तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानका महिला उद्यमी बेरोजगार बन्दै

अफगानिस्तानमा भएको राजनीतिक परिवर्तनसँगै त्यहाँका महिला उद्यमीको व्यवसाय धरासायी बन्दै गइरहेको छ।

तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानका महिला उद्यमी बेरोजगार बन्दै
सन् २०१७ मा खिचिएको अफगान महिला उद्यमीको तस्वीर। स्रोतः रूमी कन्सट्यान्सी।

काबुल। अफगानिस्तानकी करिमा रहिमयारले कपडा फ्याक्ट्रि र च्याउ खेतीमा लगानी गरेकी थिइन्। तर त्यहाँको निर्वाचित सरकारलाई तालिवानले अपदस्थ गरेपछि उनको व्यवसाय ठप्प भएको छ। उनको कपडा फ्याक्ट्रिमा ३० भन्दा बढी महिला कामदार कार्यरत थिए, तर अहिले उनीहरू सबै बेरोजगार बनेका छन्।

“सरकार सँगै म पनि ढलेँ,” रहिमयार भन्छिन्, “हाम्रो उद्योगले महिलाहरूलाई सहयोग गर्थ्यो। म त्यो उद्योगको प्रमुख थिएँ, तर अब रहिनँ। अहिले म पनि बेरोजगार भएको छु।”

रहिमयारको च्याउ व्यवसायमा भने २० जना महिला काम गर्थे। सरकारमा भएको परिवर्तनको असर उनको च्याउ खेतीमा पनि पर्यो। उनीहरूले उत्पादन गर्ने च्याउले बजार पाउन छोड्यो।

“हामीले उत्पादन गरेको च्याउ किन्नै छोडिदिए,” उनले भनिन्, “त्यसपछि च्याउको बीउ किन्नै सकिनँ।”

रहिमयार ११ वर्षदेखि उद्यमीका रूपमा कार्यरत छिन्। महिला वाणिज्य तथा उद्योग च्याम्बरको तथ्यांक अनुसार महिला उद्यमीहरूले विभिन्न क्षेत्रमा आठ करोड एएफएस (अफगानी पैसा) लगानी गरेका छन्। च्याम्बरका अनुसार झण्डै २ हजार ५ सय कम्पनीहरूको नेतृत्व महिलाले गरेका छन्।

“महिलाले लगानी गरेको आठ करोड एएफएसले ७० देखि ७७ हजारलाई रोजगार दिलाएको थियो”, महिला वाणिज्य तथा उद्योग च्याम्बरकी अध्यक्ष अफ्साना रहिमीले भनिन्, “देशको अर्थतन्त्र विकासमा उनीहरूको सक्रिय सहभागिता देखाउँछ।”

पहिले अफगानिस्तानमा महिला आर्थिक परियोजनाहरूलाई समर्थन गर्ने संस्थाहरू थिए, तर ती सबै अहिले रोकिएका छन्।

-अफगानिस्तानको टोलो न्युज डटकममा प्रकाशित समाचारको अनुवाद


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved