रोल्पा साहित्य महोत्सव ‘पितृसत्तात्मक चिन्तनको उपज’

यसअघिका जस्तै रोल्पामा हुन लागेको साहित्य महोत्सव पनि महिला सहभागिता शून्यप्रायः भएकाले आलोचित भएको छ।

रोल्पा साहित्य महोत्सव ‘पितृसत्तात्मक चिन्तनको उपज’

काठमाडौं। रोल्पाको सुनिलस्मृति गाउँपालिकाले आयोजना गर्न लागेको ‘सुनिलस्मृति साहित्य महोत्सव’ को कार्यक्रम तालिका के सार्वजनिक भएको थियो, विवादमा परिहाल्यो।

महिला सहभागिता नभए बराबरकै भएको भन्दै महिला अभियन्ता र साहित्यकारहरूले उक्त कार्यक्रमको विरोध गरेका छन्।

फेसबुकमा कवि सम्पदा रिजालले उक्त कार्यक्रमलाई भाले पुराणको संज्ञा दिएकी छन्। उनको प्रश्न छ- ‘वर्षैपिच्छे हुने लाजमर्दा भाले भेलाहरू कहिले बन्द होलान् ?’

त्यस्तै सामाजिक अभियन्ता मनोज खतिवडाले त कविता सुनाउन रोल्पासम्म काठमाडौंबाट पुग्नै नपर्ने भन्दै फेसबुकमा उक्त कार्यक्रमको तालिका सेयर गर्दै प्रश्न गरेका छन्-

‘समावेशिता र समानुपातिक प्रतिनिधित्वमा मानक स्थापित गरेको जनयुद्धको योद्धाको नाममा भइरहेको कार्यक्रममा पुँजीवादविरुद्ध कविता सुनाउन मिल्छ कि मिल्दैन ?’

सामाजिक सञ्जालमा आलोचना हुन थालेपछि कार्यक्रममा एउटा सेसनका सहजकर्ता रहेका समीक्षक गुरुङ सुशान्तले सहभागी नहुने जनाएका छन्। कार्यक्रम समावेशी नभएको भन्दै उनले कार्यक्रममा सहभागी हुन असमर्थ रहेको जनाएको उल्लेख गरेका छन्। त्यस्तै कवि तथा पत्रकार राजु स्याङतानले पनि सहभागी नहुने जानकारी सामाजिक सञ्जालबाटै दिएका छन्।

किन भयो आलोचना ?

यसरी महिला सहभागिता नभएको भन्दै विरोध भएको पहिलोपटक भने होइन। यसअघि पनि विभिन्न कार्यक्रममा महिला सहभागिता नभएकाले आलोचना हुने गरेको थियो। पुरुषमात्रै सहभागी गराइएको ‘प्यानल’लाई आलोचकहरूले ‘म्यानल’ नामाकरण गर्ने गरेका छन्। आखिर किन गरिन्छ आलोचना ?

साहित्यकार सरिता तिवारी कुनै एक महोत्सवको मात्र नभई समग्र चिन्तनकै विरोध गरेको बताउँछिन्।

“यस्ता चिन्तन विरुद्ध हामीले आवाज नउठाए योगमायादेखि शुरु भएको परिवर्तनकारी महिला वा पुरुषले गरेका अहिलेसम्मका संघर्षको प्रतिफल पछाडि धकेलिन्छ”, तिवारी भन्छिन्, “महिला सहभागिता नगराउनु अन्यायपुर्ण छ  यस्तो समस्या बारम्बार दोहोरिन नदिन प्रतिकार गर्नुपर्छ।”

यसरी महिला सहभागिता नगराउनु पितृसत्तात्मक सोचको परिणाम भएको उनको तर्क छ।

“बौद्धिक काम छलफल तथा बहस कहाँ महिलाले गर्न सक्छन् त, महिलाहरूमा बहस गर्ने, साहित्य लेख्ने, ल्याकत नै हुँदैन भन्ने चिन्तनको परिणाम हो यो”, तिवारी भन्छिन्।

यही सोचका कारण आन्दोलनमा राजनीतिक आन्दोलनमा सहभागी भएका महिला पनि पछि पछि हट्न बाध्य भएको उनको टिप्पणी छ।

विभिन्न राजनैतिक आन्दोलनमा महिलाको हुल जुटाउँछन् तर आन्दोलनमा होमिएपछि पुन पितृसत्तात्मक सोचका कारण पछि हट्न बाध्य हुने तिवारी बताउँछिन्।

निर्णय तहमा पुरुषहरू मात्रै भएकाले यस्तो चिन्तन हावी भएको उनको विश्लेषण छ। भन्छिन्, “हरेक क्षेत्रको नेतृत्व पनि पुरुषले नै गरिरहेका छन् निर्णायक क्षेत्रमा पनि पुरुषकै वर्चस्व छ।”

त्यस्तै तर्क छ लेखक सावित्री गौतमको पनि।

“बोली बिक्ने पदमा पुरुषहरू छन्, आयोजकको सम्पर्कमा पनि यस्ता व्यक्ति नै सम्पर्कमा हुन्छन्”, गौतम भन्छिन्, “त्यसैले पुरुषलाई मात्र निमन्त्रणा दिने गरिन्छ। देखावटीका लागि एक, दुईजनासँग सम्पर्क गर्छन्। उनले असमर्थता जनाए विकल्प खोज्दैनन्।”

नेपाली महिलाको सामाजिकीकरण नभइसकेकाले यस्ता कार्यक्रम आयोजना गर्ने तहमा नभएकाले पनि पुरुषहरू नै हावी हुने गरेको उनको टिप्पणी छ।

“महिलाहरू अझैपनि साँझसम्म बाहिर बस्ने, दारु खाने गर्दैनन्, नेपाली महिलाको त्यति सामाजिकीकरण नै भइसकेको छैन”, उनी भन्छिन्, “ओइ आइजा न यार भन्ने लेबलमा महिला पुगेका छैनन्।”

आयोजकले बाहिरबाट महिला लैजानैपर्ने बाध्यकारी नभएको बरु स्थानीय प्रतिभालाई नै स्थान दिनु उपयुक्त हुने उनको सुझाव छ।

“लोकल सक्रिय महिला किन नराख्ने ? सधैँ आफ्ना सम्पर्कमा भएका बाहेक टाढा जाँदैनन्”, उनको आक्रोश छ, “आफ्नो आसेपासे र खल्तीका मान्छेभन्दा टाढा जाँदैनन्।”

के भन्छ आयोजक ?

सुनिलस्मृति साहित्य महोत्सवका आयोजक भने हरेक प्रदेशबाट एक जना महिला सहभागी गराउने लक्ष्य राखेको तर पूरा हुन नसकेको बताउँछन्।

“पाँच/छ जना महिलासँग कुरा भएको थियो तर रातभरि बस चढेर नआउने भन्नुभयो”, आयोजक संस्थाका दिलीप कुँवरले भने, “कार्यक्रमको बजेट सानो छ, साढे चार लाखमा सबै व्यवस्थापन गर्नुपर्ने भएकाले प्लेन टिकटको व्यवस्था गर्न सकिएन।”

यद्यपी उनले महिला सहभागिता सुनिश्चित गर्न नसक्नु आफ्नो कमजोरी भएकाले स्विकार गरे।

“हाम्रो कमजोर पक्षलाई प्रहार गरिरहेका छन्, तर यसमा हामीलाई केहि दुःख छैन, एक महिनादेखि गर्दै आएको काम एक दिनमा नै कन्टोभर्सी भएर भाइरल भइदियो केही भएन कार्यक्रम चाहि तोकिएको समय र स्थानमा हुन्छ नै।”

सामाजीक सञ्जालमा महिला सहभागिता नभएको बिषयमा चर्को आलोचना भइरहे पनि पनि कार्यक्रम तालिका संशोधन गर्ने कुनै तयारी आयोजकसँग छैन।

दोधारमा वक्ता

कार्यक्रममा वक्ताका रूपमा बोलाइएका कवि एवं गीतकार श्रवण मुकारुङ सहभागी हुने, नहुने विषयमा दोधारमा परेको बताउँछन्।

एक वर्षदेखि आयोजकले बोलाइरहेको कार्यक्रम सामाजिक सञ्जालमा आलोचना भएपछि अन्योल भएको उनले बताए।

“मेरो ठाउँमा अरू कुनै महिला कविलाई रिप्लेस गर्न भन्या छु, अब के हुन्छ हेरम”, मुकारुङले भने, “आयोजकले कार्यक्रममा सहभागी हुन अनुरोध गर्नुभयो, मैले त्यहाँ को राखेको छ छैन, यो भए आउँछु त्यो भए आउँदिन भन्नु मलाई अफ्ठयारो हुन्छ।”

महिला सहभागिता नभएको विषयमा आयोजकको धारणा माग्ने र सुनिश्चित गर्न लगाउने उनले जानकारी दिए।

“महिला मात्र होइन, मधेशी, दलित जनजाती लगायत अनेक विचार समुहका मानिस समेटिएर वैचारीक समावेशिता भए झन् भव्य हुन्छ”, मुकारुङको तर्क छ।

महोत्सवमा वक्ताका रूपमा छनोट भएका कवि श्यामल पनि मुकारुङजस्तै अन्योलमा छन्।

“कार्यक्रममा महिलाको सहभागिता हुनुपर्छ, समावेशिता हुनुपर्छ” उनी भन्छन्, “हामीले जुन गणतन्त्र र लोकतन्त्र ल्याएका छौं, त्यो समानुपातिक समावेशी लोकतन्त्रको मोडल हो, सबै ठाउँमा त्यो खालको मोडल हुन सके राम्रो हो।”

कार्यक्रममा सहभागी कोको छन् भनेर नुबझ्नु आफ्नो असावधानी भएको उनले बताए।


Comment

One thought on “रोल्पा साहित्य महोत्सव ‘पितृसत्तात्मक चिन्तनको उपज’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved