काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको समुह विजेताका रुपमा प्रदेश नं १ सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार धनगढीमा भएको खेलमा लुम्बनी प्रदेशलाई ६७ रनले पराजित गर्दै प्रदेश १ समूह विजेता बनेको हो। उसले समुह चरणमा खेलेका तीनवटै खेल जितेर स्पष्ट ६ अंक हासिल गर्यो।
समूहको अन्तिम खेलमा पहिले ब्याटिङ गरेको प्रदेश १ ले अब्सरी बेगमले अविजित ४४ रनको सहयोगमा २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन जोडेको थियो। जवाफमा पुरै २० ओभर खेलेपनि लुम्बिनीले ९ विकेट गुमाएर केवल ४७ रनमात्र बनाउनसक्यो।
प्रदेश १ बाट म्यान अफ दि म्याच कप्तान रुबिना क्षेत्रीले तीन विकेट लिइन्। हारका बाबजुद यसअघि दुई खेल जितेको लुम्बनीले पनि समुह उपबिजेताको रुपमा अन्तिम चारमा ठाउँ पक्का गरेको छ।
यसै समुहको अर्को खेलमा बाग्मती प्रदेशले कर्णाली प्रदेशलाई ७९ रनले पराजित गर्दै सान्त्वना जित हात पारेको छ। शुरुवातका दुबै खेल गुमाएपछि यी दुबै टोली अन्तिम खेल खेल्नुअघि नै प्रतियोगिताको समूह चरणबाट बाहिरिएका थिए।
Facebook Comment
Comment