(हरेक स्थानले आफ्नै ऐतिहासिक, भौगोलिक, सामाजिक, सांस्कृतिक, आर्थिक इतिहास रचेका हुन्छन्। त्यस्ता थलोहरू सभ्यता र संस्कृतिको जगमा उभिएका हुन्छन्। कुनै थलोको विम्ब सामुन्नेमा उभिने बित्तिकै त्यो थलोको सामाजिक-सांस्कृतिक विम्बहरू स्वतः प्रकट हुन पुग्छन् नै।
हाम्रा काव्य-सर्जकहरूले देशका विभिन्न सहर, बजार, ऐतिहासिक, धार्मिक, पर्यटकीय महत्वका स्थानमाथि कविता कोरेका छन्। विशेषतः हामी यो स्तम्भमा स्थानहरूमाथि लेखिएका कविताहरू समेट्ने छौं। यस पटक सुन्दर एवं मनोरम ‘चियाको राजधानी’ का रुपमा चिनिने इलामबारे भुपाल राई, विष्णु निष्ठुरी र गणेश बज्राचार्यका काव्य-अनुभूति समेटेका छौं।)
इलाम
भुपाल राई
निःश्वास-दीर्घताबाट
कञ्चनजंघाको
पहेंलिनुअगावै चुँडिएर कोल्टो पसेकी
हरियो बैंसको पातजस्तो ‘इलाम’
सखारै
दिनभरिलाई पुग्ने गरी
भातको सिता टिपिहिँड्छे- टोकरी
छप्छप्ती चियाबारीभरि
सखारै
अनिदो रातभरिको
पखालिहिँड्छे शीतहरूमा
छप्छप्ती चियाबारीभरि
दिनभरि
माईखोलाबाट ब्युँझेको व्याप्त हुस्सु बोकेर
थोरै उष्णता पिउँछे आफै- आफ्नै बैसको
र रातभरि
अन्धकारको बीच टुँडिखेलमा
दाम्लो चुँडाएर डुक्रिहिँड्ने साँडेहरूबाट
तर्सी बस्छे
भोका आँखा र रक्स्याहा ओठहरूबाट
चुसिन्छे
बेस्सरी लुटिन्छे
र थकित भएर
चियाका प्रत्येक पोथ्राहरूमा
निर्वस्त्र-निर्लज्जता मञ्जुर गर्छे
भोलिपल्टै फेरि
लाजको करिया टक्टकाउँदै
चोक, बजार र अड्डाहरूमा
मुस्कानको ल्याप्चे लगाउँछे
यसरी हरेक दिन आफ्नो दैनिक बजाउँछे
सँघार बनेर सधैँ- आङ तन्काउँछे
छिमेकीलाई चिल्याउँछे- पहाड उकाल्छे
छिमेकीलाई बाहिर पठाउँछे- मधेस ओराल्छे
घरी
आफ्नै एक बित्ते क्षेत्रफलमा
दोकान थाप्छे, हाट लगाउँछे
माथिल्लो घरेलाई ऋण बोकाउँछे
आलुको बोरा तौलन्छे
तल्लो घरबाट ऋण बोक्छे
अलैंचीको भाउ सोध्छे
अक्सर ट्रक र ट्याक्टर चढेर
तराई झर्छे
र दाल-चामल खेप्छे।
इलाम लमतन्न पल्टेकी छे
विष्णु निष्ठुरी
एउटा आलस्यको निद्राजस्तो भनौं कि
सुत्केरीपछिको रिङ्टाको बसाइ
वा धेरै सन्तान जन्मेर पनि हात नरहेकी
अभागिनी आमाको सुताइ भनौं
इलाम लमतन्न पल्टेकी छे।
गोलाखर्क र तिल्केनीको गोडा पसारेर
क्यान्सर लागेको चुरेघाँटी- गहनारहित गला बोकेर
पूरै माइपोखरीको टाउको सिरानीविना
कुर्कुच्चा, पाइतालामा छल्को हान्दै बगेका
पुवा र माईखोलाइहरूमा
मैलो, निन्याउरो कपाल पाखाहरू
महभीर, बालन गाउँ दुई हातहरू
जुरुक्क उठेर धुने वर्गत नभै
इलाम लमतन्न पल्टेकी छे।
कुनै सशक्त वीर पौरुषताको गर्भाधानविना
जाँगरिला र तपस्वी सन्तान जन्माउने
अभिलाषा त्यसै खेर गै
तरुणवय बिताइसकेको छ इलाम
नतमस्तक सन्तान डाँडाहरूमा
घामले झुल्को पोखिदिँदा उराठिलो देखिएपछि
कोल्टे फेर्न नसकी लमतन्न आँखा चिम्लेर
शरीरभरि काँडा उमारेर ठिहीहरूको
कठाङ्ग्रिदै पल्टिरहेकी छे इलाम-
इलाम लमतन्न पल्टेकी छे।
इलामसित
गणेश बज्राचार्य
प्रिय,
तिमी श्रीअन्तु, माई र चुरेलाई
अँगालोभित्र बेरेर
पूर्ण यौवना सज्जाभित्र लज्जालु भावमा
लोलाइरहेको देख्दा
मेरा भावनाका नदीहरू तरङ्गित भइदिन्छन्-
निर्बाध
गतिशील…अनन्त
कल्पनाका नागबेली रङ्गाउँदै।
थाहा छैन यो शृंखलाको क्रम कहाँ टुङ्गिने हो।
आँखाभित्र न्यानो माया बोकेर
मनभित्र मृदु स्मरणको छाप-
म तिमीलाई पछ्याइरहेछु।
तिम्रो अवर्णनीय सौन्दर्यको छाप
मनभित्र कोरेर
थाहा छैन म तिमीलाई कहाँ लैजाँदैछु।
कटुसत्य त यो हो कि प्रिय,
तिम्रो पछ्यौरीभित्रको लुकामारी-
घाम छायाँ बादल झरी-
एक मुट्ठी मायाको प्रतीक बनेर
चुरेघाँटी अनि बिब्ल्याँटे भएर पर्खिरहेछ।
अनि चियाबारी र अलैंचीघारी भए
तिमी
लाग्छ- फक्रिरहेछौ
मेरो मनको आँगन वरिपरि
कल्लोल भिर्दै साँगीतिक लहरहरू सँगसँगै
तिमी सिंहमाई र माइखोलाभरि फक्रिरहेछौ।
लाग्छ- तिमी युवा जोश, जाँगर र उमंगभित्र
साहित्य, संस्कृति र कला भएर फुलिरहेछौ
चोक बजारभरि-प्रतिष्ठानहरूभरि।
म अलमस्त भएर
तिम्रा हरित आगतको अविश्रान्त रस्वादनमा
आफैभित्र हराइरहेछु।
म हराइरहेछु-बिर्सिइरहेछु-बिर्सिरहेछु-आफैलाई हराइरहेछु
विगत अनि आगतको शृंखलाको पूल
तिम्रो मुस्कानभित्र आफैलाई बिलाइरहेछु।
मुटुभित्र कोरिएका भावनाका असंख्य उहापोहहरू
क्रमशः अतिक्रमण गर्न लाग्दछन्-
म विवश
विवशताभित्र गुम्सिएर- आफैभित्र पाकेर
आहभित्र सिकुडिरहेछु।
ओह प्रिय,
तिम्रो विछोडमा विदीर्ण भएर
पीडाभित्र आश्ँखा रसाइरहेछु।
तर,
तर मलाई पलायन नठान
तिम्रा गुलाबी आह्वानका संकेतहरू
बिहानीको घाम झैं स्वच्छ भै
डाँडामाथि माथि उक्लिरहेको
कञ्चनजंघाले प्रतिविम्बित गरिरहेको म देख्तैछु।
तिमी वसन्त भएर डाँडा पाखाभरि झुल्किदेऊ
मात्र प्रिय
म घामका किरणहरू भएर तिमीलाई भेट्न आउनेछु
चियाबारीभरि, चुरेघाँटीभरि, बिब्ल्याँटेभरि
माइपोखरीभरि, श्रीअन्तुभरि, तिम्रो आँगनभरि
म आस्था, विश्वास र सिर्जनशीलता बनेर
भेट्न आउनेछु सिंहमाई, माइखोला र चोक बजारभरि
म तिमीलाई भेट्न आउनेछु।
००
Facebook Comment
Comment