कविता

धरान: चार कविता

यसपटक पहाडको काखमा बसेको पूर्वको सुन्दर सहर धरानमाथि अनिल पौडेल, हिम्मत थापा, हर्ष सुब्बा र कृष्णप्रसाद भण्डारीले लेखेका काव्य–अनुभूति समेटेका छौँ।

नेपालभ्युज

धरान: चार कविता

(हरेक स्थानले आफ्नै ऐतिहासिक, भौगोलिक, सामाजिक, सांस्कृतिक, आर्थिक इतिहास रचेका हुन्छन्। त्यस्ता थलोहरू सभ्यता र संस्कृतिको जगमा उभिएका हुन्छन्। कुनै थलोको विम्ब सामुन्नेमा उभिने बित्तिकै त्यो थलोको सामाजिक सांस्कृतिक विम्बहरू स्वतः प्रकट हुन पुग्छन् नै। हाम्रा काव्य–सर्जकहरूले देशका विभिन्न सहर, बजार, ऐतिहासिक, धार्मिक, पर्यटकीय महत्वका स्थानमाथि कविता कोरेका छन्। विशेषतः हामी यो स्तम्भमा स्थानहरूमाथि लेखिएका कविताहरू समेट्ने छौँ। यस पटक पहाडको काखमा बसेको पूर्वको सुन्दर सहर धरानमाथि अनिल पौडेल, हिक्मत थापा, हर्ष सुब्बा र कृष्णप्रसाद भण्डारीले लेखेका काव्य–अनुभूति समेटेका छौँ।)

धरान

–अनिल पौडेल

अनिल पौडेल

धरानले न्यानो अँगालोमा मलाई लपेटेपछि
म तन्नेरी दिन भएर उभिएको छु वर्तमानमा
महेन्द्र क्याम्पसमा पोखिएर असरल्ल
गुरुहरूले अक्षर–अक्षरमा उठाउँदा
म ठम्ठम् हिँडेको छु गन्तव्यमा,
अहिले पनि छोराले घर जान्छु भन्यो भने
म धरानको पुरानो बजारलाई सम्झिन्छु
तीजमा दर खाने कुरा गरिन् भने श्रीमतीले
भानुचोक छेउको
छेमाको होटललाई सम्झिन्छु।

रत्नचोकमा
बुद्धचोकमा
भोटेपुलमा
या छाताचोकमा
जताततै त्यतिबेला धरान
ब्याड राख्न बनाएको
नर्सरीको माटोजस्तै उर्वर थियो
बम देवानहरू शीतल छहारी दिएर
ससाना बिरुवालाई हुर्काउँथे
गोविन्द विकल र कृष्ण पाख्रिनहरू
कुटे र पसनीले गोडमेल गर्थे।

दिक्पालजी,
भालेहरू मात्र बासे भनेर
कुन्ताले पोथी गर्जन गर्जेको धरान
हिजोआज
घोपाक्याम्पमा डाक्टरहरू मात्रै उमार्दैछ
कि वेणु आचार्यलाई पनि जाँच्तैछ ?
देवलाल सरसँगै मलामी गयो
कि आफ्नो आयु पनि साँच्तैछ ?

 

धरान
–हिक्मत थापा

हिक्मत थापा

युगौँदेखि निश्चल सुब्बा बाजेको
अस्थिपञ्जर बोकेर
मलाया र हङकङको यात्रापछि
थकाइ मार्नमा नै व्यस्त छ,
फेसन र बोतलको परिवेशभित्र
जिउँदै लोग्नेका विधवा ऊ
चुम्बन आलिङ्गनमा नै मस्त छ।

 

बूढाहरू धरानका
–हर्ष सुब्बा

बूढाहरू
धरानका
तरुनी–तन्नेरी देख्दा
छक्क पर्छन्
चुपचाप छन्
हेर्छन्
अरू
के पो गर्न सक्छन् ?

कथा सुनाउँछन्
कथा सुनाउन मात्र सक्छन्
बूढाहरू
धरानका
आफ्नो कथा
आफैलाई सुनाउँछन्
र,
बितेको बैँसलाई
स्याबासी दिन्छन्

हर्ष सुब्बा

धरानका
बूढाहरूसँग
धरानका
ठिटाहरूको गुनासो छ
कि
धरानमा
बूढाहरू छैनन्
जो छन्
रङ्गढङ्गका छैनन्
बूढा भन्न लायकका छैनन्
धरानको
ढङ्ग सप्रिँदैन
भन्छन्
बूढाहरू
धरानका
भन्न मात्र सक्छन्
भन्न त
धेरै थोक भन्छन्
तर कसले, कहाँ सुन्छन् ?

सुन्दैनन्,
कसैले नसुन्दा
धरानका
बूढाहरू
धरानका बूढाहरूलाई
अर्ती–उपदेश दिन्छन्

जमाना खराब छ
आजकल
ठिटाहरूले
बूढाखाडालाई सराप्छ।

 

धरान
–कृष्णप्रसाद भण्डारी

जीवनको मोह कसलाई हुँदैन
आस्था र प्रेम जीवन्त छ भने
कर्मभूमि हो एउटा संघर्षको
कति खेप्नु छ अझै धरानले।

धरानमा के छैन ?
सबैथोक छ
कुण्ठा र ईर्ष्या छन् त के भयो
अझै तातेकै छ धरान
जन्माउँदो छ दिनहुँ धरानले
नयाँ विचार र अनुहारहरू
पठाउँदै थियो अस्तिसम्म
मलाया, ब्रुनाई र हङकङ
खै, आज के भयो धरानलाई
सुते सुतेजस्तै छ
ब्युँझने ब्युँझँदा छन् धरानमा
सुत्ने सुतेकै छन्
आखिर सुत्ने, ब्युँझने गर्छ
ब्युँझने पनि त निदाउने गर्छ
क्रम जारी छ धरानमा।
प्रकृतिलाई को मान्दैन
जो धरानलाई जान्दैन
धरान धरानेलाई हँसाउँछ
रुवाउँछ त धरानेलाई नै
हाम्रो धरान अनादिकालदेखि यस्तै छ
अझै कति धरान धरानै रहिरहने छ।
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved