काठमाडौं। कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण तीव्र रूपमा बढ्दै गएपछि विशेष अदालत, उच्च अदालत पाटन, जिल्ला अदालत काठमाडौँले पनि अतिआवश्यक सेवा मात्र सञ्चालन गर्ने भएका छन्।
विशेष अदातलका सूचना अधिकारी नारदप्रसाद भट्टराईले आज जारी गरेको थुनुवा भएका मुद्दाको भर्चुअल माध्यमबाट सुनुवाइ गर्ने, आरोपपत्र, अभियोगपत्र दर्ता गर्ने भर्चुअल माध्यमबाट अभियुक्तको थुनछेक र म्याद थप गर्ने जनाएको छ।
त्यस्तै, उच्च अदालत पाटनले पनि आफ्ना सेवा कटौती गरेको छ। उक्त अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा बन्दीप्रत्यक्षीकरणको निवेदनमा नियमतिरूपमा सुनुवाइ गर्ने, मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाही अघि बढाउने उल्लेख छ। यस्तै, जिल्ला अदालत काठमाडौँले पनि अतिआवश्यक मुद्दामा सुनुवाइ गर्ने जनाएको छ।
सर्वोच्च अदालतको मङ्गलबार बसेको पूर्ण बैठक (फुलकोर्ट) ले पनि अति जरुरी प्रकृतिका मुद्दा मात्र आजदेखि लागू हुने गरी सुनुवाइ गर्ने निर्णय गरेको थियो। सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार सर्वोच्च अदालतमा एक न्यायाधीशसहित ३४ जना र देशभरी न्यायाधीश र कर्मचारी गरी १२५ भन्दा बढीलाई कोरोना सङ्क्रमण भएको छ।
Facebook Comment
Comment