भीडभाड हुन दिँदैनौं, आवश्यक ठाउँ हेरेर मात्र लकडाउन गर्छौं : स्वास्थ्यमन्त्री खतिवडा
नेपालभ्युज
फाइल तस्वीर
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्।
बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि मन्त्री खतिवडाले यसअघि अन्य देशहरूको कुरा सुनेर लकडाउन गरे पनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताए। यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने उनले बताए। मन्त्री खतिवडाले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकाले लकडाउन हुन्छ भनेर आत्तिनुनपर्ने उनले बताए।
मन्त्री खतिवडाले भने, “आवश्यक्ताअनुसार ठाउँ विशेष गर्न सक्छौँ। त्यसैले तत्काल लकडाउनको विषयमा आतंकित हुनु पर्दैन। रोगव्याधको विषयमा पनि हामीले सकेसम्म नलागोस् लागे पनि हामीले सबै ठाउँमा आइसोलेशन वार्डहरू, आईसीयू, अक्सिजन, पहिलो भेरियन्टको बेलाभन्दा दुई तीन गुणामाथि इक्विपमेन्ट र टेण्ट भएका छौँ। नागरिकलाई असजिलो पर्दा सरकार तयारीका साथ बसेको छ। स्वास्थ्यकर्मीहरू हामीले तयारीका साथ राखेका छौँ।”
मन्त्री खतिवडाले कोरोनाको तेस्रो भेरियन्टबाट बच्न होशियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरे। कोरोनाको पहिलो र दोस्रो डोज लगाएर सुरक्षित बस्न पनि आग्रह गरे। मन्त्री खतिवडाले विज्ञहरूले बुस्टर डोज लगाएपछि तेस्रो भेरियन्टबाट बच्न सहज हुने बताएकोले आउँदो माघ पहिलो हप्ताबाट अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई बुस्टर डोजको व्यवस्था गरिएको जानकारी दिए। माघको दोस्रो हप्तामा ६० वर्ष माथि उमेरसमूहका नागरिक र तेस्रो वा चौथो हप्ताबाट आम नागरिकहरूलाई कोरोनाविरुद्ध बुस्टर डोज उपलब्ध गराउने पनि बताए।
मन्त्री खतिवडाले स्वास्थ्यकेन्द्र जानका लागि सहज बनाउन सरकारले विद्यालयलाई नै खोप केन्द्र बनाएको उल्लेख गर्दै नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरे। कोरोना खोप लगाउन अस्पतालमा भीड भइरहेको प्रशंगमा मन्त्री खतिवडाले विभिन्न अस्पताललाई खोप केन्द्र बनाइएको र अझै थप गरेर भीड हुन नदिने बताए।
Facebook Comment
Comment