चीनमा नेपालीलाई अनुसन्धान अनुदान

चीनमा नेपालीलाई अनुसन्धान अनुदान

बेइजिङ। चिनियाँ विश्वविद्यालयमा कार्यरत एकजना नेपालीले प्रसिद्ध अनुसन्धान अनुदान प्राप्त गरेका छन्। हाल चीनको क्वाङचौस्थित साउथ चाइना नर्मल विश्वविद्यालयमा कार्यरत काठमाडौँका विज्ञान न्यौपानेले ४ लाख चिनियाँ युआन अर्थात् ७५ लाख नेपाली रुपैयाँ बराबरको अनुसन्धान अनुदान प्राप्त गरेका हुन्।

क्वाङचौमा काम गर्न थालेको छोटो समयमै उनले चीनमा प्रोफेसरहरुले प्राप्त गर्ने अनुसन्धान अनुदान प्राप्त गरेका हुन्। चिनियाँ विश्वविद्यालयमा यस प्रकारको अनुदानलाई निकै महत्व दिइन्छ। अनुसन्धान अनुदान प्राप्तकर्ताले विद्यार्थीलाई प्रयोग गरेर आफ्नो विषय अन्तर्गत खोज अनुन्धान गर्न सक्छ। आफ्नो सुपरीवेक्षणमा हुने त्यस्ता खोज अनुसन्धानबाट प्राप्त उपलब्धिको मुख्य अधिकार पनि आफैँले प्राप्त गर्ने भएकाले यस प्रकारको अनुसन्धान अनुदानलाई महत्व दिइएको हो।

चीनको राष्ट्रिय प्रकृति विज्ञान फाउण्डेसनद्वारा प्रदान हरेक वर्ष प्रदान गरिने यो अनुदान प्राप्त गर्नका लागि चीनमा कार्यरत चिनियाँ तथा विदेशी प्रोफेसरहरुबीचमा तीब्र प्रतिस्पर्धा हुने गर्दछ।

फाउण्डेसनले प्राप्त आवेदनहरुको छानबिन गर्दछ। सम्बन्धित व्यक्तिले यस अगाडि गरेका अनुसन्धान कार्य, विश्लेषणबाट प्राप्त उपलब्धि, विभिन्न जनर्लहरुमा प्रकाशित रिसर्च आलेखहरु लगायत विविध पक्षबाट मूल्याङ्कन गरेपछि उचित ठानेमा मात्र फाउण्डेसनले अनुदान प्रदान गर्दछ।

‘रिसर्च फण्ड फर इन्टरनेशनल साइन्टिस’ अन्तर्गत न्यौपानेले उक्त अनुदान प्राप्त गरेका हुन्। पछिल्लो समय चीनमा विद्यावारिधी र पोष्टडक गरेका नेपालीहरुले चिनियाँ विश्वविद्यालयलाई प्रभावित बनाउने क्षमता प्रदर्शन गर्दै आएका छन्। त्यही क्षमतावान नेपालीमध्ये न्यौपाने एक हुन्।

आफूले प्राप्त गरेको अनुदान रकम मूलतः खोज अनुसन्धानका क्रममा नमूना सङ्कलनका लागि फिल्ड भिजिट, प्रयोगशालामा हुने अनुसन्धान तथा विश्लेषण र रिसर्च पेपरको प्रकाशन प्रकृयामा खर्च हुने न्यौपानेले नेपाल भ्युजलाई बताए।

नमूना सङ्कलनका लागि विद्यार्थीहरुलाई खटाउँदा यातायात तथा लाग्ने अन्य खर्च, आफू कार्यरत विश्वविद्यालय तथा अन्यत्रका प्रयोगशालामा हुने खर्च, अध्ययन तथा विश्लेषणबाट प्राप्त तथ्यतथ्याङ्कका लागि सेमिनार प्रप्तुति तथा जर्नलमा प्रकाशनका लागि अनुदान रकम खर्च गर्ने कुरा परियोजना आवेदनमै उल्लेख हुने उनले सुनाए। नमूना सङ्कलनका लागि उनले चीनको उत्तरपूर्वी तथा दक्षिण चीनका केही तालबाट नमूना सङ्कलन गर्ने योजना बनाएका छन्।

कोरोना महामारीका कारण नेपाल गएर अनुसन्धान गर्ने अवस्था नभएकाले चीनभित्रै खोज अनुसन्धान गर्नुपर्ने वाध्यता रहेको पनि उनले सुनाए। न्यौपानेले भने ‘नेपालका हिमाली क्षेत्रमा भएका तालको नमूना सङ्कलन गरेर खोज अनुसन्धान गर्न पाएमा नेपालको वायु प्रदूषणको अवस्थाको विश्लेषण गर्ने अवसर हुने थियो तर महामारीका कारणले गर्दा चीनभित्रै खोज अनुसन्धान गर्ने वाध्यता छ।’

सन् २०२२ को जनवरी १ देखि २०२३ को डिसेम्बर ३१ भित्र सक्ने गरी दुई वर्षका लागि ४ लाख चिनियाँ युआनको अनुदान प्राप्त गरेका हुन्। ४ लाखमध्ये साढे २ लाख फिल्ड भिजिट र प्रयोगशालामा खर्च हुने उनले बताए। एक लाख युआन चाहिँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनारमा खर्च हुने र रिसर्चपेपरमा अनुसन्धान लेखमा खर्च हुने उनले बताए।

अनुदान परियोजनामा मुख्य अनुसन्धानकर्ता न्यौपाने रहेका छन्। उनले आफ्नो इच्छा अनुसार स्नातकोत्तर तथा विद्यावारिधीका विदेशी तथा चिनियाँ विद्यार्थीहरुलाई सहभागी गराउनेछन्।

दुई वर्ष अगाडि सन् २०१९ को डिसेम्बरमा चीनको कान्सु प्रान्तको लान्चौस्थित चिनियाँ विज्ञान प्रतिष्ठान ‘चाइनिज एकेडेमी अफ साइसेन्स’बाट विद्यावारिधि गरेका न्यौपाने हाल चीनको क्वाङतोङप्रान्तको सदरमुकाम क्वाङचौको साउथ चाइना नर्मल युनिभरसिटीको भूगोल विभागमा ‘डिस्टिङगुइस एसोसिएट रिसर्चर’का रुपमा कार्यरत छन्। उनको अनुसन्धानको विषय वातावरणीय परिवर्तन रहेको छ।  तालको लेदो माटोमा कालो कार्बन र पारोले पारेको प्रदूषण विगत र वर्तमान उनकाे विषय हाे।

कालो कार्बन र पारो नै वायु प्रदूषणका मुख्य कारक तत्व मानिन्छन्। यस्ता तत्वहरु मुख्य गरी जंगलमा भएको आगलागी,काठ तथा कोइला बाल्दा उत्सर्जन हुने गर्दछन्।

विद्यावारिधीका क्रममा न्यौपानेले नेपालको हिमालय क्षेत्र र चीनको स्वायत्त प्रदेश तिब्बतका तालको लेदो माटोको नमूना सङ्कलन गरेर अनुसन्धान गरेका थिए। नेपालमा उनले गोसाइकुण्ड र गोक्यो तालको नमूना सङ्कलन गरेर अनुसन्धान विश्लेषण गरेका थिए। उनी सन् २०१५ मा विद्यावारिधी गर्नका लागि चीनमा आएका थिए।

विद्यावारिधीका क्रममा उनले उत्कृष्ट विदेशी विद्यार्थी अवार्ड पनि प्राप्त गरेर आफ्नो अब्बल क्षमता प्रदर्शन गरेका थिए। लान्चौबाट विद्यावारिधी गरिसक्दा उनलाई चीनकै ख्यातिप्राप्त शाङहाईको फुतान विश्वविद्यालयले पोष्टडक गर्नका लागि आमन्त्रण गरेको थियो। फुतानमा एक वर्ष पोष्टडक गरेपछि उनलाई क्वाङचौस्थित साउथ चाइना नर्मल विश्वविद्यालयले सहप्राध्यापक सो सरहको पदमा काम गर्ने अवसर दिएको हो।

2 thoughts on “चीनमा नेपालीलाई अनुसन्धान अनुदान

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved