काठमाडौँ । महानगरपालिका–१९ मा सफाइकर्मीहरुलाई सहज होस् भन्ने उद्देश्यले सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनमा ल्याएको छ। कामपा र फ्रान्सको मेड्सा डू मोन्डको आर्थिक साझेदारीमा साबिकको स्वास्थ्य क्लिनिकलाई स्तरोन्नति गरेर ओपिडी सेवासहितको केन्द्र सञ्चालनमा ल्याइएको हो।
उक्त सेवा बिहीबारदेखि सञ्चालनमा आएको छ। सहरी समुदायको स्वास्थ्यमा अनौपचारिक क्षेत्रका सफाइकर्मीलाई पहुँच बढाउन स्वास्थ्य केन्द्रलाई सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका रुपमा स्तरोन्नति गरिएको कामपाको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए।
केन्द्रमा एक डाक्टर, एक स्टाफ नर्स, एक हेल्थ असिस्टेन्ट, एक ल्याब असिस्टेन्ट र एक कार्यालय सहयोगी रहने व्यवस्था गरिएको छ। प्रवक्ता डङ्गोलले केन्द्र सञ्चालनका लागि समन्वय समिति तथा रणनीतिक र व्यवस्थापन समिति गठन गरिएको बताए। क्लिनिकमा ओपिडी सेवा र औषधि निःशुल्क हुनेछ । प्रयोगशाला सेवा भने सहुलियत शुल्कमा उपलब्ध हुनेछ। यसमा पनि सरसफाइजस्तो जोखिममा काम गर्ने व्यक्तिहरुका लागि थप छुटको व्यवस्था गरिएको छ।
Facebook Comment
Comment