मैले सदैव सम्झिरहने प्रिय पात्र हो– ‘एडविल’। ती सम्राट् बालकृष्ण समको चर्चित नाट्य कृति ‘प्रेमपिण्ड’ का पात्र हुन्। बिपी कोइरालाको उपन्यास ‘सुम्निमा’ को ‘सुम्निमा’ पनि मेरा प्रिय पात्र हुन्।
‘प्रेमपिण्ड’ को एड विल यस्ता पात्र हुन्, जुन अहिले पनि ज्युँदै छन् जस्तो लाग्छ।
अहिले पनि संसारमा कतै न कतै शेक्सपियरको ‘ह्यामलेट’ र ‘म्याकवेथ’ प्रदर्शन भइरहेका हुन्छन्। ती पात्रहरूले अहिले पनि प्रभाव पारिरहेका छन्। एडविलले पनि त्यस्तै प्रभाव पारिरहेको छ। एड विल यस्ता चरित्रका पात्र हुन्, उनको नाम सुन्ने बित्तिकै मनै सिरिङ्ग हुन्छ।
‘प्रेमपिण्ड’ को मूल पात्र हुन्– ‘सविता’। एडविलको दरबारमा एउटी सामान्य गाउँले केटी सविताको प्रवेश हुन्छ। राणाकालमा राजा–महाराजा, जर्नेल, कर्णेलहरूले आफ्नो मनोरञ्जनका निम्ति गाउँ–गाउँबाट केटीहरू ल्याएर नाचगानमा सरिक तुल्याउँथे।
त्यस्ता केटीमध्ये कतिपयलाई उनीहरूले रानी, पत्नी वा रखैल बनाएर राख्थे। सविता चाहिँ गाउँबाट आएकी भर्खरकी केटी। नाच्न र गाउन, दुवै जान्ने। उनमा कलाकारितासम्बन्धी खुबी थियो। कलामा निपूण सवितालाई एडविलले खुबै मन पराउँछन्। सविताले भने दरबारकै अर्का पात्र नकुललाई मन पराउँछे।
एडविलले सवितालाई आकर्षित तुल्याउन खोज्छ, हरेक तरिकाले। सविताको हात समाएर प्रेम दर्शाउन खोज्छन् तर सविताले पुरै अस्वीकार गर्छे। बिस्तारै सविताको प्रेममा पागल हुन्छन्, एड विल। राणाकालीन दरबारमा त्यति ठुलो हैसियत राख्ने जर्नेल एउटी सामान्य केटीको अगाडि पानीपानी हुन्छन्। पछि एडविललाई हिनताबोध हुन्छ।
राणाकालको जर्नेल कस्ता थिए होलान् ? हामी सहजै अनुमान लगाउन सक्छौँ। एकै इसारामा उनका पछि लाग्थे, केटीहरू। त्यस्तो चरित्र। पछि सवितालाई एडविलले रानी बनाउन खोज्छन्, उनलाई सुन, चाँदी र अथाह पैसा दिन्छन्, तर सविताले अस्वीकार गर्छे। नाटकमा एउटा दृश्य छ, जब एडविलले सविताको हात समात्छन्, उनले हात टोकिदिन्छे र भन्छे, ‘म हल्ला गरिदिन्छु।’ तर एडविलले भन्छन्, ‘हैन, म तिमीलाई छोरी बनाएर राख्छु।’
सिने–निर्देशक यादव खरेलले ‘प्रेमपिण्ड’ माथि पछि सिनेमा पनि बनाउनुभयो। नीर शाहले एडविलको भूमिका निर्वाह गर्नुभएको थियो। उहाँको भूमिकालाई कसैले खलनायक भने, कसैले नायक। मलाई यो चरित्र मन पर्नुको कारण के हो भने, यति शक्तिशाली पात्र एउटी सामान्य केटीको कारण निरीह बन्न पुग्छन्। तसर्थ, चरित्र निर्माणको हिसाबले एड विल नेपाली कृतिहरूमा उत्कृष्ट पात्र हो भन्ने मलाई लाग्छ। यदि उक्त चरित्रमा मैले भूमिका निभाउनु प¥यो भने म अहिले पनि लालायित हुन्छु।
एउटा शक्तिशाली पात्रलाई समले जसरी निरीह रुपमा प्रस्तुत गरेका छन्, त्यो निकै अद्भुत छ।
मलाई बिपी कोइराला, इन्द्रबहादुर राई, दौलतविक्रम विष्ट, नयनराज पाण्डे, हरि अधिकारीका सिर्जना र उनीहरूले सिर्जेका पात्रहरू पनि मन पर्छन्।
नयनराज पाण्डेको कथा ‘अन्तिम संकल्प’ ले पनि मलाई असाध्यै छोएको थियो। त्यो कथामा एउटा नेताको चरित्र उजागर गरिएको छ। ती पात्र देशकै शक्तिशाली नेता हुन्छन्। ती नेता मृत्युका मुखमै पुगिसकेका हुन्छन् र संसारभरिका पत्रकारहरू आएर उसलाई सोध्छन्, ‘तपाईँ त मृत्युका नजिक हुनुहुन्छ। तपाईँ आफ्नो उत्तराधिकारी कसलाई बनाउन चाहनु हुन्छ ?’ सुरुमा त ती नेताले कसैको नाम लिँदैनन्। तर प्राण जाने अन्तिम बेला भने ती नेताले जवाफ दिन्छन्, ‘छोरी।’ नेपाली राजनीतिमा झाँगिएको वंशवादमाथि यो कथाले दह्रो कटाक्ष गरेको छ।
दौलतविक्रम विष्टको ‘चपाइएका अनुहार’ को किमरिक भन्ने पात्र पनि मलाई उत्कृष्ट लाग्छ। त्यस्तै, डा. ध्रुवचन्द्र गौतमको उपन्यास ‘अलिखित’ को पात्र ‘इलैया’ पनि मलाई मन परेको पात्र हो। बिपी कोइरालाको उपन्यास ‘तीन घुम्ती’ की इन्द्रमाया पनि मलाई मन परेको अर्को पात्र हो।
चाहे उपन्यास होस्, कथा होस् वा नाटक नै किन नहोस्। लेखकले चरित्रको निर्माण र विकास कसरी गरेका छन् ? म त्यसलाई हेर्छु। कुनै पनि रचनाको तीन चरण हुन्छन्– आदि, मध्य र अन्त्य। एउटा चरित्रलाई लेखकले विकास गर्दाखेरी त्यसमा द्वन्द्व कति छ वा छ कि, छैन ? म त्यो हेर्छु। कुनै उपन्यास सय पेज पढ्दा पनि चरित्र जहाँको त्यहीँ हुन्छन्। ‘तीन घुम्ती’ मा तीन घुम्ती छन् र इन्द्रमायाको जीवनमा तीन वटै घुम्ती आउँछन्। पहिलो, एक जना नेता पिताम्वरसँग विवाह गर्ने निर्णय, दोस्रो चाहिँ रमेशसँग सहवास गर्ने निर्णय र तेस्रो चाहिँ पिताम्वरको ‘कि बच्चा छान्, कि मलाई छान’ भन्ने दबाब। पछि इन्द्रमायाले श्रीमान्लाई नभई बच्चालाई छान्छे। बीपीले चरित्रको विकास यसरी गरेका छन् कि, यसमा उनको लेखकीय शक्ति प्रष्टै देखिन्छ।
पछिल्लो समय मैले जेजति साहित्यिक कृतिहरू अध्ययन गरेँ, पूर्ववर्ती समयका स्रष्टाहरूले टिपेका प्रभावशाली त्यस्ता प्रिय पात्रहरू भेट्टाउनै सकिनँ। अन्तरहृदयसम्मै छुने पात्रहरू मैले फेला पार्न सकिनँ।
हामीलाई थाहा छ, बेलायत सरकारले महान् नाटककार शेक्सपियरलाई आफ्नो राष्ट्रको गौरव ठान्छ। उनीहरू संसारमा कहीँ न कहीँ शेक्सपियरको नाटक प्रदर्शन भइरहोस् भन्ने चाहन्छन्। भारतीयहरूले पनि रवीन्द्रनाथ टैगोरका साहित्य संसारमा कहीँ न कहीँ पढिउन् भन्ने चाहन्छन्। उनीहरूले टैगोरलाई आफ्नो राष्ट्रको गौरव मान्छ। तर हाम्रो देशले गौरव मान्ने त्यस्ता साहित्यकार को हुन् त ? हामीले पनि सम, देवकोटालाई किन त्यो तहमा नराख्ने ? भन्ने प्रश्न उठ्छ कहिलेकाहीँ। जसरी बेलायतले शेक्सपियरलाई गौरव मान्दै आएको छ, हामीले समलाई किन गौरव नमान्ने ? जसरी भारतले टैगोरलाई गौरव मान्छ, हामीले देवकोटालाई किन गौरव नमान्ने ?
नयाँ पुस्ताका कवि साहित्यकारहरूले पूर्ववर्ती पुस्ताका स्रष्टाहरूलाई बिर्सिसके। अग्रज पुस्ताको लेखनबारे अल्प ज्ञान मात्रै छ, नयाँ पुस्तासँग। मलाई लाग्छ, नयाँ पुस्ताका लेखकहरूले अग्रजहरूका कृति नपढिकन आफ्नो सिर्जना गर्छन् भने उनीहरूको त्यो लेखन अधुरो हुन्छ, अपुरो हुन्छ।
मेरा सिफारिसका तीन कृति
१. सुम्निमा– बिपी कोइराला
२. चपाइएका अनुहार– दौलतविक्रम विष्ट
३. अलिखित– डा. ध्रुवचन्द्र गौतम
Facebook Comment
Comment