‘अनिवार्य मास्कको प्रयोग गरौं’ अभियान शुरु

नेपालभ्युज

‘अनिवार्य मास्कको प्रयोग गरौं’ अभियान शुरु

काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक बसका चालक, सहचालक र यात्रुलाई लक्षित गरी ‘अनिवार्य मास्कको प्रयोग गरौं’ अभियान शुरुआत गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा आजदेखि न्यूरोड गेटबाट ‘अनिवार्य मास्कको प्रयोग गरौँ’ अभियान शुरुआत गरेको हो। अभियानको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक सवारीसाधनमा जनचेतनामूलक पर्चा टाँसेर शुभारम्भ गरेका हुन्।

कार्यक्रममा महाशाखाका प्रमुख जोशीले मुलुकमा कोरोनाको तेस्रो लहर तीव्रगतिमा बढिरहेको बेलामा सार्वजनिक यातायातबाट हुनसक्ने संक्रमण रोक्नका लागि ‘अनिवार्य मास्कको प्रयोग गरौँ’ अभियान शुरु गरिएको बताए। शुरुको चरणमा १५ हजार सार्वजनिक सवारी साधनमा जनचेतनामूलक अभियान सञ्चालन गर्ने महाशाखाले जनाएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौलाले तेस्रो चरणको कोरोना संक्रमणका कारण यातायात मजदुर तथा यात्रुलाई थप क्षति नपुगोस् भन्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरेको जानकारी दिए।

“अहिले राजधानीबाट शुरु गरेको यो अभियानलाई क्रमशः देशव्यापी लैजान्छौं”, उनले भने। उनले देशभरका यातायात मजदुरलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्नसमेत आग्रह गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved