ओमिक्रोनले ज्यानै लिन सक्छ, लापरवाही नगरौँः डा. रक्षा गौतम (अन्तर्वार्ता)

डा. गौतमले अहिले ओमिक्रोनको संक्रमणलाई लिएर आम मानिसमा लापरवाही बढेको बताइन्। ओमिक्रोनको संक्रमण ४/५ दिन रहन्छ भनेर लापरवाही गर्न नहुने भन्दै उनले अमिक्रोनसँगको सानो लापरवाहीले ज्यान नै जान सक्ने बताइन्।

नेपालभ्युज

ओमिक्रोनले ज्यानै लिन सक्छ, लापरवाही नगरौँः डा. रक्षा गौतम (अन्तर्वार्ता)

काठमाडौं। मौसम परिवर्तनको समय शुरु भएसँगै धेरै मानिसहरुमा मौसमी रुघाखोकीको समस्या देखिन थालेको छ । यससँगै कोरोनको पछिल्लो भेरियण्ट ओमिक्रोन को संक्रमण पनि द्रुत गतिमा बढिरहेको छ।

आम मानिसले आफूलाई भएको संक्रमण मौसमी रुघाखोकी हो कि कोभिड संक्रमण छुट्टयाउन सकिरहेका छैनन् । यसले अस्पतालमा दैनिक रुपमा रुघाखोकीका बिरामीको चाप बढिरहेको छ । कोरोना संक्रमण भएको त्रासका कारण सामान्य रुघा लाग्दा पनि अस्पताल जानेको संख्या बढेको छ ।

मौसम परिवर्तनले हुने रुघाखोकी र कोभिड संक्रमणमा ज्वरो आए नआएको हेर्नुपर्ने अल्का अस्पतालकी चिकित्सक डा. रक्षा गौतमले बताइन्। उनले ज्वरो आएको छ भने सतर्क भएर बस्ने तथा तुरुन्त चिकित्सकको सम्पर्कमा जाने र थप लक्षण देखिन थालेमा पीसीआर गराउन सल्लाह दिइन्।

डा. गौतमले अहिले ओमिक्रोनको संक्रमणलाई लिएर आम मानिसमा लापरवाही बढेको बताइन्। ओमिक्रोनको संक्रमण ४/५ दिन रहन्छ भनेर लापरवाही गर्न नहुने भन्दै उनले अमिक्रोनसँगको सानो लापरवाहीले ज्यान नै जान सक्ने बताइन्।

 डा. गौतमसँग न्युज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंशः

अहिले अस्पतालहरुमा मौसमी रुघाखोकीको बिमारीको चाप कस्तो छ ?
मौसमी परिवर्तनले हुने रुघाखोकीका लक्षण भएका बिरामीहरुको चाप धेरै बढेको छ । गत दुई हप्तादेखि हाम्रो ओपीडीमा बिरामीको चाप तीन, चार गुणाले बढेको छ । एकजना फिजिसियनलाई नै धौ धौ हुनेगरी बिरामी आइरहनुभएको छ । मौसमी परिवर्तनले हुने रुघाखोकी मात्रै नभएर अहिलेको यो कोभिड १९ को बिरामीहरुको चाप पनि त्यसमै मिसिएर हामीले हेरिरहेका छौँ, दिनदिनै बढेको देखिराछौँ।

एउटा मौसमी फ्लू भयो, अर्को कोरोनाका विभिन्न भेरियन्टको संक्रमण कसरी छुट्याउने, कसरी उपचार गर्ने ? लक्षणका आधारमा आम सर्वसाधारणले कसरी छुट्याउने र कस्तो अवस्था भयो भने पीसीआरका लागि जाने ?
मौसमी परिवर्तनले हुने संक्रमण कमन कोल्ड (चीसोले हुने रुघाखोकी) हो, कमन कोल्डको बेसिक लक्षण छुट्याउने एकदम सजिलो तरिका भनेको ज्वरो हो । यो धेरै हुँदैन मौसमी परिवर्तनले हुने लक्षणहरुमा ज्वरो आउँदैन बिरामीहरुलाई । सामान्य ज्यान दुख्ने, रुघाखोकी, रुघामर्की एकदुई दिनमा आफै ठीक भएर जाने, घरको एउटा सदस्यलाई भएको हुन्छ, प्राय सबै सदस्यहरुलाई त्यस्तै लक्षण ट्रान्सफर भइराखेको हुन्छ ।

फ्लू भनेको चाहिँ जुन ओमिक्रोन, डेल्टा, कोभिड अथवा इन्फ्लुएन्जा हो । सबै फ्लूको फेमिलीमा पर्दछन् । हामीले इन्फ्लुएन्जा सुनिरहेको फ्लू हो । सिजनल फ्लू हरेक वर्ष हुन्थ्यो । सय वर्षअघिदेखिको फ्लू हो यो । इन्फ्लुएन्जा र कोभिड फ्लूमा चाहिँ हामीले प्रायः ज्वरो पनि देख्छौँ । ज्वरो आयो भने पक्कै पनि मलाई फ्लू भयो भनेर बुझ्नु प¥यो । फ्लूमा पनि इन्फ्लुएन्जा हो कि, कोभिड १९ हो कि, कोभिड १९ को डेल्टा हो कि, ओमिक्रोन हो कि त्यो छुट्याउन लक्षणकै आधारमा चाहिँ अलिकति गाह्रो छ ।

तर हामीले बिरामीको प्याटर्न हेर्दाखेरि चाहिँ फ्लू भएकाहरुलाई, इन्फ्लुएन्जा भएकाहरुलाई ज्वरो, रुघाखोकी, टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, जिउ दुख्ने, झाडापखला लाग्ने, प्रायः बास्ना र स्वाद जाने त्यस्तो लक्षण चाहिँ कोभिडमा मात्रै देखिरहेको छ । बास्ना र स्वाद पनि गएको हामीले यसपालि पाएका छौँ । र अहिले ओमिक्रोनको कुरा गर्दा त्यही लक्षणहरुमा प्लस, माइनस तथा घाटी दुख्ने लक्षणहरु अलि बढी हामीले ओपीडीमा पाइरहेका छौँ ।

घाँटी एकदमै दुख्यो भनेर आउनुहुन्छ । टन्सिल नै भयो भनेर आउनुहुन्छ, तर हामीले हेर्दाखेरि यो पिक सिजन भइराखेको छ कोभिडको, हामीले बिरामीहरुलाई हेर्दाखेरि पीसीआर गर्दा पोजेटिभ आइराखेको छ । तर अब घाँटी दुख्दैमा, ज्वरो आउँदैमा, रुघामर्की लाग्दैमा यही ओमिक्रोन हो, यही डेल्टा हो, बास्ना र स्वाद छैन यो डेल्टा हो । बास्ना र स्वाद छ यो इन्फ्युएन्जा हो भनेर हामीले क्लिनिकली छुट्याउन सकिदैन, पीसीआर गर्नैपर्छ ।

मौसमी फ्लूलाई कसरी उपचार, हेरचाह, कस्तो खालको व्यवस्थापन गर्ने ? कस्तो अवस्थामा अस्पताल जाने ? घरमै बसेर उपचार गर्न सकिन्छ कि ?
मौसमी परिवर्तनले हुने कमन कोल्ड, जुनमा ज्वरो हुँदैन, त्यो सामान्य घरमा पाइने पारासिटामोल जस्ता औषधिहरु प्रयोग गरेर, पहिलेदेखि चलिआएका चलनहरु मन तातो पानी खाने, पानीको मात्रा शरीरमा बढाउने, आराम गर्ने, धपेडी नगर्ने, चिसोमा नहिँड्ने त्यो चाहिँ मौसमी कमन कोल्डलाई त्यतिले नै पुग्छ । खासै डाक्टरकोमा गइहाल्नु पर्दैन कमन कोल्ड हुँदाखेरि। ओपीडीमा धाउनुपर्दैन, जहाँ ज्वरो हुँदैन बिरामीलाई ।

जब ज्वरो आउन थाल्छ नि ज्वरो आएपछि यो फ्लूमा जान्छ । फ्लू भन्ने बित्तिकै मौसमी परिवर्तनले हुने कमन कोल्ड फरक कुरा हो । फ्लू भनेको भाइरसले गर्दा हुने हो । फ्लूमा चाहिँ ज्वरो पनि आउँछ । दुई, तीन दिन ज्वरो आउँछ । प्रायः हामीले प्याटर्न हेर्दाखेरि बिरामीलाई तीन दिनसम्म ज्वरो आएको । तीन दिनपछि ज्वरो आफैँ बिसेक हुँदै गएको अनि हल्का रुघाखोकीको समस्या, अलिकति जिउ दुख्ने हुन्छ । सामान्य पारासिटामोल आफैँले खाइराख्नुभएको छ बिरामीहरुले ।

अहिले जनचेतना धेरै जाग्या छ । कतिपयलाई तीन दिनभन्दा बढी ज्वरो आइराछ । ज्वरो १०२, १०३ भन्दा घटेको छैन, सिटामोलको प्रयोग गर्दाखेरि पनि ज्वरो घटेको छैन, जिउ दुखिराखेको छ । छाति भारी भइराखेको छ । खोकी बढिराखेको छ । पल्स अक्सिमिटरमा अक्सिजन चेक गर्नुहुन्छ, अक्सिजनको मात्रा ९४ भन्दा तल झर्न थालेको छ । बिरामीले खाना पटक्कै खानुभएको छैन । एकदमै विक हुनु भएको छ भने उहाँलाई तुरुन्तै ओपीडी ल्याएर डाक्टरसँग परामर्श लिन म आग्रह गर्छु ।

यसप्रकारको संक्रमणमा सामान्यतया सर्वसाधारणबाट हुने लापरवाही कस्तो हो ? त्यसलाई कसरी व्यवस्थापन गर्ने ?
दुई थरी पेसेन्टहरु (बिरामी) हुनुहुन्छ । एकथरी रुघा लाग्ने बित्तिकै आउनुहुन्छ जचाँउन । त्यसमा हामीले खासै गर्नुपर्ने केही हुँदैन । काउन्सिलिङ गर्दिन्छौँ । रेस्ट गर्नु भन्छौँ । रेष्टले नै निको हुन्छ आधिभन्दा बढी यो । फ्लू होस् अथवा मौसम परिवर्तनले हुने कमन कोल्ड होस्, इन्फ्लुएन्जा होस्, कोभिड होस् । रेस्ट मात्रै गरे पनि निको भइराखेको छ कत्तिलाई ।

कति चाहिँ कस्तो हुन्छ भने धेरै गाह्रो भइसक्दा पनि आउनु भएको छैन उहाँहरु अस्पताल । श्वास प्रश्वासमा समस्या भयो, बिरामीले खाना पटक्कै खानु भएको छैन । दीर्घ रोग लागेका बिरामीहरु हुनुहुन्छ । घरमा अक्सिजन नाप्दा अक्सिजनको मात्रा तलमाथि भएको छ भने अक्सिजनको सिलिण्डर छ घरमा भनेर नबस्नु । एकचोटी आउनुस् । डाक्टरले हेर्नुहुन्छ, छातिको एक्सरे गर्नुहुन्छ । निमोनिया भइसक्या छ कि छैन हामीले छुट्याउनुपर्ने हुन्छ । निमोनिया भएको बिरामीहरुलाई अस्पतालमै भर्ना गरेर उपचार गर्न म आग्रह गर्छु ।

संक्रमणमा अहिले अस्पतालहरुमा कस्तो किसिमको स्वास्थ्य उपचारको व्यवस्था छ ?
कोभिड आएदेखि हामीले पोजेटिभ बिरामीहरुलाई राख्ने एउटा अलग व्यवस्था गरेका छौँ । नेगेटिभ बिरामीलाई राख्ने अलग व्यवस्था छ । लक्षणहरु सबै मिल्छ कोभिडसँग तर आरटी पीसीआर गर्दा नेगेटिभ आयो भने उहाँहरुलाई अलग राख्ने व्यवस्था छ । सबै पोजेटिभ बिरामीहरुलाई भर्ना गर्ने हामीले गरेका छैनौँ । यदि माइल्ड छ, सामान्य लक्षण छ भने काउन्सिलिङ गरेर, घरमा नै उपचार गरेर, डाक्टरले औषधिहरु दिएर घर पठाइराखेका छौँ । अक्सिजन पर्याप्त मात्रामा शरिरमा पुगेको छैन भन्नेजस्तो हामीलाई डाउट (शंका) लाग्ने बित्तिकै हामीले बिरामीलाई भर्ना गरेर दुई, चार दिन उहाँहरुलाई क्रिटिकल केयर तथा छाति विशेषज्ञ र फिजिसियन हामी तीन जनाको टिम मिलेर क्लोज अब्जरभेसनमा राखेर उपचार गरिराखेका छौँ । निको भएर गइराख्नु भएको छ ।

पहिला पहिलाको जस्तो महामारी जुन थियो, त्यस्तो अवस्था आएको छैन । त्यही भएर कन्ट्रोल नै गर्न नसकिने, इमर्जेन्सीमा बेड नै नभएको । अक्सिजन नै नपुगेको यसपालि हामीले आजको दिनसम्म भेटेनौँ । त्यतिबेलाको भन्दा अहिलेको व्यवस्थापन त्यतिबेलाको जस्तो बेग आउँछ भनेर हामीले जुन तयारी ग¥यौँ मानसिक रुपमा, अस्पतालको व्यवस्थापनमा जुन हिसाबले तयारी भएर बस्यौँ त्यो कारणले गर्दा यसपालि व्यवस्थापनमा त्यत्ति असहजता छैन ।

अन्त्यमा, विशेषज्ञको रुपमा सर्वसाधारणलाई स्वास्थ्यको सुरक्षाका लागि के-कस्तो सुझाव दिनुहुन्छ ?
सुझाव म के दिन चाहन्छु भने पहिले शुरुमा डेल्टा होस् या ओमिक्रोन होस् या कुनैपनि भेरियन्ट होस् हामीले पीसीआर गरेर छुट्याउन सक्दैनौँ । यो जनमानसमा गलत धारणा कि डाक्टरकहाँ गएपछि उहाँले ओमिक्रोन हो कि होइन छुट्याइदिन सक्नुहुन्छ भन्ने छ । हामीले पेसेन्टको लक्षण हेरेर तपाईँहरुलाई भन्न सक्दैनौँ ।

अर्को एउटा के धारणा गलत छ भने त्यो सीटी भ्यालू देखाउन आउनुहुन्छ । पीसीआरको रिपोर्टमा जुन सीटी भ्यालू लेखेको हुन्छ, मेरो त मेरो कम छ उहाँको बढी छ मलाई अलि गाह्रो हुने हो कि, हामीलाई त्यसको आधारमा बिरामीलाई गाह्रो हुन्छ, बिरामीलाई आईसीयूमा भर्ना गरिन्छ कि बिरामीलाई माइल्ड हुन्छ भनेर छुट्याउन सक्ने त्यो क्यापेबिलिटी छैन । त्यसमा कन्फ्युजनमा नपर्नुस् । पीसीआर गरेर ओमिक्रोन हो कि होइन भनेर थाहा पाउन सकिँदैन । ओमिक्रोनका लागि छुट्टै जिन सिक्वेन्सिङ भनेर हाम्रो प्रयोगशालाबाट बाहिर पठाउनुपर्ने हुन्छ, त्यो सबै स्याम्पललाई हामी गर्दैनौँ । अनि थाहा भएर पनि कोभिडको उपचारमा केही परिवर्तन आएको छैन नि त । त्यो ओमिक्रोन होस् या डेल्टा होस् उपचार त्यही हो । रोगीहरुको प्याटर्न त्यही हो । कतिबेला निको हुन्छ, कतिबेलादेखि सर्दैन भनेर हामी काउन्सिलिङ गर्दिन्छौँ आउनुहोला ओपीडीमा ।

अनि अर्को कुरा, हात धुने । स्यानिटाइजरहरु लगाउने, सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, अनावश्यक कामको लागि बाहिर नहिँड्ने, यो कुरा हामीले भनिरहेका छौँ बारम्बार मानिसहरुलाई बानी बसोस् भनेर । ९० प्रतिशत बिरामीहरुको अहिले माइल्ड छ । पहिला पहिलाको वेभजस्तो आईसीयू, बेडको अभाव, अक्सिजनको अभाव छैन । त्यसो भन्दैमा बेपर्वाह हुनुभएन ।

ओमिक्रोन हो, केही हुँदैन भन्ने पनि आएको छ अहिले धारणा । ओमिक्रोन पनि जटिल रुपमा निमोनिया भएर बिरामीहरु नराम्रो अवस्थामा गएको पनि हामीले देख्याछौँ । त्यही भएर पहिलाजस्तै सतर्क भएर हात धुने, स्यानिटाइजर लगाउने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र अनावश्यक कामका लागि बाहिर भीडभाड नगरौँ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved