पुस्तक

‘जीवनको पाठशाला’– आत्मसज्जाबाट टाढै

‘जिन्दगीमा कहिल्यै जेट नचढेको मान्छे म, एकैचोटि अमेरिका जाने भन्दा खुसीभन्दा पनि बढी उकुसमुकुस भयो। गिरिजाबाबुकहाँ गएर अप्ठ्यारो मान्दै सोधेँ, ‘म किन जाने हो अमेरिका ?’

‘जीवनको पाठशाला’– आत्मसज्जाबाट टाढै

आत्मकथा नभनीकनै, नेपाली कांग्रेसको राजनीतिबाट दीक्षित र पूर्ववर्ती समयमा राजकीय प्रतिष्ठा र सुविधा–प्राप्त नरहरि आचार्यले आफ्नो आत्मकथा ल्याएका छन्– ‘जीवनको पाठशाला– सम्झना र सम्बन्ध’। यो उनको बाल्यकालदेखि प्राज्ञिक कर्म हुँदै कांग्रेसको राजनीतिमा तन्मय हुँदै भिज्दा भोगेका आरोह–अवरोहप्रति सम्यक अन्तरदृष्टिको रेखाङ्कन हो।

आत्मकथामा आचार्यले एक ठाउँमा नेपाली कांग्रेसको बीजारोपण गर्ने, प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाप्रतिको दृष्टिकोण यसरी पस्केका छन्, ‘आठ वर्षको जेल जीवनमा बीपीले उपन्यास र कथा लेखे, कांग्रेसको इतिहास भने लेखेनन्। आफ्नो जेल–जर्नलमा उनले नेपाली कांग्रेसको इतिहास शैलजाले लेख्ने कुरो गरेका छन्। सायद, त्यसैले त्रिभुवन विश्वविद्यालय विद्यार्थी युनियनले आयोजना गरेको विचार गोष्ठीमा बोल्दै एकपल्ट मैले भनेको थिएँ, बीपी मूलतः साहित्यकार नै हुन्, वातावरण र परिस्थितिले मात्रै राजनीतिज्ञ भएका हुन्।

कुनै बेला बीपी कोइरालाप्रति उनले अभिव्यक्त गरेको मूल्याङ्कन उनकै जीवनपथका निम्ति पनि सुहाउँदिलो देखिन्छ, पुस्तक पढ्दा। तीसको दशकयता प्राध्यापन पेसामा आबद्ध आचार्यले जानेको कर्म प्राध्यापन नै थियो। साँच्चै, उनले बीपीलाई भनेजस्तै उनी पनि ‘वातावरण र परिस्थितिले मात्रै राजनीतिज्ञ भएका हुन्।’

पछिल्लो समय समाजका प्रतिष्ठित र ‘बदनाम’ दुवै श्रेणीका व्यक्तिले आफ्नो आत्मकथा ल्याइरहेका छन्। अधिकांश व्यक्तिले आत्मकथालाई आफ्नो जीवनका कर्तुतहरू धोइपखाल्ने माध्यमसमेत बनाएका छन्। अचेल कुनै आत्मकथा बजारमा आउँदा पाठकहरूले संशयपूर्ण नजरले हेर्नु स्वाभाविकजस्तै बन्न पुगेको छ।

हामीले विश्वप्रसिद्ध महान् व्यक्तिहरूका आत्मकथा, जीवनी र डायरीहरू पढेका छौँ। चाहे महात्मा गान्धीको होस् वा नेल्सन मण्डेलाको। चाहे हिटलरको होस् वा बिल क्लिन्टनको। उनीहरूका आत्मकथामा आफू बाँचेको समाज र इतिहासको शब्दचित्र स्पष्ट रुपमा सतहमा तैरिएका देखिन्छन्।

आचार्यको ‘आत्मकथा’ मा पनि समाज र इतिहास बारम्बार तैरिएका छन्। मूलतः बीसको दशकयता नेपाली प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसले निर्वाह गरेको भूमिकाका मुख्य–मुख्य पाटाहरू यो आत्मकथामा देख्न सकिन्छन्। तात्कालिकदेखि आजपर्यन्तका सामाजिक परिदृश्यलाई रेखाङ्कन गर्ने कार्यमा उनको अथक प्रयत्न देख्न सकिन्छ।
००

हरेकजसो मानिसले जीवनमा रिस, राग, विद्वेष, कुण्ठाजस्ता विसंगत पक्ष अँगालेका हुन्छन्। त्यसलाई उनीहरूले कुनै न कुनै माध्यमद्वारा पोख्छन् पनि। आचार्यले भने जीवनमा आफूलाई धोका दिएका, व्यवसाय गर्ने नाममा डुबाएका र मानसिक द्वन्द्वमा फसाएका व्यक्तिहरूप्रति खासै तितो र कटु टिप्पणी गरेका छैनन्। पीडकहरूप्रति उनको क्षमाभावले अचम्मित नै तुल्याउँछ। सायद, जीवनभर मांसाहारबाट पृथक रहेका उनमा त्यसले पारेको प्रभाव हो कि ? हुन पनि उनी जीवनभर नै मांसाहारी बनेनन्।

एउटा प्रसङ्ग, २०४८ सालमा राष्ट्रिय सभामा निर्वाचित भएपछि उनलाई अमेरिका घुम्ने अवसर जुर्छ। उनी जुन हवाईजहाजमा यात्रारत रहन्छन्, मासुसहितको खाना आउँछ। उनले एक जना अमेरिकी कोअर्डिनेटर साथीलाई भन्छन्, ‘म त मासु खान्नँ।’ ती साथीले मासु झिक्दै भन्छन्, ‘मासु म खाइदिन्छु, तिमी अरू खाऊ।’ लेखेका छन्, उनले, ‘भोक लागेको थियो, मासुले नछोएको, नछोएको तानेर मैले पनि खाएँ।’

जीवन–यात्रामा भेटिएका अनेक पात्रप्रति उनको दृष्टिकोण पोखिएका छन्। धेरैसँग भेट हुन्छ, उनको। कहिले नाट्य सम्राट् बालकृष्ण सम, कहिले योगी नरहरिनाथ, कहिले रूपचन्द्र विष्ट, कहिले पशुपतिशमशेर राणा, कहिले प्रचण्ड–डा. बाबुराम भट्टराईसँग। आफ्नै राजनीतिक दलका सहयात्रीहरूसँग त भेटघाट र तितो–मीठो सम्बन्ध हुने नै भयो। जीवनयात्रामा यस्ता अनेकौँ पात्र आउँछन्, उनलाई भेट्न।

तर, २०३७ साल वैशाख १७ गते नेपाली कांग्रेसका पूर्व सभापति, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पहिलो पटक भेट्दा र उनको भाषण सुन्दा मनभित्र उब्जिएका भावनालाई भने राम्ररी सम्झेका छन्, ‘ल्याङफ्याङ तरिकाले साधारण कमिज र पाइन्ट लगाएको, दाँत उछिट्टिएको, दुब्लो, तालुखुइले मान्छे– उनको व्यक्तित्व सर्सती हेर्दा प्रभावकारी थिएन। बोल्न पनि त्यति राम्रो बोलेनन्। उनी ठूला क्रान्तिकारी हुन्, पार्टी र संगठनको काम सबै उनैले हेर्छन् भन्थे। बीपी कोइरालाको दाहिने हात भन्ने पनि सुनेको थिएँ। त्यो भाषण सुनेपछि मैले सुनेजस्तो मान्छे त होइन जस्तो लाग्यो। भेट्न आवश्यक जस्तो पनि ठानिनँ।’

२०४८ सालमा कोइराला प्रधानमन्त्री बनेपछि भने आचार्य उनीसँग निकट भए र बने कोइरालाको विश्वासपात्र पनि। कोइरालाकै प्रस्तावमा उनी राष्ट्रिय सभामा पुगे, पार्टी–प्रवक्ता, प्रचार विभाग प्रमुखदेखि अरू पार्टीगत जिम्मेवारी पनि लिए। कोइरालासँगको निकटतालाई यी हरफले प्रस्ट पार्दछ, ‘जिन्दगीमा कहिल्यै जेट नचढेको मान्छे म, एकैचोटि अमेरिका जाने भन्दा खुसीभन्दा पनि बढी उकुसमुकुस भयो। गिरिजाबाबुकहाँ गएर अप्ठ्यारो मान्दै सोधेँ, ‘म किन जाने हो अमेरिका ?’
‘अलि दिन घुमेर आउनुस् न।’ उनी चुरोट तानिरहेका थिए।
‘कुन उद्देश्यले जाने हो कि भनेर…।’ मैले फेरि सोधेँ।
‘घुम्ने नै हो नि उद्देश्य’ उनको छोटो उत्तर थियो। उनले सिक्ने–बुझ्ने कुरालाई महत्त्व देलान् भन्ठानेको थिएँ।’

नेपाली काङ्ग्रेसभित्र गणतन्त्रको एजेन्डालाई प्रखर रूपले उठाउने पहिलो व्यक्तिका रुपमा चिनिन्छन्, आचार्य। २०६२,०६३ को जनआन्दोलनताक सडकमा प्रायः सबैले गणतन्त्रको नारा उराले। आचार्यले भने २०५२ साल फागुन ८ गते विराटनगरस्थित कोइराला निवासमा पत्रकार सम्मेलन हुँदा नै भनेका थिए, ‘हामीले माओवादीको विरोध गर्नुपरेका कारण उनीहरू गणतन्त्रवादी भएर होइन। उनीहरूले हिंसात्मक आन्दोलन सुरु गर्न खोजेकाले मात्र हो। अन्यथा हामी सैद्धान्तिक रुपमा गणतन्त्र विरोधी हैनौँ।’

त्यतिबेला उनी संसदीय व्यवस्था मन्त्री थिए र विराटनगरमा बोलेका कुराले तात्कालिक राजनीतिक वातावरणलाई केही हदसम्म तरङ्गित तुल्याएको थियो। तात्कालिक प्रधानमन्त्री शेरबहादुर देउवाले त उनीसँग स्पष्टीकरण नै सोधेका थिए। उनी लेख्छन्, ‘सायद उनलाई राजदरबारबाट केही सोधियो कि ? अन्यथा उनी त्यसरी भाषणको विषयवस्तुमा ध्यान दिने, चासो राख्ने किसिमका मान्छे थिएनन्।’

यद्यपि, पछिल्लो समय राजा ज्ञानेन्द्रले निरंकुश कदम चालेपछि त काङ्ग्रेसभित्र भुसको आगोझैँ फैलिन थालेको गणतन्त्रको आवाजलाई प्रतिनिधित्व गर्ने उनी बने र बन्यो उनको पहिचान नै, ‘गणतन्त्रवादी नेता।’

राजाको प्रत्यक्ष शासनकाल प्रारम्भ भएपछि आन्दोलनरत सात राजनीतिक दल र माओवादीलाई एउटै विन्दुमा उभ्याउने आधारहरू निर्माण हुँदै गए। तात्कालिक समय माओवादीका उच्च तहका नेताहरू भारतमा बस्थे र त्यहीबाटै योजना बनाउँथे। दिल्लीमै सात दल र माओवादीबीच १२ बुँदे सम्झौता भएपछि नेपालमा जनआन्दोलनको वातावरण बनाउन आचार्य दिल्ली पुगे र प्रचण्ड र डा. बाबुराम भट्टराईसँग भेट गरे।

उनले लेखेका छन्, ‘कुराकानी बाबुरामले नै सुरु गरे। मसँग त नरहरिजीको बारम्बार कुराकानी भइरहेको छ। अहिलेको विश्व परिस्थिति र नेपालको राष्ट्रिय सन्दर्भलाई लिएर सही अर्थमा लोकतन्त्रको स्थापनाका निम्ति हुने आन्दोलनमा लोकतन्त्रवादी पार्टीका रुपमा नेपाली काङ्ग्रेसजस्ता पार्टीले नै नेतृत्व लिने हो। कम्युनिस्टहरूले सघाउने हो, हामी माओवादीले पनि सघाउने हो। मैले त यो कुरा लेखिरहेको छु। धेरैलाई लागेको छ, यो कुरा केवल बाबुरामको विचार हो। पार्टी अध्यक्ष प्रचण्ड यसमा सहमत छैनन्। यी सबै कारणले र पार्टीको आधिकारिक व्यक्तिका हिसाबले पनि अध्यक्ष कमरेडबाटै कुरालाई प्रारम्भ गर्न राम्रो होला’ यसरी बाबुरामले आफ्नो संक्षिप्त भनाइ सके।’

गणतन्त्रको एजेन्डालाई दह्रोगरी समात्दै आए पनि त्यो एजेन्डा समात्नेमा उनी पार्टीभित्र एक्लाजस्तै थिए। जनआन्दोलन सफल भइसकेपछि पनि सभापति गिरिजाप्रसाद कोइराला गणतन्त्रप्रति आकर्षित थिएनन्। बेबी किङ र सेरेमोनियल राजतन्त्रको चर्चा चलिरहेका थिए, राजनीतिक वृत्तमा। आचार्यले लेखेका छन्, ‘बेबी किङको अवधारणा त्यतिखेर नेपालका लागि अमेरिकी राजदूत जेम्स मोरियार्टीको थियो पनि भन्थे मान्छेहरू। गिरिजाप्रसाद पनि कुनै न कुनै रुपको राजा राख्ने मनस्थितिमै थिए।’

तर केही समयपछि बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा कोइरालाले ‘अब संवैधानिक राजतन्त्र हटाएर विधानमा गणतन्त्र  राख्यो’ भन्दा आचार्य चकित परे। लेखेका छन्,
‘गिरिजाप्रसादको चाल देखेर म पनि एक छिन आश्चर्यचकित परेँ।’

कांग्रेस विधानमा गणतन्त्र थप्ने प्रस्ताव पारित भएसँगै आचार्यलाई अरू साथीहरूले बधाई दिँदै ‘तपाईँले नै जित्नुभयो’ भन्दा आफूभित्र छचल्किएको खुसीभाव पनि उनले पुस्तकमा व्यक्त गरेका छन्।

मूलतः आचार्यको जीवनानुभव समेटिएको यो आत्मकथामा तात्कालिक समयको नेपाली समाजको मध्य वर्गीय चरित्रको उतारचढावले भरिएको प्रतिध्वनि सुन्न सकिन्छ। र, त्यो प्रतिध्वनिभित्रका धेरै उतारचढावमा तरङ्गित पनि हुन सकिन्छ। उनले आफ्नो जीवनानुभवलाई तर्कपूर्ण दृष्टिले तौलने इमानदार प्रयत्न गरेका त देखिन्छन् नै, कतिपय सन्दर्भमा आफूले अँगालेको राजनीतिक पथ र त्यसले निर्धारण गर्न नसकेको दिशा–दृष्टिप्रति आलोचनात्मक दृष्टि पनि राखेका छन्। जस्तै, २०४२ सालमा नेपाली कांग्रेसले आह्वान गरेको सत्याग्रह र कुनै सूचनाविनै हठात रुपमा त्यसलाई दिइएको अत्येष्टिप्रति उनको गहिरो सन्देह छ,

‘हुन त कांग्रेसले सत्याग्रहको स्थगन वा समाप्ति के गरेको हो, स्पष्ट हुन सकेन। यत्रो ठुलो जन परिचालन भएको कार्यक्रमको पार्टीले कुनै औपचारिक मूल्याङ्कन पनि गरेन।’
००

जीवन–यात्रामा भेटिएका पात्रहरूसँगको उठबसदेखि नियात्रासम्म समेटिएको यो आत्मकथा कुनै कथानक सिनेमा हेरेझैँ गतिशील लाग्छ, त्यही गतिशीलताले नै पुस्तकलाई रोचक र पठनीय तुल्याउन समेत भरमग्दुर सघाउ पुर्‍याएको छ। स्मरण रहोस्, युवाकालमा आचार्य पनि सिनेमाका असाध्यै पारखी थिए र काठमाडौंको जयनेपाल, विश्वज्योति र रञ्जना हलमा हेर्न नपाएका सिनेमा उनी पाटनको अशोक र भक्तपुरको नवदुर्गा हलसम्मै समेत पुगेर हेर्थे।

रमाइलो त, विद्यावारिधि गर्ने उद्देश्य सँगालेर बनारस गएका उनले त्यहाँका सबैजसो सिनेमा हल पनि पुरै चहार्न भ्याए। अझ, हिन्दी फिल्म ‘दो कलियाँ’ की बालकलाकार नीतू सिंहको अभिनय मन परेर त्यो सिनेमा उनले तीन पटकसम्म हेरे। लेख्छन्, ‘पत्रिकाबाट काटेर फ्रेम पनि हालेर नीतू सिंहको फोटो कोठामा झुन्ड्याएको थिएँ। २०२५ साल चैत २३ गते राजा महेन्द्र छात्रावास (संस्कृत छात्रावास) निरीक्षण गर्न आउँदा निरीक्षकले फोटो उल्टाएर राखिदिएछन्।’

सहज र सम्प्रेषणीय भाषा, शैली, शिल्प र बयान–पद्धति सबै किसिमले यो आत्मकथा अब्बल देखिन्छ। आफू बाँचेको समय र समाजका विदु्रपताप्रति उनी न बेखबर देखिन्छन्, न उदासीन नै, बरु त्यसलाई यथार्थपरक ढंगले पस्किँदै सजीव तुल्याउने उपक्रममा समेत जुटेका छन्। मूलतः आचार्यको यो आत्मकथा, आत्मकथाका नाममा लेखिने ‘आत्मसज्जा’ भन्दा धेरै माथि उठेको छ।

उनले प्रस्ट पारेका छन्, कक्षा १ मा पढ्दा उनी प्रथम भएका थिए र पछिल्लो समय स्नातकोत्तर गर्दा पनि प्रथम श्रेणीमा प्रथम भए। विद्यालय र कलेज तहको अध्ययन गर्दा कुनै पनि कक्षामा उनी अनुत्तीर्ण भने भएनन्।

राजनीतिमा उनी कति प्राप्तांक ल्याएर उत्तीर्ण भए ? यो बेग्लै पक्ष हो। आत्मकथा ‘जीवनको पाठशाला’ मा भने उनी एक हिसाबले उत्तीर्ण भएका छन्। तर उनी कति प्राप्तांक ल्याएर उत्तीर्ण भए, आत्मकथा पढेपछि उनको जीवनको प्राप्तांक पाठकहरूलाई जोड्ने अवसर पक्कै पनि मिल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved