क्वारेन्टाइन जिन्दगी (कविता)

क्वारेन्टाइन जिन्दगी (कविता)

छैन,
झ्यालसम्मै आएर
मलाई ब्युँझाउने हिमाल छैन।
छैन,
दैलोसम्मै आएर
मलाई बोलाउने लालुपाते,सुनाखरी छैन।
छैन,
गोधुली साँझसम्मै
मसँग खेल्ने भँगेरो, गौंथली छैन ।

मेरो प्रिय गाउँ !
मेरो प्रिय मान्छे !

यतिबेला म
सहरको एक कुनामा
सिमेन्टभित्र कैद छु।

भुइँ सिमेन्टको,
आकास सिमेन्टको,
भित्ता सिमेन्टको,
दृश्यको क्षेत्रफल सबै सिमेन्टको।

धन्न !
म सिमेन्ट भइसकेको छुइनँ
यत्तिमै खुशी छु !

संसार चियाउने बहाना-
एउटा टीभी छ
जो देखाइरहन्छ हरदम संक्रमित संसार
र, टीभीबाट गायब छ
क्रान्तिकारी मान्छे !

जीवन चियाउने बहाना-
केही पुस्तकहरू छन्
जसका पात्र र विचारहरू
सायद क्वारेन्टाइनमा छन् !

सडकबाट
एक्कासि हराएको छ
मेरा प्रिय मजदुर साथीहरूको जीवनवादी आवाज !
तिनको जीवन कहाँ होला ?
बेखबर छु ।
उता सरकार व्यस्त छ-
सहयोगमा आएको प्रोटेक्टिभ सामान
सरकारकै मान्छेले नलुकाओस् भनेर ।

यता म व्यस्त छु
घरिघरि हात धुन ।

सरकार र मेरो व्यस्ततालाई छलेर
भाइरस नछिरोस्
मेरो कामना !

म त केवल-
घुम्नुको नाममा
७६ वर्षे बूढा बाउको छेउछाउ घुम्दैछु
जो बनेको छ- तीर्थस्थल

यतिबेला म
सहरको एक कुनामा
सिमेन्टभित्र कैद छु ।

ओ अप्रिय कोरोना !

संसार डुलिहिँड्नुपर्ने तिमी
के मेरो सानो संसारमा अट्छौ र ?

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved