देउवाको उतार-चढाव : १० वर्ष जेल जीवन, पाँचपटक प्रधानमन्‍‍‍‍त्री

देउवाको उतार-चढाव : १० वर्ष जेल जीवन, पाँचपटक प्रधानमन्‍‍‍‍त्री
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा ६ दशकदेखि निरन्तर सक्रिय छन्। प्रजातान्त्रिक आन्दोलनका क्रममा उनले पटकपटक गरी १० वर्ष कारागार जीवन बिताएका छन्।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी डा शेखर कोइरालालाई हराएर उनी सभापितमा पुन: निर्वाचित भएका छन्। मतदानमा निर्वाचनमा सभापति पदका पहिलो चरणका अन्य प्रत्यासी नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको समर्थनसहित देउवा विजयी भएका हुन्।

यही मङ्सिर २४ गते महाधिवेशन उद्घाटन समारोहमा उनले आफूलाई पार्टी विधानअनुसार अन्तिम पटकका लागि सभापतिमा विजयी गराउन आह्वान गरेका थिए।

प्रधानमन्त्री देउवाले आफू पुनः सभापतिमा विजयी भएपछि आगामी तीनै तहका निर्वाचनमा पार्टीलाई विजयी गराउने उद्घोष गरेका थिए।

देउवाको जन्म ३१ जेठ, २००३ मा डडेल्धुराको आसिग्राम–५ रुवाखोलामा थियो। कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको प्रेरणाबाट उनी राजनीतिमा होमिएका थिए।

अहिले उनी बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बस्छन्। विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय उनी विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका हुन्।

प्राथमिक शिक्षा गृह जिल्ला, माध्यमिक शिक्षा डोटी र उच्च शिक्षा काठमाडौंमा हासिल गरेका देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन्। नेपाल विद्यार्थी सङ्घका प्रथम निर्वाचित सभापति एवं संस्थापक सदस्य देउवा राजनीतिशास्त्रमा लण्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो समेत हुन्।

प्रजातन्त्र प्राप्तियता भएका हरेक निर्वाचनमा उनी विजयी हुँदै आएका छन्। विसं २०४८, २०५१, २०५६ र २०७४ का संसदीय निर्वाचनमा उनी डडेल्धुराबाट निर्वाचित निर्वाचित भएका थिए। २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए।

विसं २०४८ मा गृहमन्त्री बनेका देउवाले हालसम्म अहिले पाँचौपटक प्रधानमन्‍त्रीको जिम्मेवारी सम्हालिरहेका छन्।

पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भएका देउवा २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ गतेसम्म दोस्रोपटक प्रधानमन्त्री थिए।

सोही वर्ष १८ असोजमा उनलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले पदबाट बर्खास्त गरेका थिए।

राजा ज्ञानेन्द्रले ०६१ साल जेठ २१ गते फेरि देउवालाई प्रधानमन्‍त्री नियुक्त गरे। तर, १९ माघ ०६१ मा बर्खास्त गरे।

प्रधानमन्त्री हुँदा देउवाले पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेशलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेस (कदमजम) को अवधारणा ल्याएका थिए।

देउवाकै कार्यकालमा विशेष वर्ग एवं समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोग गठन भएका हुन्।

पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा कांग्रेस विभाजन गरेर उनले आफ्नै नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए। ०६४ मा कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक) को एकतापछि उनी कांग्रेसको वरिष्ठ नेता बने।

त्यसपछि,०७२ फागुन २४ मा सम्पन्न कांग्रेसको १३औँ महाधिवेशनमा उनी तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित भए।

सभापति एवं पार्टी संसदीय दलका नेता देउवाले व्यवस्थापिका–संसद्को बैठकबाट २०७४ साल जेठ २३ गते चौथो पटक प्रधानमन्त्रीका रुपमा सपथ लिएका थिए, उनले उक्त कार्यकालमा सङ्घीय संरचनाका तीनै तहको निर्वाचन गराए।

सभापति देउवा २०७८ साल असार २९ गते पाचौँ पटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका हुन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनका सम्बन्धमा परेका विभिन्न निवेदनमाथि सुनुवाइ गर्दै असार २८ गते पुनःस्थापनाको फैसलाका साथ उनलाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेको थियो।

सन् २००८ देखि २०१२ सम्म सोसलिष्ट इन्टरनेसनलका उपाध्यक्ष रहेका देउवा सन् २०१३ देखि उक्त संगठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष छन्। (रासस)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved