काठमाडौं। बुधबार ‘बलिदानी दिवस’का अवसरमा रौतहटमा सीके राउतलक्षित विवादास्पद अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आफ्नो बचाउ गरेकी छन्। गौरमा आयोजित एक कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतलक्षित अभिव्यक्ति विवादमा आएपछि उनले आफ्नो हिंसात्मक उत्तेजना फैलाउने नियत नभएको दाबी गरिन्।
‘‘मैले नरसंहार गर्ने, हिंसा भड्काउने खालको कुनै भनाइ राख्या छैन। मैले गरेको भाषण मसँग रेकर्ड छ। मधेसमा अराजकता मच्चाइरहेको सीके राउतको सङ्गठनलाई आफ्ना हर्कत रोक्न मात्र आग्रह गरेको हुँ,’’ मन्त्री यादवले नेपालभ्यूजसँग भनिन्, ‘‘तुफानसँग भिड्न आए मात्रै ठूलो घटना हुनसक्छ भनेर सचेत गराएकी हुँ। मैले सीके राउतको कार्यकर्ता र उहाँलाई आक्रमण गर्ने मार्ने भनेको होइन।’’
बुधबार ‘बलिदानी दिवस’का अवसरमा आयोजित सभामा मन्त्री यादवले २०६३ को ‘गौर नरसंहार’ को उदाहरण दिँदै हिंसा भड्काउने खालको अभिव्यक्ति दिएकी थिइन्। मन्त्री यादवले भनेकी थिइन्, ‘तुफानसँग भिड्न आए तपाईँको उही हालत हुनेछ जे गौरको राइस मिलमा भएको थियो।’
गौर नरसंहार ताजै रहेको उल्लेख गर्दै उनले भनिन्, ‘‘इतिहासमा राइस मिल अझै जीवित छ। रौतहट ऐतिहासिक जिल्ला हो। यो गौरमा फट्टा(चिर्पट) देखाउने प्रयास नगर। यहाँ लट्ठी भाँच्ने जनता छन्। तपाईँको फट्टा त्यहीँ तोडमोड गरेर हातमा राखिदिनेछौँ। आज बलिदानी दिवसका दिन हिंसा होइन, आज बलिदानी दिवस मनाउन आएका हौँ। भोलि हामीले यहाँका पुल र सडकको अवस्था कस्तो छ भनेर भिजिट गर्नेछौँ। तुफानसँग भिड्न आए तपाईँको उही हालत हुनेछ जे गौरको राइस मिलमा भएको थियो। म डाक्टर साबलाई यहीँबाट आग्रह गर्छु। तपाईँ पीएचडी डाक्टर हो रिसर्च गर्नुहोस्, चिरफार नगर्नुहोस्। चिरफार गर्न खोज्नु भए फेरि, तपाईँलाई घेराबन्दी गरेर मारिनेछ। त्यसैले तपाईँ रिसर्च नै गर्नुहोस्।’’
यस्तो थियो डेढ दशकअघिको गौर घटना
७ चैत २०६३ मा गौर नगरपालिकास्थित राइस मिलमा तत्कालीन माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरमबीच झडप भयो। घटनामा माओवादी भातृसंगठन वाइसिएलका २७ जनाको मृत्यु भयो। राइस मिलमा एकै स्थानमा तत्कालीन माओवादी र तत्कालीन फोरमले सभा गर्न लाग्दा झडप भएको थियो। घटनामा ५३ जना गम्भीर घाइते भए।
त्यस घटनापछि पनि केही यस्ता नरसंहार भए, जसलाई हिंसात्मक अभिव्यक्तिपछिको उत्तेजनाको परिमाण भनेर भनिन्छ। फागुन २०७३ मा तत्कालीन नयाँ शक्ति पार्टीको कार्यक्रममा नेता लक्षणलाल कर्णले यस्तै उत्तेजक धारणा राखेका थिए। तत्कालीन नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईले १२ फागुनमा संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवसँग मिलेर त्यस्तै उत्तेजक विज्ञप्ति जारी गरेका थिए। जसपछि एमालेको मेची महाकाली यात्रामा सप्तरीको मलेठमा मधेसी मोर्चाले हस्तक्षेप गर्दा केहीको ज्यानसमेत गएको थियो। ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा पनि यस्तै उत्तेजित अभिव्यक्तिकै कारण घटना भएको टिप्पणी हुने गर्छ।
उत्तेजित भाषणले हिंसालाई मलजल गर्छ :समाजशास्त्री
आफू सुरक्षित ठाउँमा बसेर हिंसात्मक भाषण गरेर फैलाउने उत्तेजनाले पनि हिंसालाई मलजल गर्ने समाजशास्त्रीहरुको तर्क छ। उत्तेजक भाषण गर्नुअघि नेताहरूले पटकपटक सोच्नुपर्नेमा बहकाउमा अभिव्यक्ति दिने गरेका समाजशास्त्री मधुसूदन सुवेदी बताउँछन्। सभ्य समाजमा हिंसाका लागि ठाउँ नदिनुपर्ने भए पनि राजनीतिक स्वार्थले यस्ता भाषण गर्ने गरेको उनको भनाई छ।
उनले भनिन्, ‘‘मधेसी केन्द्रीत राजनीतिक गर्ने अधिकांश नेताहरु प्रायः सबै नेताको काठमाडौं घर छ। सबै पार्टीको केन्द्रीय कार्यालय काठमाडौंमै छन्। तराईमा जति आगो बले पनि उनीहरूलाई पोल्दैन। आफ्नो घर असुरक्षित स्थानमा हुनेले मदेशमा रहेका गरिब जनता कार्यकर्ता उक्साउनु हुँदैन।’’
नियोजित रूपमा नभई बहकाउमै भाषण गर्दा पनि सर्वसाधारणलाई उद्वेलित बनाउने समाजशास्त्री दाहालको तर्क छ। सत्तामा बसेपछि प्राय नेताहरूलाई यस्ता मातहरु चढ्ने गरेको उनको विश्लेषण छ।
Facebook Comment
Comment