सुदूरपश्चिमविरुद्ध आर्मीको तीन विकेटको जित

सुदूरपश्चिमविरुद्ध आर्मीको तीन विकेटको जित
फाइल फोटो

काठमाडौं। प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्धको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ। आर्मीको यो दोस्रो जित हो।

मूलपानी क्रिकेट मैदानमा समूह ‘ए’अन्तर्गत आज भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेको हो। चार खेलमध्ये हार्मीले दुईमा जित हासिल गरेको हो। आर्मीले यसअघि कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको थियो भने नेपाल पुलिस क्लबसँग चार विकेटले हार व्यहोरेको थियो। तेस्रो खेल हुन नसकेपछि आर्मीले प्रदेश नं १ सँग एक-एक अंक बाँडेको थियो।

सुदूरपश्चिमले भने पुलिसविरुद्ध पहिलो खेलमा दुई रनले पराजय भोगेको थियो भने कर्णाली प्रदेशलाई ४७ रनले पराजित गरेको थियो।

आजको खेलमा ११६ रनको लक्ष्य आर्मीले अन्तिम बलमा ७ विकेट विकेट गुमाएर पूरा गर्‍यो। आर्मीका लागि हरि चौहानले ३३ रनको योगदान दिए। विक्रम सोबले अविजित २९, भीम सार्कीले १३, शाहब आलमले १२ तथा कुशल मल्लले ११ रन बनाए। बलिङतर्फ सुदूरपश्चिमका आदित्य महताले सर्वाधिक ४ विकेट लिए। यस्तै नारायण जोशी, हेमन्त धामी र शेर मल्लले एक-एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा सबै विकेट गुमाउँदै ११५ रन बनायो। उसका लागि खडक बोहराले सर्वाधिक ३७ रन जोडे। वसन्त कार्कीले ३४ र अर्जुन साउदले १५ रन बनाए। बलिङतर्फ आर्मीका विक्रम सोबले उत्कृष्ट खेल प्रदर्शन गरे। उनी एक्लैले ६ विकेट लिए। चार ओभर बलिङ गर्ने क्रममा सोबले मात्र आठ रन खर्चे। यस्तै कुशल मल्ल, शाहब आलम र हरि चौहानले एक एक विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved