भक्तपुर। नेपाल भारोत्तोलन संघले शताब्दी पूरुष सत्यमोहन जोशीलाई सम्मान गरेको छ। आजबाट शुरू भएको २४ औं पूरुष तथा नवौं राष्ट्रिय महिला भारोत्तोलन च्याम्पियनसिपका दौरान जोशीलाई सम्मान गरिएको हो।
नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस), मध्यपुर नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलगायतले जोशीलाई सम्मान गरे। शताब्दी पूरुषको उर्जा र सक्रियाबाट सबैले प्रेरणा लिनुपर्ने नगरप्रमुख श्रेष्ठले बताए।
२९ पुससम्म चल्ने प्रतियोगितामा २२ वटा तौल समूहमा विभिन्न जिल्ला र विभागिय टोलीका कुल १ सय ४० खेलाडीहरू सहभागी छन्। प्रतियोगिताको पहिलो दिन सिनियर पूरुष ५५ केजी तौल समूहमा दुई नयाँ रेकर्ड बनेका छन्।
नेपाल प्रहरीका गणेश रानाभाटले १ सय १ केजी भार बहन गर्दै सिनियर ५५ केजी क्लिन एन्ड जर्कमा आज राष्ट्रिय किर्तिमान बनाएका हुन्। यसअघि यही क्याटागोरीमा आजै नेपाली सेनाका तुलाराम महतोले १ सय केजी भार बहन गरेर किर्तिमान बनाएका थिए। गणेशले आजै उनको किर्तिमान भंग गरे।
कार्यक्रममा १० औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता कमल बहादुर अधिकारी र १३ औं सागमा स्वर्ण पदक प्राप्त गर्न सफल विकास थापा र सञ्जु चौधरीलाई पनि सम्मान गरिएको छ। संस्कृतिविद् सत्यमोहन जोशी, मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ र पूर्ण शंकर श्रेष्ठले खेलाडीहरूलाई सम्मान गरेका हुन् । सम्मानित खेलाडीहरूलाई पूर्ण शंकर श्रेष्ठले व्यक्तिगत रुपमा जनही नगद १० हजार रुपैयाँ प्रदान गरेका थिए।
Facebook Comment
Comment