एजेन्सी। सोमालियाका राष्ट्रपति मोहम्मद अब्दुल्लाई मोहम्मदले प्रधानमन्त्री हुसैन रोब्लेलाई बर्खास्त गरेका छन्। संसदीय निर्वाचनको विषयलाई लिएर यसअघि प्रधानमन्त्री र राष्ट्रपतिबीच विवाद देखिएको थियो।
‘राष्ट्रपतिले प्रधानमन्त्रीलाई निलम्बन गरेर उनको शक्ति बन्द गरिदिनुभएको छ। उनी भ्रस्टाचारमा मुछिएका थिए,’ सोमबार राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यता, प्रधानमन्त्री रोब्लेको कार्यालयले यस विज्ञप्तिलाई लज्जास्पद भनेको छ। ट्वीटमार्फत प्रधानमन्त्रीका तर्फबाट जारी गरिएको विज्ञप्तिमा सैनिक ताकतमार्फत प्रधानमन्त्री कार्यालय कब्जा गरिनु कानूनविपरीत रहेको उल्लेख छ।
अर्को एउटा छुट्टै बयानमा रोब्लेले निर्वाचन गर्न र शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न आफु तयार रहेको बताएका छन्।
सहायक सुचना मन्त्री अब्दिरमन युसुफ ओमर अदालाले राष्ट्रपतिको कदमलाई अप्रत्यक्ष कु भनेका छन्।
प्रधानमन्त्री रोब्लेमाथि संसदीय निर्वाचन रोक्न आरोप लगेको भोलिपल्टै राष्ट्रपतिले उनलाई बर्खास्त गरेका हुन्। धेरै ढिलागरी १ नोभेम्बरमा शुरु भएको निर्वाचन २४ डिसेम्बरमा सकिने अपेक्षा गरिएको थियो।
तर अहिलेसम्म २ सय ७५ जनामध्ये २४ जनामात्रै सांसद्हरु चुनिएको एक नवनिर्वाचित सांसद्ले जानकारी दिएका छन्।
आइतबार राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै मतदान प्रक्रियामा प्रधानमन्त्री रोब्लेले गम्भीर चुनौती खडा गरेको र आफुलाई प्राप्त म्यान्डेटलाई नाघ्न खोजेको आरोप लगाएका थिए।
आइतबारै रोब्लेको कार्यलयले पनि विज्ञप्ति जारी गरेको थियो। निर्वाचन प्रक्रियामा राष्ट्रपतिले हस्तक्षेप गर्न खोजेको रोब्लेको प्रत्यारोप थियो।
Facebook Comment
Comment