काठमाडौं। आइतबारदेखि सुरु हुने नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको सबै तयारी पूरा भइसकेको छ।माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय आज बसेको स्थायी समितिको बैठकले गरिसकेको छ।
तर, आइतबार बिहान बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गरेपछि मात्र यो निर्णयले औपचारिकता पाउने प्रवक्ता कृष्णबहादुर महराले बताएका छन्। प्रज्ञा प्रतिष्ठानमा आइतबार दिउँसो १ बजे पार्टी अध्यक्ष प्रचण्डले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ।
माओवादीले पहिलोपटक पार्टीभित्र संविधान अनुकूल सबै वर्ग तथा क्षेत्रको प्रतिनिधित्व हुनेगरी केन्द्रीय समिति निर्माण गर्ने भएको छ।
शनिबार आयोजना गरिएको पत्रकार भेटघाटमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार, नीति र कार्यक्रमका हिसाबले पार्टीलाई थप परिस्कृत बनाउने र आफ्नै बुतामा स्थापित भएको परिवर्तनको एजेण्डालाई नयाँ आधारमा स्थापित गर्दै अगाडि बढ्ने सङ्कल्प सम्मेलनबाट गर्ने बताए।
१ बजे उद्घाटन
नेपालको संविधानमा नै उल्लेख गरिएको समाजवाद उन्मुख भन्ने प्रावधानलाई समेट्ने गरी नयाँ वैचारिक राजनीतिक कार्यदिशा र योजना समेत तय गर्ने माओवादीले स्पष्ट पारेको छ।
माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार आइतबार दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नेछन्।
प्रज्ञा भवन परिसरमा डिस्प्लेमार्फत उद्घाटन सत्र प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ। राष्ट्रिय सम्मेलनमा सहभागी हुनका लागि देशभरका सातवटै प्रदेश र तीनवटा गैरभौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षण काठमाडौँमा आइसकेका छन्। माओवादीले सहभागीलाई खाने बस्ने प्रबन्ध आफैं गर्न भनेको छ।
तीन दिनसम्म चल्ने सम्मेलनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका दस्तावेज पेश गर्नेछन्। ती प्रतिवेदनमाथि विभिन्न २० वटा समूह बनाएर छलफल गर्ने कार्यक्रम तयार भएको छ।
त्यसमा आवश्यकताअनुसार केही परिवर्तन पनि हुन सक्नेछ। माओवादीले प्रज्ञा प्रतिष्ठानका सबै हल र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सामूहिक छलफलको व्यवस्था मिलाएको छ।
उद्घाटनसत्र सकिएलगत्तै राजनीतिक प्रतिवेदन, विधानमाथि छलफल सुरु हुनेछ। त्यस्तै, नेतृत्व चयनको कार्यक्रमसमेत रहेको छ। तर नेतृत्व छनोट कसरी गर्ने भन्ने विषयमा स्पष्ट केही खुलाइएको छैन।
सम्मेलनमा कूल एक हजार ६३१ को प्रतिनिधित्व हुनेछ। नियमित प्रक्रियाबाट छानिएका एक हजार ४८३ र मनोनित १४८ गरी कूल एक हजार ६३१ को सहभागिता रहने माओवादीको भनाइ छ।
माओवादीले यसभन्दा अगाडि पाँच प्रतिशत प्रतिनिधि मात्रै मनोनयन गर्ने बताएको थियो। त्यसलाई शुक्रबारको बैठकले १० प्रतिशत बनाएको छ। राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि मनोनयन गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई शुक्रबारको बैठकले नै दिएको हो।
यसरी हुन्छ सहभागिता
माओवादी केन्द्रीय कार्यालयका अनुसार आयोजक समितिबाट १७९ सहभागी हुनेछन् । त्यस्तै सल्लाहकारबाट १४९, ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ जना राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन्।
त्यस्तै प्रदेश–१ बाट ९६, प्रदेश–२ बाट १०६, बागमती प्रदेशबाट १२८, गण्डकी प्रदेशबाट ७४, लुम्बिनी प्रदेशबाट १०५, कर्णाली प्रदेशबाट ८७, सुदूरपश्चिम प्रदेशबाट ८४, प्रवास प्रदेशबाट ३४, विशेष प्रदेशबाट ४२ र सम्पर्क समन्वय प्रदेशबाट ८३ जना सहभागी हुने व्यवस्था गरिएको छ।
माओवादीले पहिलोपटक संवैधानिक व्यवस्थाअनुसार नै केन्द्रीय समितिमा महिला, दलित, जनजाति, आदिवासी समुदायलाई विशेष भूमिकासहित जिम्मेवारी दिने भएको छ।
महिलालाई अनिवार्यरूपमा ३५ प्रतिशत बराबरको हिस्सा छुट्याइएको छ। माओवादीले गत मङ्सिर ४ गतेदेखि नै पार्टीको वडा सम्मेलन गरेको थियो। त्यसका लागि पार्टीको तर्फबाट विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा निर्वाचन आयोग बनाइएको थियो।
आयोगका प्रतिनिधिसहितको उपस्थितिमा माओवादीले ११ मङ्सिरमा देशभरका पालिकामा सम्मेलन आयोजना गरेको थियो। त्यसयता, प्रदेश २ का केही पालिकाबाहेक झण्डै ९८ प्रतिशत पालिकामा नयाँ नेतृत्व चयन भयो। त्यसपछि, २५ मङ्सिरमा प्रदेश सम्मेलन आयोजना भयो। र, बागमती तथा प्रदेश–१ मा निर्वाचन प्रक्रियाबाटै नयाँ नेतृत्व चयन भएको छ।
शुक्रबारको स्थायी समितिको बैठकले पार्टीको पदाधिकारी १५ सदस्यीय बनाउने प्रस्ताव गरेको छ । माओवादीको यस पटक निर्वाचन प्रक्रियाका माध्यमबाट नेतृत्व चयन गर्ने बताएको छ। यद्यपि माओवादीका नेताका अनुसार अध्यक्ष प्रचण्डको विकल्पमा कुनै पनि नेताले दाबी पेश गरिसकेको अवस्था छैन।
पार्टीका महासचिवमा भने औपचारिक, अनौपचारिकरूपमा नेताले दाबी गरिरहेका छन् । सङ्गठन विभाग प्रमुख रहेका जनार्दन शर्मा, केन्द्रीय कार्यालयका इञ्चार्जसमेत रहेका वर्षमान पुन, देवेन्द्र पौडेल, पम्फा भुषाललगायत नेताहरुले महासचिवमा दाबी गरेका छन्।
Facebook Comment
Comment