमा।’

मोबाइल डिस्कनेक्ट भयो। नेपाल टेलिकम न पर्‍यो।
००
‘प्रशस्त विषय’ आफैंले बोलेको कुराले झन् पीडामा बढोत्तरी भयो मेरो।
‘अरू पनि प्रशस्त विषय छन्, यस्तो दुनियाँले लेखिसकेको कुरा पनि के लेख्या होला।’
दिउँसोको कुरा हो यो। स्थापित साहित्यिक मासिक पत्रिकाका लागि ‘कथा’ दिन उक्त पत्रिकाको अफिस गएकी थिएँ।

सम्पादक : तपाईंले यस्तो रद्दी कथा लेख्नु होला भन्ने सोचेकै थिइनँ मैले।
म : मेरो यो कथालाई तपाईंले रद्दी भन्नु होला भन्ने मैले पनि कल्पना गरेकी थिइनँ।
सम्पादक : पहिलेकै कथालाई तल–माथि गरेर ल्याउनु भएछ।
सम्पादक महोदयको कुरा शतप्रतिशत सही थियो। मैले केही दिन पहिले इमेल गरेको कथालाई नै केही लाइन तल–माथि गरेर ल्याएकी थिएँ।
सम्पादक : तपाईंलाई मैले यो भएन अर्को कथा लेख्नुस् भनेको थिएँ, तपाईं राम्रो लेख्ने मान्छे हुनुहुन्छ भनेर। तीन–चार दिनअघि नै भनेको थिएँ। तपाईंले मेरो कुरालाई मतलब नै गर्नुभएन।

म : सबै कथा आधाआधी मात्रै छन्। पूरा गरेकै छैन। त्यसैले यही ल्याएँ।
मैले यसो भने पनि मेरो मनले भन्दै थियो– मलाई दुई–चार दिनमै कथा लेख्न आउँदैन। यो कथा त मैले तीन महिना लगाएर लेखेकी। दर्शन र मनोविज्ञान पोखेकी थिएँ।
मलाई थाहा छ मेरो अगाडि भएको सम्पादक महोदयलाई कस्तो कथा मन पर्छ ? यौन कथा। हुन त कुन सम्पादकलाई मन नपर्ला र, युवतीले लेखेको यौन कथा !
सम्पादक : ठीकै छ, नराम्रै भए पनि यसपालिलाई राखिदिन्छु।
ओहो, नराम्रो भई–भई पनि किन राखिदिनु पर्‍यो होला ? म बुझ्दिनँ ? मैले भनिनँ पनि राख्नुपर्दैन भनेर।
सम्पादक : सधैँ उही उस्तै कुरा के लेखिरहेको होला ? यौनकथा लेख्नुपर्‍यो के पहिलेको जस्तै।

सम्पादक महोदय भयङ्कर रिसाउनुभएको थियो मदेखि। मलाई पनि भयङ्कर ननिको लागेको थियो। उहाँलाई मन पर्ने कथा लेख्न सकिनँ मैले। सम्पादकको कक्षबाट मलिन अनुहार लिएर निस्किएँ म। भनूँ, मुटु चसक्क दुखाएर फर्किएँ म। बाटोमा चिनेका एक–दुई जनाले त सोधे पनि–
सृजाजी, तपाईंलाई के भयो ?
निरुपा तिमीलाई सन्चो छैन कि क्या हो ?
यी प्रश्न गर्नेहरूसँग बोलेर जवाफ दिइनँ। बस्, मुस्कुराइदिएँ। बदलामा उनीहरू पनि मुस्कुराएर बाटो लागे। म बेलैमा घर आइपुगँे। मुमा पनि छक्क पर्नुभो। सधैँ घाम डुबेपछि घर छिर्ने छोरी दिउँसै आएकी थिई। म कोहीसँग पनि नबोली आफ्नो कोठामा गएँ।
बत्ती थिएन कम्प्युटरमा लेखूँ भने। कपी र पेन्सिल लिएर यौनकथा लेख्न बसेँ।

कथारम्भ
म घरकी एक्ली छोरी। मेरो दाइ पनि घरको एक्लो छोरा। दाइ र मेरो स्वभाव अलिकति पनि मेल खादैन। दाइ पैसालाई सर्वस्व ठान्नुहुन्छ। म नामलाई। त्यसैले त दाइ बैंकर, म साहित्यकार।
हाम्रो घर काठमाडौं बाहिर हो। चितवन। म र दाइ काठमाडौं बस्छौं। बस्छौं होइन, बस्थ्यौं। दाइको सरुवा पोखरा भयो एक वर्षअघि। म दाइसँग गइनँ। मलाई नाम कमाउनु छ। भने नि चर्चित बन्नु छ। केन्द्रमा भएको मान्छे बाहिर किन गइरहन्थेँ ? बुबामुमा र दाइले नगएकामा आपत्ति नजनाएका पनि होइनन्।
‘तँ एक्लै बस्न सक्दिनस्।’
यसो भनेपछि झन् एक्लै बसेर देखाइदिने रहर भयो। मसँगैका कलेजका साथीहरू एक्लैएक्लै त बसेका छन्। के म चाहिँ सक्दिनँ ? मेरोे परिवारको केही जोड चलेन।
अन्तत: म एक्लै बसेँ।

एक्लै बस्न थालेपछि पनि मैले कसैलाई ‘एक्लै बस्छु’ भनिनँ। कारण एक्लै बस्छु भन्दा हेप्छन् भन्ने मेरो मानसिकता। मेराबारे सोधखोज गर्नेहरूलाई सीधासीधा झुटो बोलिदिन्थेँ।
‘म दाइसँग बस्छु।’
शुरुका केही महिनासम्म झुट बोलेँ। पछि झुट बोल्न छाडेँ। सजिलैसँग भनिदिन्थे– पहिले दाइसँग बस्थेँ। अहिले एक्लै बस्छु। थाहा छैन, एक वर्षअघि सँगै बसेको दाइलाई म किन जोडिरहन्छु ?

मेरो चिनजानका सबैलाई बिस्तारै बिस्तारै थाहा भो– म एक्लै बस्छु। त्यसपछिका साँझ अझ भनूँ रातहरूमा मेरो मोबाइल बिजी हुन थाल्यो। नामी नामी लेखक–साहित्यकारहरू मेरो आवाज सुन्न पालो पर्खेर फोन गर्थे। भर्खरकी फुच्ची लेखक महान् र वरिष्ठ लेखकहरूसँग गफ गर्न पाउँदा मख्ख ! मख्खाइ धेरै दिन टिकाइनँ मैले।
रातमा आत्मीय भएर प्रेमिकाजस्तै ठानेर कुरा गर्ने लेखकहरू जमघट र साहित्यिक कार्यक्रममा भेट्दा नचिनेझंै पो गर्छन् बा ! यस्ता असत्तीहरूसँग पनि किन मस्कीमस्की गफ गरे हुलाँ ? एकपल्ट धिक्कारेँ आपैmलाई र तिनीहरूलाई।

राति १० बजेपछि मोबाइल साइलेन्टमा राखेर निदाउनपट्टि लागेँ। बिहान उठ्दा १८-१९ मिस्ड कल हुन्थे। त्यो हेरेर म मुस्कुराउँथेँ। ठीक्क पर्‍यो भन्थँे। फोन रिसिभ गर्न छोडेपछि पहिले मोबाइलमा मात्र बोल्नेहरू कार्यक्रममा भेट्दा बोल्न थाले।

‘किन मोबाइल उठाउनुहुन्न नि ?’
‘म भुसुक्कै निदाउँछु थाहै पाउँदिनँ। फेरि बिहान तपाईं जस्तो मान्छेलाई के डिस्टर्ब गर्नु भनेर कलब्याक गर्दिनँ।’
यी त भए राति फोन गर्ने साहित्यकारहरूको संक्षिप्त वर्णन। अब म प्रत्यक्ष भेटेकाहरूमध्ये केहीको कुरा गर्छु।
‘सृजाजी, तपाईंको लेखाइ असाध्यै मन पर्छ। तपाईंको लेखाइ मन परेर नै म तपाईंसँग सङ्गत गर्न लालायित भएको हुँ।’
‘धन्यवाद। म लेखक हुनुअघि एक सामान्य मान्छे हुँ। मलाई लेखक भन्दा एक मान्छेको रुपमा व्यवहार गर्नुभो भने मलाई रमाइलो लाग्छ।’
‘होइन होइन, सामान्य मान्छेसँग सङ्गत गर्ने हो भने त बाटोभरि प्रशस्त भेटिन्छन्। तपाईं जे भन्नुस् म त तपाईंलाई लेखककै रुपमा हेर्छु।’
यसो भन्दा मलाई खुसी पटक्कै लाग्दैन। र पनि म ‘ए हो’ भनिदिन्छु।
म लेखक भएकाले मसँग सङ्गत गर्न चाहने लेखक पुरूषहरूमध्ये दुई जनाको कथा वर्णन गर्छु।

पहिलो
शिवपुरी राष्ट्रिय निकुञ्जभित्र म र अर्को एक लेखक। हामी मोबाइलमा प्रशस्त गफ गथ्र्यौं। मेसेज गथ्र्यौं। एक हिसाबले अन्तरङ्ग साथी बनेका थियाँै। उनी आफूले लेखेको कविता मेसेज गर्थे। म कवितालाई कविताकै रुपमा बुझ्थेँ। उनी त त्यसलाई प्रेमपत्रकै हिसाबले प्रेषित गर्दा रहेछन्। पछि चाल पाएँ। हामी बाटो छेउमै थियौं। अलि घुमाउरो जस्तोमा। हाम्रो अघिबाट एक जोडी हात समाउँदै तल खोल्साबाट उठेर गयो। तिनीहरूलाई देखाउँदै भने उनले, ‘कहिले मलाई सृजाले प्रेम गर्ली र त्यो झ्याङभित्र जाने हो ?’ अहो ! म त छक्क परेँ कवि महोदयको कुराले। कस्तो आशा ? प्रेम ? श्रद्धा गरौंला एक कवि भएको नाताले। भेट भएको मान्छे माया पनि आफैं लागिहाल्छ। तर त्यसरी झाडीभित्र जाने प्रेम म गर्नु सकूँला ? पचास नाघेको कविसँग ?
यो त कुनै अवस्थामा पनि सम्भव थिएन। मैले त एउटै क्षेत्रका हामी। हाम्रो कुरा पनि मिल्ने भएर पो…।
उनले त कत्रो भ्रम पालेका रहेछन्। हो, म उनीसँग साँझमा पशुपतिमा आरती हेर्न गएकी छु। दिनभर पार्कमा गफ गरेर पनि बिताएकी छु। यसो के मैले प्रेमी ठानेर गरेँ त ? अनुहार बिगार्दै भनेँ, ‘के तपाईं मलाई प्रेमिका ठान्नुहुन्छ ?’
‘हो त, नभए के हो त तिमी मेरो ?’
‘जेसुकै होस्। तर तपाईं मेरो प्रेमी होइन।’
‘प्रेमी होइन भने तिमी किन मसँग घुम्छौ ? सानोसानो कुरा पनि सुनाउँछौ मलाई ?’
‘लौ मैले त त्यस्तो कहिल्यै ठानिनँ। सँगै घुम्दैमा प्रेमी हुने ? फेरि आफ्नो गफ पे्रमीलाई मात्र सुनाउँछन् भन्ने मलाई थाहा थिएन। मेरो आफ्नै प्रेमी छ। तपाईं हुनै सक्नुहुन्न।’
मैले यथार्थ भनिदिएँ। उनी उठेर हिँडे। म उनकै पछिपछि हिँडेँ। न त मैले पर्खनु भनेँ। न त उनले फर्केर हेरे। त्यसै क्षणबाट समाप्त भो हाम्रो मित्रता।

दोस्रो
उनी नेपालका ‘टपटेन’ मध्येका एक साहित्यकार हुन्। साहित्यको हरक्षेत्रमा सक्रिय छन्।
‘तिमी कति राम्री ? आफ्नो लेखाइ जत्तिकै सुन्दर छ्यौ तिमी।’
मलाई थाहा छ– मेरो अनुहारभन्दा मेरो लेखाइ अलि राम्रै छ। म नराम्री होइन, तर प्रशंसा नै गर्नुपर्ने राम्री पनि होइन।
यहीँबाट शुरु भएको हो उनको र मेरो प्रत्यक्ष परिचय। त्यसको केही दिनपछि नै उनले बोल्ने संवादमा रसरङ्ग भित्रियो। धेरैले रूचाएका वरिष्ठ लेखकको मुखबाट जो सुन्दै थिएँ। यति ठुलोे साहित्यकारको गफ सुन्न पाउनु अहोभाग्य सम्झेर।
कहिल्यै फोन काटिनँ। न त केही बोलें। चुपचाप सुनिरहेँ बीचबीचमा ‘हजुर हजुर’ भन्दै। कति ठाउँमा कुनै कुनै शब्दले त मलाई पनि आनन्द नै दिएको थियो क्यारे। म भने त्यस्ता शब्द उच्चारण गर्न सक्दिनथेँ। सायद ती शब्द उच्चारण गर्न नै जान्दिनँ म।
एक दिन अर्थात् उनको जन्मदिनको दिन मेसेज आयो।
‘मलाई तिमीसँग एउटा इतिहास रच्नु थियो। त्यो सौभाग्य तिमीले गुमायौ। मेरो जन्मदिनको शुभकामना पनि दिँदिनौ ? म त यतिखेर नगरकोटमा। मीनासँग। मीनाको अँगालोमा छु। रहर त थियो– तिम्रो अँगालोमा बेरिऊँ। तिम्रो दुर्भाग्य, तिमीले मलाई चिनिनौ।’
हत्तपत्त ‘ह्याप्पी बर्थ डे टु यु’ सेन्ड गरिदिएँ।
यसको ठीक दुई हप्तापछि फोन आयो।
‘म तिम्रो कोठामा आउँछु। एक रातका लागि बास देऊ न।’
‘यति राति हुँदैन। नौ बजिसक्यो। मकहाँ एउटा कोठा मात्र छ।’
‘के भो त ? मन मिले एउटै पलङमा सुतौँला।’
‘अहो ! सँगै सुत्ने कुरा पनि यति सजिलै हुन्छ र ? हुँदैन।’
‘तिम्रो इच्छाविपरीत केही गर्दिनँ म।’
‘नगर्नु होला अलग कुरा। कोठा बाहिरकाले के भन्छन् ?’
‘कसले के भन्छ भनेर तिमी सधैंँ कुण्ठा बोकेर बस्छ्यौ त ?’
‘लौ, कसले भन्छ म कुण्ठित छु।’
‘यो तिमीले भन्नै पर्दैन बुझ्छु। कहिलेसम्म मार्छौ आफ्नो रहर ? के तिमीमा तरङ्ग उठ्दैन ? कि तिमी ढुङ्गा–माटो हौ ?’
‘म मान्छे हुँ। अर्थोक होइन।’
‘यत्रो हो जाँठी ! तिमी आडम्बरमा बाँचेकी छौ। तिम्रो लेखाइ र तिमीबीच आकाश–जमिनको फरक छ।’
‘होस् न त, मलाई मतलब छैन।’
‘एक्काइसौं शताब्दीकी भएर पनि चितवनकी अठारौं शताब्दीकी थरूनी जस्ती छौ तिमी। एकदमै सङ्कुचित विचार।’
‘त्यही सही।’
‘सोच तिम्रो साह्रै दरिद्र रहेछ। एक रात पनि बास दिन्न भन्छौ मलाई। यस्तीलाई पनि के लेखक भन्नु ?’
हाँसो रोक्न सक्दिनँ म। हाँसेरै भनिदिन्छु, ‘कस्ले भन्यो र मलाई लेखक भन्नुस् भनेर ? नभन्नुस्। दरिद्र सोचकी पनि भइराखूँ म नै। तपाईं बास्सै नपाएको र घरै नभएको मान्छे हो र !’
‘म तिमीसँग इन्जोय गर्न चाहन्छु के, कस्तो नबुझेको होला।’
म बोल्न छोडेँ। उनी बोलिरहे। बोल्ने नै के मैले ?
‘तिमी सधैँ मलाई नापेर–जोखेर राखिरहन्छौ।’
केही बेरको मौनतापछि एकाएक आवेगमा बोले।
‘तिमी त यति ठूली भइछौ कि तिमी जत्तिकै राम्रो लेख्ने कोही छैन भन्ठानेकी छौ हैन तिमीले। यस्तो भ्रममा कहिलेसम्म बाँच्छौ ? मान्छु तिम्रो विचार–भावना परिपक्क छ। तर व्यावहारिक हुनुपर्‍यो। सधैंँ आर्दशले नथिच आफूलाई।’
यति भनिरहँदा पनि मैले प्रतिउत्तर दिइनँ। किन केही नभनेकी होला मैले ? मेरो प्रेमी छ। ऊ नभए पनि मेरा हातका औंला पनि सद्दे छन्।
‘कस्ती खालकी केटी रै’छे। म बोलिरा’छु। केही बोल्दिन। तिम्रो भनाइ के हो ? कि मैले गलत बोलेको भए भन। हैन भने के चुप लाग्छ्यौ ? म पागल हो र एकोहोरो बोल्नलाई ?’
‘म सुनिराछु भन्नु न।’
‘के बोलूँ ? के भनिरहनु ? तिमी सुनिरहन्छौ मात्र। तिम्रो डिमान्ड खोइ ? दोहोरो संवाद भए पो मजा आउँछ। कसैलाई चित्त बुझोस्–नबुझोस्, बोलिरहनू म ? के लाग्छ तिमीलाई ? के तिमी संसारकी सबैभन्दा बुद्धिमान् केटी हो ? तिमी जस्तो ‘डल’ केटी त मैले कोही पनि देखेकै छैन। म फोन राख्छु।’
‘हुन्छ।’
प्रत्यक्ष चिनजानको शुरुशुरुमा भन्नुहुन्थ्यो, ‘तिमी राम्रो लेख्छ्यौ, अझ राम्रो लेख्नू। शुभकामना छ मेरो।’ उनको यो कुरा सुन्दा आफूलाई उनकी नातिनीको दर्जामा महसुस गरेकी थिएँ मैले।

अहो ! यस्ता कति धेरै भ्रम होलान् अझ अगाडि पनि। कहिले आत्तिन्छु, कहिले रमाइलो पनि लाग्छ। आजसम्म त मैले यसलाई सकारात्मक रुपले ग्रहण गरेकी छु। यौन र यौवना कुन क्षेत्रका पुरूषलाई मन नपर्ला र ! वरिष्ठ प्रौढ साहित्यकारहरूले केवल आग्रह न गरेका हुन्। सायद, साहित्यिक धर्म होला यो।
००
कथा लेखेर सकेँ मैले। अब सोही सम्पादक महोदयलाई देखाउनु छ र सोध्नु छ, ‘यौनकथा बन्यो ?’
यो कथा बीचमा पुग्दा कविजीको फोन आएको थियो। कथा नआएको रन्कोमा तिनी परे। मोबाइल डिस्कनेक्ट भएपछि मेसेज गरेका थिए।
‘म त मायाप्रेम र यौनभन्दा माथि उठ्न जान्दिनँ। तपाईं पुग्नुस् माथि।’
‘ठीकै छ, तपाईंको साटो पनि म पुगिदिउँला माथि !’ रिप्लाइ गर्दिएँ।

(कला– रमेश श्रेष्ठ)


Comment

One thought on “वरिपरि

  1. Gajab ko katha !! Bhane pachi sahityek chetrako youn pipasu ko katha !!! Youn katha kaslai man naparla tar yeti sasakta katha ta jhan man naparaune ko hola ???

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved