काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले नियुक्त गरेका नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुगेका छन्। यसअघि पनि नेपाली राष्ट्रिय क्रिकेट टिम सम्हालिसकेका उनी आज नेपाल आएका हुन्।
विमानस्थलमा पुबुदुलाई क्यानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरे। क्यानको २५ मंसीरको बोर्ड बैठकले मुख्य प्रशिक्षकको रुपमा पुबुदुलाई अनुमोदन गरेपछि पुबुदुले पुनः नेपाल टोली सम्हाल्ने जिम्मेवारी पाएका हुन्।
मंगलबार विमानस्थल ओर्लिएपछि सञ्चारकर्मीसँग पुबुदुुले पुनः नेपाली टोलीको जिम्मेवारी पाएकोमा खुशी व्यक्त गरे। साथै नेपालको चुनौती सामना गर्न आफू तयार भएको पनि बताए। पहिले नेपाली टोली सम्हाल्दा र अहिले टोली सम्हाल्दा फरक भएको भन्दै उनले नेपाली क्रिकेट नयाँ उचाइमा पुर्याउने जिम्मेवार थपिएको बताए।
प्रशिक्षक पुबुदुले हाल नेपाली टोलीमा खेलाडी र क्यानबीचको समस्या संसारका सबैजसो देशमा हुने गरेको र नेपालको समस्या समान्य भएको भन्दै बन्द कोठाभित्र रहेर छलफल गरेको खण्डमा समाधान हुने विश्वास व्यक्त गरे। प्रशिक्षक पुबुदुले क्रिकेट अगाडि बढाउन खेलाडी र क्यानले सहयोग गर्ने विश्वास व्यक्त गरे।
उनले यसअघि सन् २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालिसेका छन्। उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन २०१४ मा आईसीसी ट्वान्टी-२० विश्वकप खेलेको थियो। सोही हिसाबाले दासानायकेलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षको रुपमा लिइन्छ।
पूर्वमुख्य प्रशिक्षक डेब ह्वाटमोरले ओमान भ्रमणको क्रममा उतैबाट राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षकविहीन रहेको थियो। त्यसपछि क्यानले खुला प्रतिस्पर्धाबाट पुबुदुलाई प्रशिक्षकको रुपमा नियुक्त गरेको हो।
Facebook Comment
Comment