वर्षको दुईपटक किन मात्तिन्छन् तीन भाइ मत्ता हात्ती ?

वर्षको दुईपटक किन मात्तिन्छन् तीन भाइ मत्ता हात्ती ?

चितवन। समूहबाट निकालिएका ध्रुवे, रोनाल्डो र गोविन्दे नामले चिनिने मत्ता (भाले) हात्ती समय–समयमा मात्तिने गरेका छन्। यी तीन भाइले धेरै जिउधनको क्षति गरिसकेका छन्। मुख्यरूपमा वर्षमा दुईपटक यी मात्तिने गर्दछन्।

हात्तीका विषयमा विद्यावारिधि गरिरहेका अशोक राम पुस-माघ र जेठ-असार गरी वर्षमा दुईपटक भाले हात्ती मात्तिने बताउँछन्। मात्तिएकै बेलामा हात्तीले धेरै जिउधनको क्षति गराउने गरेका छन्। उनको भनाइमा रोनाल्डोले २२, धुव्रेले १९ र गोविन्देले तीन जनाको ज्यान लिइसकेका छन्। ती तीनओटै हात्ती यतिबेला चितवन राष्ट्रिय निकुञ्जको सौराहा र कसरा आसपासको क्षेत्रमा छन्।

गत एक महिनायता गोविन्दे र ध्रुवेले एक-एक जनाको ज्यान लिइसकेका छन्। यो मौसममा ती हात्तीले जनधनको क्षति बनाउन सक्ने भन्दै सावधानी अपनाउन विज्ञहरूको सुझाव छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ध्रुवे यतिबेला टाइगरटप्स क्षेत्रको रिउ र राप्तीको संगमस्थलतिर छ।

गोविन्दे र रोनाल्डो पनि सौराहा र कसरा आसपासमा समय-समयमा देखिने गरेका छन्। तिवारीको भनाइमा ध्रुवेलाई रेडियो कलर जडान गरेकाले यकिन ठाउँ थाहा हुन्छ भने रोल्नाडोलाई रेडियो कलर जडान गरिएको भए पनि अहिले नरहेका कारण यकिन ठाउँ थाहा हुन सक्दैन। तर समय–समयमा यी तीनै हात्ती देखिने गरेको तिवारी बताउँछन्।

निकुञ्जले पालेका हात्ती प्रजननमा यी हात्ती प्रयोग हुँदै आएका छन्। पछिल्ला वर्षहरूमा अधिकांश छावा यिनै तीन मत्ता हात्तीबाट जन्मिएका छन्। यो मौसममा कुहिरो लाग्ने भएकाले निकुञ्ज आसपास क्षेत्रमा हिँड्डुल गर्दा सावधानी अपनाउनुपर्ने देखिन्छ। तिवारीले भने, “यो हात्तीको आक्रमण हुनसक्ने समय भएकाले जोगिएर हिँड्डुल गर्नुपर्दछ।” निकुञ्ज बाहिर खानाका लागि हात्ती आउन सक्ने समय पनि यो हो। तिवारीले अगाडि भने, “यतिबेला निकुञ्जमा राम्रो घाँस हुँदैन, बाहिर लगाएको खेतीबाली हरियाली देखेपछि हात्ती बाहिर आउन सक्छ।”

निकुञ्ज संरक्षणमा लामो अनुभव संगालिरहेका संरक्षणकर्मी वेदबहादुर खड्का हात्ती बस्तीमा आइहालेमा होहल्ला गरेर नलखेट्न सुझाव दिन्छन्। धेरैजसो घटना हात्ती लखेट्ने क्रममा हुने गरेको उनी बताउँछन्। कतिपयले मादक पदार्थ सेवन गरेर राँको बाल्दै हात्ती लखेट्ने गर्दछन्। जुन आफैमा जोखिमपूर्ण भएको खड्काको भनाइ छ। हात्ती आइहालेमा निकुञ्जका अधिकारी र सुरक्षाकर्मीलाई खबर गरेर धपाउनुपर्ने उनको सुझाव छ।

अशोक रामका अनुसार ५०० मिटरभित्र हात्ती छ भने त्यस क्षेत्रका रूखका हाँगा भाँचेका हुन्छन्। यस्तै ३०० मिटरभित्र हात्तीको शरीरको गन्ध आउँछ भने हात्तीले नार्रनुर्र गरेको आवाज र सय मिटरको दूरीमा हात्तीले सुँड बजारेको आवाज आउँछ। हात्तीले मानिसमाथि आक्रमण गर्दा डराएर आत्तिएर गर्ने बताउँदै रामले भने, “हात्ती शाकाहारी जनावर हो, उसले मान्छे मारेर के पाउँछ र ?” आफूलाई खतरा महशुस गरेर नै हात्तीले आक्रमण गर्ने उनको भनाइ छ।

चितवनमा अहिले भइरहेका ती हात्तीमध्ये ध्रुवे रौतहटसम्म पुग्ने गर्दछ भने गोविन्दे र रोनाल्डो चितवन र पर्सा क्षेत्रमा घुम्ने गरेका छन्। ध्रुवे र रोनाल्डो नेपालको पूर्वी क्षेत्रबाट आएको अनुमान गरिएको छ। गोविन्दे भने यसै क्षेत्रमा समूहबाट छुट्टिएको हुनसक्ने रामको अनुमान छ। समूहमा बस्ने हात्ती नियमविपरीत काम गरेमा निष्काशित हुने गर्दछ। समूहबाट निकालिएपछि झनै अराजक हुने र मातेर जनधनको क्षति गर्ने गरेको रामले बताए। वर्षको दुईपटक प्रजननको समयमा भाले हात्ती मात्तिने गर्दछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved