काठमाडौँ । जातीय विभेदविरुद्धको ‘‘लघु फिल्म प्रतियोगिता’’का लागि २० वटा फिल्म छनोट भएका छन्। कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, नेपाल चलचित्र निर्देशक समाज र युनडीपीले फिल्म छनोट गरेका हुन्।
निर्देशक समाजका महासचिव जनकदीप पराजुलीका अनुसार ६ सदस्यीय निर्णायक समूहले जातीय विभेद र उन्मुलनको उपायलाई कलात्मक रुपमा अभिव्यक्त गर्ने २० फिल्मलाई प्रारम्भिक चरणमा छनोट गरेको हो। कानुन न्याय, तथा संसदीय व्यवस्था मन्त्रालयका सह सचिव फणिन्द्र गौतम, वरिष्ठ कलाकार नीर शाह, चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, कलाकार लक्ष्मी बर्देवा, ए टु जेड प्रोजेक्ट म्यानेजर वसन्त अधिकारी र युएनडीपीका प्रमुख सूचना अधिकृत कमलराज सिग्देल सम्मिलित निर्णायक मण्डलले प्राप्त ५६ फिल्मबाट २० फिल्म छनोट गरेको चलचित्र निर्देशक समाजका महासचिव पराजुलीले जानकारी दिए।
छनोटमा परेका फिल्ममा वाशिष्ठ प्रधानको ‘दि बास्केट’, सुरेन्द्र प्रजापतिको ‘शून्य’, सुदन सिंह ठकुरीको ‘सेम’, सराना श्रेष्ठको ‘सामना’, बालकृष्ण बंशीको ‘पुमावाङगु म्हगास’, हाफटाइम क्रिएसनको ‘पीडा’, रनधीर श्रेष्ठको ‘परी’, राजेश श्रेष्ठको ‘नयाँ जुत्ता’, अतीन श्रेष्ठको ‘म स्वयं नेपाली’ साफुको ‘म म नै हुँ’ आशिष शर्मा पंगेनीको ‘क ख ग घ’ छिन्न मस्ता फिल्मस्को ‘आइ एम नट ह्युमन’, नगेन्द्र राईको ‘हि इज माई गड’, मेरियन राजभण्डारीको ‘गंगा’ सन्तोष सरकारको ‘फू’, काव्यालय प्रडक्सनको ‘चेत’, विनोद पुडासैनीको ‘भगवान सबैको’ प्रतीक सिंह एन्ड टिमको ‘ब्याटल अगेन्स्ट डिस्क्रिमिनेसन’ शर्मा क्रिएसनको ‘अछोप’, प्रकाश सुब्बाको ‘फ्लावर’ रहेका छन्।
यी फिल्म अबको दुई हप्ता दर्शकको अवलोकनका लागि विभिन्न सामाजिक सञ्जालमा राखिन्छन्। फिल्मले त्यहाँ पाउने दर्शक तथा प्रतिक्रिया एवम् निर्णायकको निर्णयका आधारमा विजेता फिल्मको घोषणा गरिने प्रतियोगिताका आयोजकले जनाएका छन्।
दर्शकले दिने प्रतिक्रियाको अंकभार ५० प्रतिशत रहनेछ भने ५० प्रतिशत निर्णयमा निर्णायकको हात रहनेछ। प्रतियोगितामा पहिलो हुने फिल्मले २ लाख रुपैयाँ, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
Facebook Comment
Comment