काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) पार्टीको रूपमा नरहेको टिप्पणी गरेका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले एमाले पार्टी नभएर पाटीपौवामा परिणत भइसकेको दाबी गरे। बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमालेको क्रान्तिकारी नै भुत्तै भएकाले आफूहरूले क्रान्तिकारी धारको नेतृत्वसहित नयाँ पार्टी गठन गरेको तर्कसमेत गरे।
अध्यक्ष नेपालले एमालेमा केही गरौं भन्ने भावनासमेत नरहेको बताए। भने, “त्यो पुरानो एमाले पार्टीमा क्रान्तिकारी धार नै रहेन। धार भुत्तै भयो। भए पनि काम नलाग्ने, त्यो त्यत्तिकै फलामको डल्लो हुन पुग्दछ। धारै छैन। क्रान्तिकारी चिन्तननै छैन। परिवर्तनको संकल्प नै छैन। निःश्वार्थ भावना पनि छैन। केही गरौं भन्ने पवित्र सोच नै छैन। क्रान्तिकारी भावना छैन भने, समर्पणको भावना छैन भने, त्यो पार्टी पार्टी रहँदैन। त्यो पाटीपौवा हुन पुग्दछ। त्यो पाटीपौवाको केही काम छैन।”
अध्यक्ष नेपालले जनतालाई सुःखी बनाउने र मुलुकलाई समृद्ध बनाउने संकल्पका साथ आफ्नो पार्टी अघि बढिरहेको दोहोर्याए। जनताको पीडालाई सम्बोधन गरेर आफ्नो पार्टी अघि बढ्ने भन्दै टोलटोलमा गएर पार्टीको संगठन निर्माणमा जुट्न पनि नेता-कार्यकर्तालाई उनले निर्देशन दिए।
Facebook Comment
Comment